केही दिनयता मुलुकमा कोरोना संक्रमण निरन्तर उकालो लागेको छ । देशभरका मठमन्दिर, चिडियाखाना, संग्रहालयमा मानिसको भीड यत्तिकै छ । दर्शन गर्ने नाममा बालबच्चा बोकेर मन्दिर धाइरहेका छन् । यता, चिडियाखाना र संग्रहालय पनि कोरोना उत्पादन गर्ने कारखाना बनेका छन् । न मुखमा मास्क छ न सामाजिक दुरीको पालना । घुमघाम गर्ने जानेदेखि त्यहाँको हेरचाह गर्नेहरुको मुखमा मास्क छैन । मन्दिर वरपरका व्यापारीले पनि लापरवाही देखाएका छन् ।
अस्पतालले पनि गैरजिम्मेवारीपूर्ण कार्य गरिरहेको पाइन्छ । कोरोना नभए जसरी अस्पतालभित्र सर्वसाधारणहरु निस्फिक्री डुलिरहेका छन् । सरकारी होस् या निजी सबैले लापरवाही गरेका छन् । सर्वसाधारण र चिकित्सक दुवैले सरकारको मापदण्डको पालना गरेको पाइँदैन । मास्क नै नलगाई भटाभट बिरामी चेकजाँच गरिरहेका छन् । उता, सर्वसाधारणलाई पनि आफ्नो स्वास्थ्यको ख्याल छैन । यता, सार्वजनिक सवारी साधनको त कुरै नगरौं । भौतिक दुरी त सार्वजनिक यातायातमा सम्भव नै भएन ।
ढोकासम्म यात्रु हुँदा पनि खाँदेको खाँद्यै गर्छन् । सहचालक र चालकले मास्क नै लगाउँदैनन् । फुटपाथको हालत पनि उस्तै छ । सार्वजनिक पार्क लगायतका स्थानमा पनि जनस्वास्थ्य मापदण्ड पालना भएको भेटिँदैन । सिनेमा हल, सुपरमार्केट, वित्तिय संस्था, सरकारी कार्यालय, दोहोरी साँझ, डान्स बार, पार्टी प्यालेस, लामो रोडको सवारी साधनको टिकट काट्ने काउण्टरलगायतका क्षेत्रमा अति नै लापरवाही भएको छ । कसैलाई आफ्नो ज्यानको माया नै भएको देखिँदैन ।
कोरोना बढेको बढ्यै छ, तर सबैले ख्यालख्याल गरिरहेका छन् । राजनीतिक दलहरु कार्यक्रम गर्छन्, तर एउटा सामान्य मास्क लगाउन बिर्सिन्छन् । धमाधम कार्यक्रम गरेर कोरोना फैलाउने काम नेताद्धारा भइरहेको छ । भाषण ठोक्नेदेखि लिएर सुन्ने सबैको मुख खुल्लै हुन्छ । एउटालाई कोरोना लागेको रहेछ भने त्यहाँ सबै भ्रष्म हुन्छन् । तैपनि कोही पनि अलिकति जिम्मेवार भएका छैनन् । जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, मालपोत र राहदानी विभागमा जतिखेर पनि भीड हुन्छ । मान्छेको हुल हुन्छ । त्यत्रो हुलमा मास्क लगाएका एकदुई जना मात्र भेटिन्छन् । त्यहाँ दुरीको त कल्पना गरेरै साध्य छैन ।
यता, विद्यार्थीहरु पनि कोरोनाको चपेटामा पर्ने निश्चित छ । एउटै बेञ्चमा आधा दर्जन विद्यार्थी राखेर पढाइन्छ । तर, तीमध्ये कसैले पनि मास्क लगाउँदैनन् । बच्चालाई त मास्क लगाउने कि नलगाउने के थाहा । आमाबुवा र विद्यालय जिम्मेवार बनिदिनुपर्यो । कालिमाटी, बल्खु, धुम्बाराही, तिनकुने, एकान्तकुना र भक्तपुरका तरकारी बजारमा एकदमै भीड हुन्छ । साना, ठूला व्यापारीदेखि लिएर किनमेल गर्ने आउनेको चाप थेगिनसक्नु छ । यता हेर्यो नि मान्छे उता हेर्यो नि मान्छे । व्यापारीदेखि लिएर ग्राहक सबै बेफिक्री डुलिरहेका छन् ।
