सूचनाको शक्ति - The Power Of Information

        

छानबिन समितिको निष्कर्श : वली नै दोषी ठहर

लुम्बिनी प्रदेशका निवर्तमान स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले पदमा रहँदा गत महिना दाङमा महिला र बालिकामाथि लेनदेनकोे कारण देखाउँदै गरेको दुव्र्यवहार सम्बन्धमा बनेको छानविन सहितिले वलीलाई नै दोषी ठहर गरेको पाइएको छ ।

समितिले व्यक्तिगत लेनदेन भए पनि घरमै पुगेर दुव्र्यवहार गर्नु ओलीको कमजोरी ठहर भएको छानविन समितिले जनाएको छ ।

शनिबार छानविन समितिका संयोजक आन्तरिक मामिला तथा संचारमन्त्री तिलकराम शर्माले मुख्यमन्त्री कुलप्रसाद केसीलाई प्रतिवेदन बुझाएका थिए । सो प्रतिवेदनमा राज्यमन्त्री वली अरूको घरमा जानु कमजोरी रहेको उल्लेख गरिएको छ । साथै प्रतिवेदनमा एकराज बस्नेत र मन्त्री वलीबीच लेनदेन बाँकी रहेको पुष्टिसमेत गरेको छ ।

प्रतिवेदन बुझ्दै मुख्यमन्त्री केसीले प्रारम्भिकरूपमा राज्यमन्त्री वलीबाट कमजोरी भएको देखिएको बताएका छन् । उनले प्रतिवेदनको अध्ययनपछि मात्र सरकार र पार्टीले आवश्यक कदम चाल्ने बताउँदै कमजोरी भएको विषयलाई संरक्षण नगरिने उल्लेख गरे ।

त जेठ ३१ गते राज्यमन्त्री वलीले दाङ तुलसीपुरका वाइसिएल कार्यकर्ता एकराज बस्नेतको घरमा पुगेर बस्नेत पत्नी मीना तथा छोरीमाथि हातपात गरेको घटना सार्वजनिक भएपछि प्रदेश सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउन मन्त्री शर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

समितिमा कानून, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्ती र प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य थिए । छानबिन समितिको प्रतिवेदन आउनुअघि राज्यमन्त्री वलीले पदबाट राजीनामा दिएकी छन् ।

नेकपा एमालेबाट निर्वाचित श्रीमान् उत्तरकुमार वलीको निधन भएपछि विमलाले तत्कालीन नेकपाबाट दाङको ३ को (ख) बाट उपनिर्वाचनबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन्। विसं २०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि वैशाख १९ मा उनी नेकपा (माओवादी केन्द्र) प्रवेश गरेकी थिइन् ।

प्रकाशित मिति : १९ असार २०७९, आइतवार १९:३२