सूचनाको शक्ति - The Power Of Information

        

भोलिदेखि लुम्बिनी प्रदेशमा रगत सम्बन्धी सम्पूर्ण सेवा निःशुल्क

लुम्बिनी प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीहरूका लागि अब रगत सम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ ।

२०७९ साउन १ गतेदेखि लागु हुने गरी प्रदेश सरकारले बिरामीका लागि आवश्यक पर्ने रगतमा लाग्ने सबै सेवा निःशुल्क गर्ने व्यवस्था गरेको हो ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.पुष्पराज पौडेलले प्रदेश सरकार मातहत रहेका सबै अस्पतालमा रगत निःशुल्क हुने बताए ।

उनले त्यसका लागि आवश्यक बजेट छुट्याइएको र सबै अस्पतालमा क्रमशः लागु हुने बताए । साउन १ गतेदेखि अस्पतालको सिफारिसमा रक्तसञ्चार केन्द्रले कुनै पनि सेवा शुल्क नलिई रगत उपलब्ध गराउने भएको छ ।

यसअघि रगतका लागि आवश्यक पर्ने कभर, ग्रुपिङ, स्टोर म्यापिङ लगायतका गरी ८०० रुपैयाँसम्म शुल्क लाग्ने गरेकोमा अब निःशुल्क सेवा पाइने भएको हो ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार १५:२४