आइतवारदेखि लुम्बिनी प्रदेशअन्तर्गत रहेको दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ओपीडी र इमरजेन्सी टिकट तथा बेड निःशुल्क भएको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७९–८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीलाई ओपीडी र इमरजेन्सीको टिकट तथा बेडमा शुल्क नलिने घोषणा गरेको थियो ।
यो घोषणा आइतवारदेखि कार्यान्वयनमा आउन लागेको स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले जानकारी दिए ।
ओपीडी र बेड निःशुल्क गर्न बजेटमा १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । यसैगरी आइतवारदेखि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीका लागि रगत पनि निःशुल्क हुने भएको छ । रगत निःशुल्क गर्न लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसञ्चार सेवा केन्द्रबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सरकारले बजेटमा निस्शुल्क रगतका लागि ३ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
सत्यपाटी । बाँके ।