देशको आर्थिक अवस्था जतिनै जर्जर भएपनि बजारमा साउन महिनाको तयारी सुरु भइसकेको छ । जताततै हरियो, पहेँलो र रातो चुरापोते अनि कपडाको किनमेल देखिदैछ । यी रङ्ग लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ । यसैले त साउन महिनामा हरियो, पहेँलो रातो सम्मिश्रण गरी लगाउने चलन बसेको होला । चुरापोते र कपडासँगै साउन महिनामा हातभरि मेहन्दी लगाउने चलन पनि छ ।
हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने विश्वास गर्नेहरू पनि उत्तिकै पाइन्छ । तर यथार्थमा चाहिँ रसायन हालेका मेहन्दीका कारण गाढा मेहन्दीको रङ्गले श्रीमानको मायाभन्दा पनि हानिकारक पो हुन्छ । हानिकारक किन हो भने मेहन्दीको रङ हातमा जति गाढा बस्छ, त्यसमा त्यति नै धेरै खतरनाक रसायन वा केमिकल हालिन्छ । नेपाल र भारतमा गरिएका कतिपय अध्ययनले मेहन्दीलाई गाढा बनाउनका लागि छोटकरीमा पीपीडी भनिने पाराफेनीलेनीडाइमाइन नामक खतरनाक रसायन मिसाइएको हुन्छ ।
पीपीडी भनिने पाराफेनीलेनीडाइमाइनले मेहन्दी लगाएको ठाउँमा मात्र होइन शरिरभरि नै एलर्जी गराउन सक्छ । त्यसैले बजारमा मेहन्दीका कोन किन्नुभन्दा घरमा नै बनाउनु उपयुक्त हुन्छ । साउन आउने वित्तिकै महिला तथा युवतीहरूले हातमा हरियो चुरा र मेहन्दी लगाउने एकखालको परम्परा नै बनिसकेको छ । पहिला पहिला श्रीमानको दीर्घायुको कामनाको लागि साउनमा महिलाले हरियो चुरा र मेहन्दी लगाउने चलन थियो भने आजकल हरियो चुरा र मेहन्दी फेसन बनेको देख्न पाइन्छ ।
विवाहित तथा अविवाहिताहरूले साउनमा हरियो चुरा र मेहन्दी लगाउनुका साथै भगवान शिवझीको आराधना गर्दै आए पनि आजभोलि हरियो चुरा श्रद्धाभन्दा बेसी फेसनको रुपमा लगाउने गरिएको छ । धार्मिक आस्था र विश्वासलाई छोडेर रहर र फेसनले वास्तविक अर्थको महत्वलाई ओझेलमा पारेको छ । प्रत्येक वर्ष साउन महिना सुरु हुनुभन्दा अगाडि नै बजारमा हरिया र पहेँला पोते, चुरा, सिउँदोमा सिन्दूर, निधारमा टीका र हत्केलामा मेहन्दी लगाउने मात्र होइन एक आपसमा उपहार दिएर अनावश्यक आडम्बरलाई प्रोत्साहित गरिएको छ ।
यो वास्तवमा नेपालमा हेरिने भारतीय टीभी च्यानलका सिरियलहरूको एकदमै नराम्रो प्रभाव हो । भारतीय देखासिखीले परिवारमा आर्थिक भार मात्र बढाएको होइन् नेपाल भारतबीचको व्यापार घाटामा योगदान पो दिइरहेको छ । यो संस्कृति आयातित हो र भारतीय संस्कृतिमा मेहन्दी र हरियो चुरालाई प्रेम र सुहागको प्रतीकका रूपमा हेर्छन् । नेपालको मधेशमा मेहन्दी पाइए पनि पहाडमा त त्यसको विकल्प तिउरी नै हुने गरेको थियो । तिउरी लगायतका जडिबुटीबाट मेहन्दीकै रङको रुपमा आफ्नो हातखुट्टा रङ्गाइन्थ्यो । मेहन्दीको सुलभताले तिउरी बिस्थापित भइसक्यो ।
