आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले आज (साेमबार) नामिबियासँग प्रतिस्पर्धा गर्ने भएकाे छ ।
खेल नेपाली समय अनुसार साेमबार दिउँसो सवा ३ बजे सुरू हुने भएकाे हाे । तीन टोली सम्मिलित श्रृखला स्कटल्याण्डमा आइतबारबाट सुरू भएको हो । श्रृंखलाको पहिलो खेलमा आइतबार घरेलु टोली स्कटल्याण्डले नामिबियालाई हराएको थियो ।
त्यसैले नामिबिया साेमबार नेपाललाई हराउँदै श्रृंखलामा पुनरागमन गर्ने अभियानमा रहेको छ । नेपाल पनि श्रृंखलामा सुखद सुरुवात गर्न चाहन्छ ।
क्यानडामा अभ्यास सकाएर नेपाली टोली सिधै स्कटल्याण्ड पुगेको हो । नेपालले लिग-२ क्रिकेटमा नामिबियासँग पहिलो पटक खेल्न लागेको हो ।
त्यस्तै एक दिवसीय मान्यता पाएपछि पनि नेपालको नामिबियासँग यो पहिलो खेल हो । लिग-२ क्रिकेटको अंक तालिकामा नेपाल र नामिबियाबीच एक अंकको मात्र अन्तर छ ।
नेपाल १६ खेलबाट १५ अंकसहित पाँचौ स्थानमा छ । साथै १५ खेलबाट १४ अंकसहित नामिबिया छैटौं स्थानमा रहेकाे छ ।
सत्यपाटी । काठमाडौँ ।