सूचनाको शक्ति - The Power Of Information

        

भेरी अस्पतालमा अग्रिम हाजिरी गर्नेको ओइरो

भेरी अस्पतालमा अग्रिम हाजिरी गर्नेको ओइरो देखिएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार बिहान भेरी अस्पतालमा गरेको छड्के जाँचमा सातजनाले अग्रिम हाजिरी गरेको पाइएको छ ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भेरीमा व्यवस्थापन कमजोर देखिएपछि छड्के जाँच गरेको बताए । साथै उनले अस्पताल प्रशासनले कडाई गर्न नसकेको देखिएको बताए ।

प्रशासनले भेरीमा रहेको ३ सय ७८ जनामध्ये २ सय ९० जना कर्मचारीको छड्के जाँच गरेको थियो । जसमा अग्रिम हाजिरी गर्नेमा डाक्टर निर्मल शाक्य, डा. सुरेशकुमार नाग, चार जना स्टार्फ नर्स र एक जना कार्यालय सहयोगी रहेका छन् । डा. शाक्यको हाजिरीको माथि टेप टाँसिएको छ ।

कर्मचारीले मन लागेको बेला हाजिरी गर्ने गरेको देखिएको प्रमुख जिल्ला अधिकारीले बताए ।

जिल्ला प्रशासन कार्यालयले अग्रिम हाजिरी र गयलका विषयमा अस्पताल प्रशासनसम्बद्धलाई बोलाएर स्पष्टीकरण सोध्ने जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार ०८:५२