सूचनाको शक्ति - The Power Of Information

        

समाचार

असारे भाग खोज्दै पहुँचवाला सचिव ‘अर्जुनप्रसाद’

इतिहासमै पहिलो पटक पोखरेलकै लागि प्रधानमन्त्री कार्यालयमा अतिरिक्त दरबन्दी खडा गरी ल्याइएको थियो । अहिलेसम्म त्यो नजिर कायमै छ ।

उद्योगमा बसेर रजगज गरेका सचिव अर्जुनप्रसाद पोखरेल कमाउ मन्त्रालय ताकेर बसेका छन् । पोखरेलले पर्यटन मन्त्रालय ताकेको स्रोतले बताएको छ । लेखराज भट्ट उद्योग मन्त्री हुँदा उद्योगमा प्रवेश गरेका पोखरेलले जागिरको अहिलेम्मको अवधिमा मालदार ठाउँबाहेक अन्यत्र जानुपरेको छैन ।

नेपालजस्तो अस्थिर प्रशासनतन्त्र भएको देशमा शासन सत्तामा पुग्नेहरु जहिले पनि पोखरेलका लागि दाहिना नै भएका छन् । पूर्वी नवलपरासी जिल्लाको प्रमुख जिल्ला प्रशासन कम आकर्षक कार्यालय मानिदैन । पोखरेल लामो समय त्यहाँको सीडीओ हुँदा राम्रै आयआर्जन देख्नेहरु अहिले पनि नवलपरासीमा थुप्रै भेटिन्छन् ।

नवलपरासीबाट सुपारी, केराउ, मरिच लगायतका कानुन बिपरीतका सामान नेपालबाट भारततर्फ तस्करीलाई संस्थागत गर्न पोखरेलले राम्रै भूमिका खेलेका थिए । पूर्वमन्त्री हृदयेश त्रिपाठी र पोखरेलको घर पनि एकै ठाउँमा हो । त्यसकारणले पनि त्रिपाठी र पोखरेलको घनिष्ट सम्बन्ध रहिआएको छ । यतिसम्म कि त्रिपाठीले पोखरेललाई ‘तिमी’ भनेर सम्बोधन गर्दछन् । उनलाई सीडीओ बनाउनुमा त्रिपाठीकै देन छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारका गृहमन्त्री रामबहादुर थापा बादललाई त्रिपाठीले भनसुन गरी पोखरेललाई गृहजिल्लामा लगेका थिए । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेललाई समेत प्रधानमन्त्री ओलीलाई भनसुन गरिदिन त्रिपाठीले आग्रह गरेको सुन्नेहरु अझै पनि छन् । यही कारणले पनि पोखरेलले नवलपरासीमा एकछत्र आयआर्जनमा लिप्त हुने मौका पाए । गृह जिल्लाबासी भएकै कारण कांग्रेस सांसद देवेन्द्रराज कँडेलको पनि उनलाई सदभाव रहने नै भयो ।

परासीबाट उनको सरुवा झन् आकर्षक रुपन्देहीको सीडीओको रुपमा भयो । त्यहाँ पुग्नुमा मुख्यमन्त्री शंकर पोखरेलको भूमिका रहेको थियो । रुपन्देही प्रदेशको मुकाम समेत रहेको हुँदा उनको फूर्तिफार्ती कम हुने कुरै भएन । एक से एक नेताहरुसँग सम्बन्ध बिस्तार गर्न उनी सफल भए । त्यहाँ रहँदा पोखरेल एमाले निकट भनेर चिनिने गरेका थिए, उनका गतिबिधि पनि एमालेलाई लाभ पुग्ने खालकै देखिन्थे ।

यदाकदा रुपन्देहीका समानुपातिक सांसद एवं हालका गृहमन्त्री बालकृष्ण खाँणले अह्राएको बाहेक कांग्रेसका अन्य नेताहरुलाई उनले भाउ दिँदैन्थे । रुपन्देहीमा रहँदा नै आफ्ना हितैषी हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भए । त्रिपाठी मन्त्री भएपछि उनको हौसला बुलन्द हुने नै भयो । काठमाडौमा आउँदा सिंहदरबारमा कसैले भेट्दा उनी मन्त्रीले बोलाएर आएको भन्दै फुर्ति लगाउन पछि पर्दैनथे ।

कतिसम्म भने सामान्यको कर्मचारी प्रशासन महाशाखाको प्रमुखमा पोखरेलको आगमन सुनिश्चित हो भन्नेसम्मको चर्चा खुबै चलेको थियो, उनले पनि हो नि त भन्न समेत भ्याएका थिए । तर, चतुर मन्त्री त्रिपाठीले पोखरेललाई चक्मा दिएर सहसचिवद्वयराजीव पोखरेल र बसन्त अधिकारीलाई भित्र्याए । अधिकारी त्रिपाठीकै गृहजिल्ला विभाजित नहुँदै त्यसबेलाको शक्तिशाली जिविसका एलडीओ हुँदा नै घनिष्ट सम्बन्ध भएको थियो ।