साउनमा शिवजीको पूजा आराधना गर्दा व्यापार राम्रो हुने एवं किसानको खेतीपाती सप्रने विश्वास छ । साउनमा बढी वर्षा हुने भएकाले रोगको संक्रमण हुने गरेको मान्यता छ । यो समयमा रोगहरू लाग्ने बढी सम्भावना भएकाले मासु, लसुन लगायत खानेकुरा खान नहुने जस्तो बर्खायाममा हाम्रो स्वास्थ्यमा प्रतिकुल असर पार्ने खालका खानेकुरालाई यो महिनामा नखाने चलन पनि स्वास्थ्यको दृष्टिकोणले महत्वपूर्ण नै छ । यस्तै वैज्ञानिक दृष्टिकोणले पनि श्रावण महिनामा निरन्तर वर्षा हुने जताततै हिलाम्मे हुने र फोहोर बढ्नाले रोगव्याधी बढ्न सक्छ ।
त्यसैकारण यो महिनाभर माछामासु नखाई सात्विक भोजन गर्दै सातामा एक पटक व्रत बस्नु स्वास्थ्यका लागि उपयुक्त मानिन्छ । साउन महिना महिलाहरूका लागि एक महत्वपूर्ण महिना हो । यो महिना पालुवा पलाउनाले प्राकृतिक रुपमा पनि हरियो महिना भएकोले गाउँघरतिर साउनलाई खेतीपाती सकेर सफा बन्ने महिनाको रुपमा लिने गरेको छ । हाम्रो सांस्कृतिक परम्परा अनुसार साउन १ गतेबाट खेती किसानीको काम सकेर हिलो मैलो सकिएको भन्ने बुझिन्छ भने बर्खाभरिका कामले शरीरको सरसफाइ गर्न नुवाइधुवाई गर्ने गरिन्छ ।
साउन महिना धार्मिक हिसाबले पनि हिन्दु नारीहरूको लागी अर्को महत्वको विशेष महिना हो । नेपाली महिला अझ विशेषत मधेस मूलका महिलाहरूले सोमवार व्रत बस्ने गर्दछन् । विवाहित महिलाले आफ्नो पतिको दीर्घजीवनको कामनाका लागि र अविवाहित युवतीहरूले असल वरको कामनाका लागि साउनको प्रत्येक सोमवार व्रत बस्ने प्रचलन रहिआएको छ । समय परिस्थिति र आधुनिकतासँगै हाम्रो संस्कृतिमा पनि परिवर्तन आएको छ । महिलाले केहीपनि नखाई व्रत बस्ने चलन छ । वैज्ञानिक दृष्टिकोणले पनि व्रत बस्नु केही हदसम्म राम्रो छ ।
तर व्रत बस्दा आफ्नो शारीरिक क्षमता र मानसिक शक्तिको आँकलन गदै मूल्यांकन गर्दै व्रत बस्दा उपयुक्त हुन्छ । त्यसका साथै हामीले हाम्रो संस्कृति र परम्पराको जगेर्ना गर्नुपर्छ तर विकृति र विसंगति भित्र्याएर होइन । हाम्रा परम्परालाई हाम्रै हिसाबले जगेर्ना गरौं । हामीसँग जे छ त्यसैमा सन्तुष्ट हुन सक्नुपर्दछ । तबमात्र हाम्रा परम्पर धर्म संस्कृतिका मुल्य र मान्यताको महत्व रहन्छ । हाम्रो परम्पराले समाजको विकास र सद्भावलाई कायम राख्ने खालका हुनुपर्छ । भारतीय सिरियल हेरेर अनावश्यक नक्कल गर्दा हाम्रो आफ्नो संस्कृतिको क्षय त हुन्छ नै फुजुल खर्च बढाउँदै जाँदा परिवार, समाज र राष्ट्रलाई नै घाटा छ ।
आइएनएस–स्वतन्त्र समाचार
रोशनी अधिकारी ।