ट्राफिक व्यवस्थापन गर्न बसेका ट्राफिक प्रहरी पनि जिम्मेवार छैनन् । ड्युटीमा खटिएका ट्राफिकले नै मास्क लगाउन बिर्सिएका छन् । सुरक्षा दिनबाट खटाइएका सुरक्षाकर्मी आफै पनि कोरोनाबाट सुरक्षित छैनन् । उनीहरु सुरक्षित नबन्दा यसको चपेटामा पुरै समुदाय परेको छ । सुरक्षाकर्मीहरु पनि गैरजिम्मेवार भइदिएका छन् । देशको ओहोदामा बसेका मन्त्रीहरु आफै पनि स्वास्थ्य मापदण्डको पालना गर्दैनन् भने अरुलाई के सिकाउँछन् ? सिंहदरबारका कर्मचारीहरु पनि मास्क लगाउँदैनन् । संसद्मा पनि त्यस्तै छ ।
सभामुख र सांसद्हरु मास्क नलगाइ बसेका हुन्छन् । अलिकति पनि जिम्मेवार छैनन् । देशका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीले नै हेलचेक्र्याइँ गरेका छन् । अभिभावक नै छाडा भएपछि छोराछोरी पनि त्यही सिक्ने भइहाले । बाहिरी मुलुकमा कोरोना बढेसँगै नेपाल फर्किनेको संख्या ह्वात्तै बढेको छ । छिमेकी भारतदेखि लिएर अन्य थुप्रै मुलुकबाट नेपालीहरु धमाधम फर्किदैछन् । एयरपोर्टमा एउटा हेल्थ डेस्कको व्यवस्थासमेत गरिएको छैन । नेपाल आउनेबित्तिकै ऊ आफ्नो घर गइहाल्छ । जसको कारण कोरोनाले थप विकराल रुप लिने देखिन्छ । एयरपोर्टको भीडभाड हेरिसाध्य छैन् । बाहिरबाट आउने र यहाँबाट जानेको भीड थेगिनसक्नु छ । उनीहरुको आफन्त पनि एयरपोर्टमै भेटिन्छन् । यस्तो हुँदा पनि सुरक्षाकर्मीहरु टुलुटुलु हेरेर बसेका छन् ।
भारतमा कोरोना दर उकालो लागेसँगै नेपाल भित्रिने लर्को लागेको छ । कामको सिलसिलामा भारत पुगेकाहरुले कोरोना भित्र्याइरहेका छन् । सीमा नाकामा अलिकति पनि कडाइ नगर्दा यसको मारमा पुरै नेपाली परेका छन् । त्यस्तै, चलचित्रकर्मीले भिडियो, फिल्म बनाउदा एउटा निश्चित मापदण्ड बनाएका छैनन् । फिल्ममा नाँच्नेदेखि लिएर हेर्नेको भीड उस्तै हुन्छ । ठलमठेल गरेर हेर्नलाई दर्शन पुगेका हुन्छन् । त्यो पनि कोरोना फैलाउने कारखाना साबित भएको छ । घरघरमा कबाडी संकलन गर्न आउने र गाडामा तरकारी लिएर हिँड्नेहरुले पनि कोरोना फैलाउन सहयोग गरेका छन् । हिजोको दिनमा कोरोनाले च्यापेको कुरा सबैले बिर्सिसकेका छन् ।
कोरोना केही होइन भनेर अहिले लापरवाही गरिएको छ । सरकारले बनाएको मापदण्ड पालना गर्छौं भनेर व्यापारीहरुले व्यवसाय सञ्चालन गरे । तर, सरकारसँग गरेको बाचा कुनै पनि पुरा गरेनन् । सरकारले पनि व्यवसाय सञ्चालन गर्न दियो तर निरीक्षण गरेन । भौतिक दुरीको पालना गछौं, स्यानिटाइजर राख्छौं, ज्वरो नाप्ने थर्मल गन राख्छौं, मास्क लगाउँछौं, भीडभाड गर्दैनौ भनेर सरकारसँग गरेको बाचा कसैले टेरेनन् । यसअघि कोरोनाले विकराल रुप लिएपछि नेपालीहरुले हात मिलाउन छाडेका थिए । कसैलाई भेट्यो भने नमस्कार गर्थे । बाहिरबाट सामान किनेर ल्यायो कि हतारहतार पखाल्थे ।