केही समयलगत्तै पोखरेलको सचिवमा बढुवा भयो । त्यसबेला पनि हृदयेशसँगको सुसम्बन्धका कारण सामान्यमै उनको पदस्थापन हुने चर्चा नचलेको होइन । तर बरिष्ठ सचिव कार्यरत भएकाले उनको मधेश प्रदेशमा पदस्थापन भयो । तर चतुर पोखरेल मधेश प्रदेशमा केही समयमात्र कार्यरत रहे । इतिहासमै पहिलो पटक पोखरेलकै लागि प्रधानमन्त्री कार्यालयमा अतिरिक्त दरबन्दी खडा गरी ल्याइएको थियो । अहिलेसम्म त्यो नजिर कायमै छ ।

पोखरेललाई काठमाडौंमा भित्र्याउन त्रिपाठीको जोडबलमा खडा गरिएको खराब नजिर विद्यमान रहँदा प्रशासनिक संयन्त्र ध्वस्त हुन पुगेको छ । मन्त्री र बिचौलियाले भनेअनुसार गलत काम गर्न नमान्दा बिशिष्ट श्रेणीलाई प्रधानमन्त्री कार्यालयको अतिरिक्तमा थन्क्याउने प्रचलनलाई संस्थागत गरिएको छ । हुँदाहुँदा आवश्यकै नभए पनि प्रधानमन्त्री कार्यालयमा प्राविधिक सचिवलाई समेत थन्क्याउन नै दरबन्दी खडा गरिएको छ ।

उमेश मैनाली लोकसेवा आयोगको अध्यक्ष भएका कारण मन्त्री त्रिपाठीले उनलाई विश्वस्त गराएर पोखरेलको सरुवा लोकसेवा आयोगमा गराउन सफल भए । आयोगमा रहेको केही समयमै उद्योग सचिव यामकुमारी खतिवडालाई महिला मन्त्रालयमा पठाएर पोखरेललाई लगियो । त्यसयता उनले कमजोर मन्त्रालयमा चियाउनुपरेको छैन । जबकि लक्ष्मण अर्याल स्वास्थ्यबाहेक अरु मन्त्रालय नै टेक्न नपाई अवकाश हुन लागिसकेका छन् ।

क्रान्तिकारी सचिव मधुसुदन बुर्लाकोटीले मन्त्रालय पाउने छाँटकाँट नै छैन । अर्थमन्त्रालयको पृष्ठभूमि भएका, तुलनात्मक रुपमा क्षमतावान र कांग्रेस निकट भनेर चिनिएका केवल भण्डारी शेरबहादुर देउवाको शासनमा कामै नभएको योजना आयोगबाट बिदा हुनुपर्ने अवस्था छ । माओवादी पृष्ठभूमिका सचिव भएकै कारण सुदूरपश्चिमको प्रमुख सचिवबाट उपराष्ट्रपति कार्यालयमा खेदिएका रामकृष्ण सुवेदीले पार्टीकै अर्थमन्त्री जनार्दन शर्मा हुँदा पनि सिंहदरबार टेक्न पाएका छैनन् ।

लैनचौरबाटै सिहदरबारका गतिबिधि टुलुटुलु हेर्न बिबश छन् । यस्तै पक्षपात र विभेदपूर्ण नीतिलाई चरितार्थ गर्ने नेपाली उखान छ–कसैलाई खातैखात, कसैको पुर्पुरोमा हात । सचिव पोखरेलले प्रथम श्रेणीमा उक्लिएपछि कहिल्यै पछाडि फर्कनुपरेको छैन । सबै पार्टीलाई रिझाउन सफल पोखरेलले अहिले उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडुसँग ठाकठुक परेपछि पर्यटनतिर नजर लगाएका छन् । पर्यटन सचिव महेश्वर न्यौपाने साउन १२ गते अवकाश हुने भएकाले पोखरेलले उक्त मन्त्रालय ताकेका हुन् ।

पर्यटनमा जानका लागि नेकपा समाजवादीका अर्थ विभाग प्रमुख सोमप्रसाद पाण्डेमार्फत् लाइन मिलाइसकेका छन् । साउन १२ पछि पर्यटनमा जान खुट्टा उचालेका सचिव पोखरेलले अहिले कम्पनी रजिष्टार कार्यालय, उद्योग विभाग, बाणिज्य बिभाग लगायतका निकायहरुका निकटस्थ अधिकारीमार्फत् ‘असारे भाग खोई’ भन्दै फोन गर्दै बोलाउन थालेका छन् । उद्योगमा रहँदा मन्त्री नभएको मौका छोपी मन्त्रीकै कार्यकक्ष हडपेको आरोप लागेका पोखरेल पर्यटन मन्त्रालयमा गए भने के के हडप्ने हुन् त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलवार ११:४७