सूचनाको शक्ति - The Power Of Information

        

रारा क्षेत्रमा मानवीय अतिक्रमण : लोप हुँदै रैथाने वनस्पति र जीवजन्तु

चारैतिर जंगल, मनोरम दृश्यले सधैँ झकिझकाउ । मनोरम दृश्यबीच डुबुल्की मार्दै बसेकी रारा पर्यटकका लागि सधै तैनाथ । रारालाई अझै मनोरम बनाउन यहाँ च्याउसरी उम्रिएका पुष्प अर्थात फूलको भूमिका पनि कम छैन ।

रारालाई सुन्दर बनाउने यी फूल पछिल्लो समय मुस्किलले देखिने गरेका छन् । केही वर्षसम्म सहजै देखिने कलिला मुना जस्तै फुलहरू पछिल्लो समय बिस्तारैबिस्तारै देखिन छाडेका छन् । यसरी फूलहरू हराउँदा राराको सौन्दर्य नै खस्किने पो हो की भनेर पर्यटकहरूले चिन्ता जताउन थालेका छन् ।

विभिन्न रंगीबिरंगी फूलले फूलबारीजस्तै बन्ने रारा परिसर दोस्रो तेस्रो पटक रारा पुग्नेहरूले अचेल केही कमी भएको अनुभव गर्न थालेका छन् । रारा राष्ट्रिय निकुञ्ज अन्तर्गत राराताल वरिपरी फुल्ने २५ प्रकारका फूल, १२ प्रजातिका चरा र १६ प्रजातिका वन्यजन्तु लोप हुँदै गएका छन् ।

निकुञ्जले पाँच वर्षअघि गरेको अध्ययन अनुसार रारा ताल आसपासमा १६५ किसिमका वन्यजन्तु, ३०२ प्रजातिका चरा र १६३ प्रजातिका फूल पाइन्थे । तर अहिले रातो र सेतो गुराँस, भदुरी, चमौली, बुकी, डोइली, म्याकुरो, कटुकी, अत्तिस लगायत फूल देखिँदैनन् ।

यस्तै, च्याखुरा, तित्रा, कालिज, ढुकुर, कोइली लगायत चरा र घोरल, झारल, बदेँल, चितुवा, भालु, मृग, रतुवा लगायत वन्यजन्तुहरू देखिनै छाडेका छन् । निकुञ्ज क्षेत्रका कार्कीबाडा, तलितुम, माथितुम, पिना, झ्यारी, मुर्मा, भामबाडा लगायत बस्तीका करिब तीन हजार पशुचौपाया जथाभाबी छोड्दा फुलहरू लोप भएको हुनसक्ने पर्यटकहरूको अनुमान छ ।

अव्यवस्थित चरिचरन र मानवीय क्रियाकलापले फुलहरू नष्ट भइरहेको जानकारहरू बताउँछन् । फूलहरू मासिँदै गएपछि राराताल आसपासको क्षेत्र उजाड देखिन थालेको छ । पछिल्लो समय मानवीय क्रियाकलाप पनि बढ्दै गएको, पशु चौपाया, गाई, भँैसी, घोडा लगायतले वनस्पतिमा ठूलो असर पारिरहेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत बद्रिविनोद दाहालले बताए ।

रारामा पर्यटक बोक्ने घोडाहरूले गर्दा पनि जैविक विविधतामा ठूलो असर परिरहेको छ । गतवर्ष निकुञ्जमा ५० हेक्टर क्षेत्रमा आगलागी भएको थियो भने यो वर्ष दुई हेक्टरमा आगलागी भएको सल्लेरी पोष्टका कमल बुढाले बताए ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलवार १६:११