सूचनाको शक्ति - The Power Of Information

        

पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई हरायाे

पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई हराएको छ । चेस्टर ली स्ट्रीटमा गएराति भएको खेलमा दक्षिण अफ्रिका ६२ रनले विजयी भएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ३३ रन बनाएको थियो । जितका लागि ३ सय ३४ रनको लक्ष्य पाएको घरेलु टोली इंग्ल्याण्ड ४६ ओभर ५ बलमा २ सय ७२ रनमा अलआउट भयो । उसका जोय रुटले सर्वाधिक ८६ रन बनाए ।

इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले यो खेलसँगै एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उनले यो खेलमा जम्मा ५ रन बनाए ।

यसअघि दक्षिण अफ्रिकाका रास्सी भन डर डुसेनले १ सय ३३ रनको शतकीय पारी खेलेपछि दक्षिण अफ्रिकाले ३ सय ३३ रन बनाएको थियो । उनको यो एकदिवसीय क्रिकेटमा तेस्रो र अन्तर्राष्ट्रिय स्तरमा उच्च प्रदर्शन हो ।

इंग्ल्यान्डका लियम लिभिङस्टोनले सर्वाधिक दुई विकेट लिए । साम करन, बायडन कार्स र मोईन अलीले एक/एक विकेट लिए । जितसँगै तीन खेलको एकदिवसीय श्रृंखलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ ।

दोस्रो एकदिवसीय शुक्रबार र तेस्रो एकदिवसीय खेल आइतबार हुनेछ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार ०७:२७