वर्षासँगै खसेको पहिराेका कारण मध्यपहाडी लोकमार्गको बाग्लुङ–घोडाबाँधेखण्ड गए रातिदेखि बन्द भएको छ ।
बाग्लुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेका कारण सडक खण्ड बन्द भएको हो ।
सडक बन्द हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका गाडी बाटोमै थन्किएका छन् भने यात्रुले सास्ती बेहोरिरहेका छन् । पहिराेसँगै ठूला–ठूला रूख सडकमा खसेकाले सडक खुलाउन कठिन भइरहेको छ ।
आज बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो । यो सडक बन्द हुँदा जिल्लाको पश्चिम क्षेत्रका सातवटा पालिकामा सडक सम्पर्क टुटेको छ भने लोकमार्गको बाटो भएर रुकुम, रोल्पालगायतका जिल्लाका लागि हिँडेका गाडी बाटोमै रोकिएका छन् ।
त्यस्तै जिल्लाको दक्षिण जोड्ने बाग्लुङ कुश्मीशेरा सडक पनि पहिराेका कारण बन्द भएको रानाले जानकारी दिनुभयो । बाग्लुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खसेका कारण सडक बन्द भएको हो ।
बाग्लुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरी र सम्बन्धित कार्यालयको पहलमा सडक सञ्चालन गर्ने प्रयास भइरहेको छ ।
सत्यपाटी । बाग्लुङ ।