बौद्धकालीन सभ्यतासँग सम्बन्ध रहेका तराईका जिल्लामा रोपिने कालानमक धानको संरक्षणमा बुद्ध जन्मस्थल लुम्बिनीका किसानहरू जुटेका छन् । कालानमकलाई धेरैले कालानिमक पनि भन्दछन् । मिठो वासना र मुखमै टाँसिने स्वाद भएको कालानमक धानको चामललाई अरुभन्दा तेब्बर मूल्य पर्छ ।
कालानमक धान उत्पादनमा खर्च बढी लाग्ने गर्दछ । धेरै खर्चमा कम उत्पादन हुने भएकाले यसको खेती हुने क्षेत्रफल घट्दै गएको छ । कालानमक लुम्बिनी क्षेत्रको रैथाने धान हो । मेहनत बढी र उत्पादन कम हुने भए पनि राम्रो मूल्य पाउन थालेपछि पछिल्लो समय लुम्बिनी क्षेत्रका स्थानीय किसानहरू उक्त धान खेती गर्न लालायित देखिन थालेका छन् ।
बौद्धकालीन संस्कृतिसँग ऐतिहासिक साइनो जोडिएको उक्त धानको प्रचारप्रसारमा स्थानीय युवाहरू चन्द्र पाठक, अर्जुन कुर्मीहरूले अभियान नै चलाएपछि कालानमक धानको महत्त्व बुझेर लुम्बिनीका किसानहरूले उक्त धान लगाउन थालेका हुन् । वर्षौदेखि कालानमक धानको खेती गर्दै आएका लुम्बिनीका सत्यदेव पाठकले आफूले जानेदेखि नै उक्त धान रोप्दै आएको बताए ।
स्थानीय जातको यो धान परम्परागत रूपमा कृषकले लगाउँदै आएको र यसको वैज्ञानिक परीक्षणसमेत नगरिँदा कालानमक धान लोप हुने अवस्थामा पुगेको थियो । कम खर्चमा बढी उत्पादन हुने हाइब्रिड धान खेतीप्रति किसानको बढ्दो आकर्षणका कारणले कालानिमक धान विस्थापित हुँदै गएको किसान राम उजागिर पाण्डे बताए ।
बुद्धकालीन समयको धानको प्रजाति भएकाले बजारमा कालानमक धानको माग रहेको पूर्णिमा पाठकले बताए । बजारमा माग भए पनि लागत धेरै हुने र उत्पादन कम हुने भएकाले किसानको आकर्षण नभएको भन्दै राज्यले लोपोन्मुख धानको संरक्षण गरी त्यसलाई पर्यटनसँग जोडेर काम गर्नुपर्ने पाठकले बताए ।
मौलिक पहिचान बोकेको यो धानलाई धेरैले बुद्ध धर्मसँग जोडेर अनेक कथा उपकथा सुनाउने गर्दछन् । मौलिक पहिचान जोगाउन अहिलेका युवा पुस्ताले कालानमक धानलाई संरक्षण गर्ने दायित्व निर्वाह गर्नु आवश्यक रहेको युवा कृषक मुरलीकुमार कहारले बताए । यो धानलाई पानी धेरै आवश्यक पर्ने भएकाले सिँचाइको व्यवस्था उपयुक्त भएको खेतमा मात्र लाउन सकिन्छ ।
ब्राण्डिङ र प्याकेजिङ गरिएको कालानमक धानको चामल
कालानमक धान फल्न बढी समय लाग्ने, कम उत्पादन हुने लगायतका समस्याले गर्दा अहिले किसानले यो धान लाउन छाडेका हुन् । लुम्बिनीमा लगाइएको यो धानले सारस संरक्षणमा पनि योगदान दिएको छ । भारतको लखनउको रिजनल फुड एण्ड रिसर्च एनालाइसीसको एक रिर्पोटमा कालानिमक चामलमा पर्याप्त मात्रामा भिटामिन पाइने उल्लेख छ ।
उक्त रिर्पोटमा १०० ग्राम कालानमक धानमा भिटामिन ए (बिटा कैरोमिन)को मात्रा शून्य दशमलब ४२ ग्राम रहन्छ । शाक्यवंशीय राजा शुद्धोधनले राजकीय धानको रूपमा कालानिमक धानलाई स्थापित गरेको ऐतिहासिक विवरणहरू पाइन्छन् । बौद्ध जातकअनुसार राजा शुद्धोधन सबैभन्दा अघि सुनको हलो, त्यसपछि मन्त्री चाँदीको हलो र अन्तिममा जनताहरू काठको हलो लिएर कालानमक धान रोपाइँ गर्ने गर्दथे भन्ने विवरणहरू पनि पढ्न सुन्न पाइन्छ ।
यसरी बौद्धकालीन सभ्यतासँग जोडिएको कालानिमक धानको चामल आजकल भने दुई–चार किलोमात्र भए पनि घरमा राख्ने र विशेष अवसरमा पकाएर त्यसलाई स्वादिष्ट व्यञ्जनका रूपमा खाने ख्वाउनेहरूको संख्या बढ्दै गएको छ ।
आइएनएस–स्वतन्त्र समाचार
नरेश केसी । लुम्बिनी ।