सूचनाको शक्ति - The Power Of Information

        

घरमै बच्चा जन्माउँछन् सिंजाका महिला

आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षाका लागि अनिवार्य स्वास्थ्य संस्था वा प्रसुती गृहमै गर्भवती महिला सुत्केरी हुनुपर्ने सरकारको नीति रहेको छ ।

स्वास्थ्य संस्थामै सुत्केरी गर्नका लागि प्रोत्साहन गर्न सरकारले प्रोत्साहन भत्ताको व्यवस्थापन पनि गरेको छ । तर स्वास्थ्य संस्थामा सुत्केरी हुने गर्भवती महिलालाई ल्याउनका लागि सडक र एम्बुलेन्सको पहुँच नहुँदा सिंजा गाउँपालिका वडा नम्बर ५ र ६ नम्बर वडाका महिला घरमै सुत्केरी हुने गरेका छन् ।

यी दुई वडा सिंजाका दुर्गम स्थानमा पर्दछ । सिंजामा दुई वडामा कच्ची सडकका ट्रयाक खोलिएका भएपनि सवारी साधान आवतजावत गर्न मिल्ने सडकको स्तरोन्नति नभएको स्थानीय धनकली बुढा बताउँछन् । उनले भने यहाँका नागरिक विरामी पर्दा र गर्भवती महिलाले निकै दुःख खेप्ने गरेका छन् ।

शनिगाउँ स्वास्थ्य चौकीका इन्चार्ज रमेश रावलका अनुसार गएको आर्थिक ०७८–०७९ मा ५ र ६ वडाका २६ जना गर्भवती महिला घरमै सुत्केरी भएको तथ्यांक सार्वजनिक भएको छ । रावलका अनुसार शनिगाउँ स्वास्थ्य चौकीको प्रसुती गृहमा ६८ जना र ६ नम्बर वडास्थित दाँत प्रसुती गृहमा २४ जना गर्भवती महिला सुरक्षित सुत्केरी भएका छन् ।

११ जना २० वर्षमुनिका सुत्केरी भएको देखिन्छ । सरकारले स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी गराउनका, शिशुको मृत्युदर घटाउन प्रोत्साहन भत्ता उपलब्ध गराउने व्यवस्था गरेको छ । यस्तो सुविधा उपभोग गर्नका लागि पनि गर्भवती महिला सुत्केरी हुनका लागि स्वास्थ्य संस्थामा आउन प्रेरित छन् ।

तर भिरालो ठाडो भुगोल भएका कारण आवतजावतमा समस्याले घरमै सुत्केरी हुने गरेका छन् । गएको आर्थिक वर्षमा यी दुई वडाका ९२ जना सुत्केरी महिलाले प्रोत्साहन भत्ता पाएका छन् । तीन हजार प्रोत्साहन भत्ता, दुई हजार पोषण भत्ता र प्रोटोकल अनुसार ४ पटक गर्भ चेकजाँच गरेबापत ८०० रुपैयाँ प्रत्येक सुत्केरी महिलाले प्राप्त गरेको इन्चार्ज रावलले बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार ११:२९