पैसाबाट समेत कोरोना सर्छ भनेर त्यसमा स्यानिटाइजर छर्किने कामसमेत भयो । तर, अहिले यो सबै बन्द भएको छ । अहिले एउटालाई अर्कोलाई ठेल्दै हिँड्छन् । हात मिलाउन होइन अँगालो हाल्न पनि बेर लगाउँदैनन् । कोरोनाकै कारण नेपालमा लगभग १२ हजार नेपालीले ज्यान गुमाइसकेका छन् । तर पनि कसैको चेत खुलेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनहुँ कोरोनाको विवरण सार्वजनिक गर्छ । मन्त्रालयले दिएको विवरणले कोरोना बढेको छ भनेर पुष्टि हुन्छ । कोरोना बढ्दा मन्त्रालयले स्वास्थ्य मापदण्डको पालना गरौं भनेर एउटा सूचनासमेत जारी गरेको छैन । व्यापार व्यवसायलाई पनि कडाइ गरेको पाइँदैन ।
सरकारले कडाइ नगर्दा नेपालीहरु मर्ने दिन फेरि पनि सुरु हुँदैछ । मन्त्रालय व्यापारी सामु लम्पसार परेको हो ? कि त अहिलेको स्वास्थ्य मन्त्रीलाई पनि जनताभन्दा ठूलो कर र कमिशन भएको छ ? अहिलेका स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले कोरोना नियन्त्रण गर्न चासो देखाएका छैनन् । मापदण्ड पालना गर्न जोड दिनु उनको जिम्मेवार हो । कोरोनाको मापदडसमेत पालना गर्न सक्ने क्षमता नभएकालाई मन्त्री बनाइएको छ । दैनिक भेटिएकोमध्ये सबैभन्दा धेरै कोरोना उपत्यकाभित्र छ । आधाभन्दा धेरै संक्रमित त उपत्यकामै छ । उपत्यकामा भव्य कोरोना फैलिँदा पनि सरकारले थानकोट र साँगा नाका बन्द गरेको छैन ।
यसअघिका काठमाडौं महानगरपालिकाका तत्कालिन मेयर विद्यासुन्दर शाक्यले उपत्यकामा कोरोना संक्रमण बढेपछि ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाका मेयरलाई बैठक बोलाएर नाका बन्द गर्ने निर्णय गरेका थिए । मेयरले कडाइ गरेपछि कोरोनाबाट क्षति कम भएको थियो । तर, अहिलेका मेयरको यतापट्टी ध्यान गएको छैन । उपत्यकावासीलाई कसरी बचाउने ? कोरोना कसरी नियन्त्रण गर्ने ? यिनीहरुसँग योजना छैन । यसअघि कोरोना चेक नगरी, क्वारेन्टिनमा साता नबिताइकन गाउँघर छिर्न मनाही थियो । तर, अहिले त्यो हराइसकेको छ । जो जहाँबाट आए पनि, गए पनि सिधैं आफ्नो घर गइरहेका छन् । स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी र भानु ढकालले लकडाउन गरेर पनि जनता बचाए ।
तर, स्वास्थ्य मन्त्री विरोध खतिवडा जनताप्रति अलिकति पनि जिम्मेवार भएनन् । व्यापारीसँग कमिशन खाएको, भ्रष्टाचार गरेको लगायतका कुराहरु बाहिर आयो । २४ लाख डोज खोप काण्डमा समेत उनको नाम मुछिएको थियो । स्वास्थ्य मन्त्री गैरजिम्मेवार हुँदा उनको धेरै विरोध भयो । अहिलेको स्वास्थ्यमन्त्रीको काम हेर्न अझै बाँकी छ । उनले पनि अघिल्लो मन्त्रीको जस्तै पारा देखाए भने जनता अकालमा मर्नुपर्छ । जनताको बाँच्ने अधिकार सरकारले सुनिश्चित गरिदिनुपर्छ । व्यापारीहरुको पक्षमा निर्णय गरेर जनता मार्न पाइँदैन । जनता आफैं पनि कोरोनाबाट बचौं, सचेत रहौं ।
अनुसा थापा ।