सूचनाको शक्ति - The Power Of Information

        

अहिले हतियार किन्ने निर्णय गरेकै छैन : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अहिले हतियार किन्ने निर्णय नगरेको दाबी गर्नुभएको छ ।

 नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा देउवाले अहिले हतियार किन्ने कुनै योजना नभएकाले हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको हो ।

देशमा विदेशी विनिमय सञ्चिति घट्दै गएको र आर्थिक सङ्कटको लक्षण देखिएको बेला सरकारले हतियार खरिद गर्न लागेको भन्दै पार्टीकै नेताहरूले आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको जवाफ मागेका थिए ।

जवाफमा देउवाले अहिले हतियार किन्ने कुनै निर्णय नभएको भन्दै योजना नै नभएको विषयमा आफ्नो आलोचना नगर्न आग्रह गर्नुभएको नेता रामहरि खतिवडाले जानकारी दिनुभयो । तर यो विषयमा देउवाको बोली र व्यवहार फरक हुन सक्ने भन्दै विश्वस्त हुन नसकिएको नेताहरूको प्रतिक्रिया छ ।

सरकारले नेपाल प्रहरीका लागि ८४ करोड रुपैयाँ बराबरको हतियार तथा भिड नियन्त्रण सामग्री खरिद गर्ने प्रक्रिया अघि बढाएको भन्दै आलोचना भइरहेको छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार १९:०५