सूचनाको शक्ति - The Power Of Information

        

बस्तीमा पस्यो बाढी, घरबारविहीन नागरिक (फोटो कथा)

रितादेवी कामीसहित उनको परिवार असार १ गतेदेखि सडकमा पाल टाँगेर बसेको छ । कान्द्र नदीले घर डुबाएपछि रितादेवीसहित १०० भन्दा बढी संख्यामा स्थानीय पाल टाँगेर अस्थाई रुपमा बसोबास गर्दै आएका छन् ।

धनगढी टीकापुर सडकखण्डको गणेशमान चोक नजिकै उनीहरू पाल टाँगेर बसेका छन् । कैलालीको भजनी नगरपालिकाको ५ पुलियापुरस्थित एउटा दलित बस्ती नै डुबानले घरबारविहीन भएको छ ।

हरेक वर्षको वर्षायाममा कान्द्रा नदीमा आउने बाढीका कारण बस्ती नै डुबानमा पर्ने गर्छ । यो वर्ष पनि बस्ती पूर्णरुपले डुबानमा परेपछि उनीहरू हुलाकी सडकमा त्रिपाल टाँगेर सडकमा बस्न थालेका छन् ।

बस्तीमा बाढी पसेपछि घरमा रहेका लत्ताकपडा, खाद्यान्न र चौपाया सबै बगाएको भजनी नगरपालिकाको ५ पुलियापुरका लालबहादुर बिकले दुखेसो पोखे । हरेक वर्ष लालबोझी र भजनी क्षेत्रमा मोहना नदी र कान्द्रा नदीमा आएको बाढीले हजारौं घर प्रभावित बनाएको छ ।

‘असार १ गतेदेखि नै बस्तीमा पानी बसेर डुबान भएपछि हाम्रो सडकमा बास भएको हो,’ रतन कामीले भने, ‘हरेक वर्ष यस्तै समस्या हुन्छ । तर, कसैले पुनःस्थापनका बारेमा सोचेको छैन ।’

डुबानबाट १५ घरपरिवारका एकसय जना प्रभावित भएको स्थानीय रितादेबीकामीले बताइन् । बस्ती डुबानमा परेपछि गाई, भैंसी, कुखुरा छोेडेर ज्यान जोगाउन सडकमा आएर बसेको उनको भनाइ छ ।

सडकमा बास बस्दा कुकुर र मानसिक सन्तुलन बिग्रिएका मानिसले सताउने गरेको परुली कामीले दुखेसो पोखिन् । १२ वर्षदेखि डोटी र दैलेख जिल्लावाट बसाइसरी आएका सुकुम्वासी दलित बस्तीलाई हरेक वर्ष कान्द्रा नदीको बाढीले दुःख दिने गरेको छ ।

आफूहरू १२ वर्षदेखि डुबानका कारण हरेक वर्षको असारदेखि कात्तिकसम्म सडकमै बस्ने गरेको स्थानीय बताउँछन् । बस्ती डुबानका कारण १५ घरपरिवार समस्यामा परे पनि स्थानी सरकार, प्रदेश सरकार र संघीय सरकारले वास्ता नगरेको उनीहरूको गुनासो छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार ०९:१८