सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

नेपालगञ्जका तीन जनामा कोभिड पुष्टि, सतर्कता अपनाउन आग्रह

वुस्टर खोप लगाउन आग्रह

बाँकेमा फेरि कोभिड देखिएको छ । भेरी अस्पतालमा शंकास्पद तीन वटा नमुनाको पिसिआर परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले दुई जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको बताए । कोभिड पुष्टि भएकाहरु २ जना नेपालगञ्ज–१८ र १ जना नेपालगञ्ज–१० का हुन् ।

केही दिन यता नेपालगञ्जको जमुनाहा नाकामा बाहिरी जिल्लाका नागरिकहरुमा संक्रमण देखिन थालेकोमा शुक्रवार बाँकेकै ३ जनामा कोभिड पुष्टि भएको हो ।

फोकल पर्सन वलीले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न आग्रह गरेका छन् । उनले कोभिड खोप नलगाएकालाई लगाउन र दोश्रो मात्रा पूरा लगाएको ३ महिना पुगेकाहरुलाई वुस्टर खोप लगाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार १७:४८