सूचनाको शक्ति - The Power Of Information

        

कैदीबन्दी बिरामी हुने क्रममा एक्कासी वृद्धि

गोपालप्रसाद बराल । बर्दिवास । महोत्तरी जलेश्वरस्थित कारागारमा कैदीबन्दी बिरामी हुने क्रम ह्वात्तै बढेको छ । गर्मी बढेसँगै कारागारका कैदीबन्दी बिरामी हुने क्रम ह्वात्तै बढेको हो । श्वासप्रश्वास, रुघाखोकी, ज्वरो, निमोनिया र लुतोलगायत रोगका बिरामी ह्वात्तै बढेको कारागार प्रशासनले जनाएको छ ।
कारागारले थेग्नै नसक्ने गरी कैदीबन्दीलाई यहाँ न्यायिक निकायले पठाइ दिने गरेपछि उनीहरूको बसाइ व्यवस्थापन मिलाउन गा¥हो भएसँगै बिरामी हुने क्रम बढेको कारागार प्रशासनले स्वीकार गरेको छ । अहिले दिनहूँ नियमित उपचार लिनेकोे सङ्ख्या १२५ को हाराहारीमा रहेको कारागार प्रमुखसमेत रहेका वरिष्ठ स्वास्थ्यकर्मी शोभेन्द्र ठाकुरले बताए ।
१३५ जना क्षमता भएको सो कारागारमा अहिले झण्डै चौब्बर सङ्ख्याका कैदीबन्दी भएपछि बसाइकै अप्ठ्यारोले बिरामी हुने क्रम बढेको कारागार प्रमुख ठाकुरको भनाइ छ । कारागारमा पुरुष र महिलाका लागि दुई छुट्टाछुट्टै कक्ष छन् । अहिले महिला कक्षमा पाँच आश्रित बालबालिकासहित ५५ र पुरुष कक्षमा ४१५ जना गरी कुल ४७० कैदीबन्दी छन् ।
विसं २०४२ र २०४६ सालको ऐतिहासिक आन्दोलनताका बाहेक कारागारमा अहिलेको कैदीबन्दीको सङ्ख्या कारागार इतिहासमै सर्वाधिक भएको कारागारको कैदीबन्दी अभिलेखले देखाएको छ । कारागारमा ठाउँको अभावसँगै सीमित शौचालय र धारामात्र हुँँदा उनीहरूलाई दिसापिसाब गर्न, नुहाउन र लुगा धुन घण्टौँ पालो कुर्नु पर्ने एवं सुत्नबस्न नै ठाउँ नपाउँदा आफूहरूलाई निकै गा¥हो भइरहेको कैदीबन्दीको गुनासो छ ।
नापेर दिएको चार हात जमिनमा खाँदिएर बस्न सुत्न पर्दा आफूहरूमध्ये धेरैलाई लुतो भएको पुरुष कक्षका एकजना कैदीले बताएका छन् । ठाउँको अभावमा उनीहरूले नियमित सरसफाईसमेत गर्न नपाउँदा विरामीको संख्या बढ्दो छ । पछिल्लो पटक श्वासप्रश्वास, निमोनिया र चर्मरोगका बिरामीहरूको उपचार राम्रो नहुँदा आपूmहरूलाई बिरामी बनाउन नै कारागार ल्याइएको हो की भन्न लाग्न थालेको पुरुष कक्षका अर्का एक थुनुवाको टिप्पणी छ ।
कारागारमा कैदीबन्दीका लागि जाडो र गर्मी मौसममा गरी दुईपटक मौसमअनुसारको लुगा दिइने कानुनी व्यवस्था भए पनि यहाँ कहिल्यै ठिक समयमा यो सुविधा नपाइएको कैदीबन्दीको भनाइ छ । कारागार प्रमुख ठाकुरले पनि कैदीबन्दीको यो गुनासोलाई स्वीकार गरे । ‘कारागारमा दिनहुँ कैदीबन्दी पठाइन्छन्,’ उनले भने, ‘तर, कैदीबन्दी थपिएको अनुपातमा मौसमअनुसारका लुगा र उपचार खर्चभने आउँदैन ।’
कारागारमा महिला कक्षका ५५ जनाका लागि एक वटा धारा र शौचालयमात्र छ । त्यसैगरी पुरुष कक्षका ४१५ जनाका लागि चार वटा धारा र शौचालयमात्र हुँदा दिसापिसाब गर्न घण्टौँ पालो कुर्नुपर्ने समस्याले नै बिरामी बढ्ने पुरुष कक्षका एक पाका कैदीको गुनासो छ । ‘के गर्नु हजुर…! नुहाउन नपा’को कति दिन भइसक्यो’ पुरुष कक्षका करिब ६० वर्ष उमेरका एक कैदीले आफ्नो लुङ्गी उचाल्दै घाउखटिरा देखाउँदै भने, ‘आफैले किनेको साबुन लाएर नुहाउन पाउने दिन पनि हाम्रा लागि त तीर्थ नै हुने’ भो ।’
कारागारको यो अवस्था अन्त्य गर्न क्षमताभन्दा बढीका कैदीथुनुवा बन्दी अन्यत्र लान र कारागारमा भौतिक व्यवस्थापन जुटाउन स्थानीय प्रशासन र कारागार व्यवस्था विभागमा कैयौँ पटक आग्रह गरिए पनि सुनुवाइ नभएको कारागार प्रशासनले जनाएको छ । विशेषगरी न्यायिक निकायबाट न्याय सम्पादनमा हुने गरेको ढिलाइले पूर्पक्ष थुनुवाको सङ्ख्या निकै बढेको र धनुषा जिल्लाका न्यायिक र अर्धन्यायिक निकायले पठाउने कैदीबन्दीको सङ्ख्या निकै बढेकाले कारागारको भित्री व्यवस्थापन अस्तव्यस्त हुने गरेको हो ।
महोत्तरी कारागारमा अहिले रहेका ४७० कैदीबन्दीमध्ये ६५ प्रतिशत पूर्पक्ष थुनुवा रहेका कारागार प्रमुख ठाकुरले जानकारी दिए । त्यसैगरी कुल कैदीबन्दीको त्यतिकै प्रतिशत नै धनुषा जिल्लाका रहेको कारागार प्रशासनले जनाएको छ । विसं १९१३ सालमा तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गराएको यो कारागार त्यसयता मर्मत सम्भार हुन नसक्दा दिनहुँ पर्खाल र छत उप्केर झरिरहेको छ । अन्य समस्यासँगै पुरानो भवनको पर्खालका इटा झर्ने र छतका सिमेण्टको टुक्रा उप्केर झर्दा किचिएर, थिचिएर मरिने पो हो कि भन्ने डरले समेत सताउने गरेको गुणासो कारागारका कैदीबन्दीले व्यक्त गरेका छन् । रासस

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार ०६:०७