सूचनाको शक्ति - The Power Of Information

        

समाचार

भारत लैजाँदै गरेको २५० बोरा अफिमको दाना नियन्त्रणमा

अवैधरुपमा मुख्य नाकाबाटै भारत लैजान खोजिएको अफिमको दाना भनेको पोश्ता दाना हो । यो निकै महंगो पर्ने गरेको र विशेषगरी मासुका परिकार र औषधीमा प्रयोग गर्ने गरिन्छ ।

जमुनाहामा इन्ट्री गराउन खोज्दा नियन्त्रणमा लिइएको अफिमका दाना भरिएको कन्टेनर ।

भारतबाट विभिन्न व्यावसायिक सामग्री लिएर नेपाल आएका कन्टेनर फर्किने क्रममा तस्करीका सामान भरेर फर्किने गरेको छ ।

नेपालबाट भारततर्फ फर्किरहेको आरजे ०९ जीबी ४५४२ नम्बरको कन्टेनर भारत छिर्न शुक्रवार विहान जमुनाहामा पुगेर इन्ट्री गराउने क्रममा सोधपुछ गर्दा चालक भागेपछि कन्टेनर नियन्त्रणमा लिई खानतलाशी गर्दा ठूलो परिमाणमा अफिमका दाना भरिएका बोराहरु भेटिएको छ ।

निकासी प्रमाणीकरणबिनाको लकमा शील गरेर कन्टेनर जमुनाहा नाकाबाट भारत लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताए ।

कन्टेनरको लकर फोडेर हेर्दा त्यसमा सयौंको संख्यामा भरिएका बोराहरु भेटिएको र हालसम्म खोलिएका बोरामा अफिमको दाना (पोश्ता दाना) फेला परेको उनले बताए ।

कन्टेनरमा करिब २५० बोरा रहेको अनुमान गरिएको जनाउँदै प्रहरीले ती सबै बोरा खोलेर चेकजाँच गर्ने कार्य गरिरहेको पनि डीएसपी न्यौपानेले बताए ।

यतिधेरै सामान लोड भएको र सिलबन्दी गरिएको कन्टेनर मुख्य भन्सार कार्यालय नेपालगन्ज पार गरेर सीमानासम्म कसरी पुग्यो सो बारेमा पनि अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

तर नेपालगन्ज कार्यालयका प्रमुख अर्जुन सुवेदीले जमुनाहामा पनि भन्सारको मुख्य कार्यालय रहेकाले त्यहाँ नियन्त्रणमा लिंदा पनि भन्सारका कर्मचारीसमेत संलग्न रहेको बताए ।

अवैधरुपमा मुख्य नाकाबाटै भारत लैजान खोजिएको अफिमको दाना भनेको पोश्ता दाना हो । यो निकै महंगो पर्ने गरेको र विशेषगरी मासुका परिकार र औषधीमा प्रयोग गर्ने गरिन्छ ।

सो दाना टर्कीबाट आएको र भारततर्फ तस्करी हुने गरेको आशंका प्रहरीले प्रारम्भिक अनुसन्धानमा गरेको छ । सो दाना नेपालभन्दा भारतमा धेरै महंगोमा बिmक्री हुनेगरेको बताइएको छ ।

कन्टेनरमा भित्र गोप्य कोठा बनाएर लकरजस्तो गरी २५–२५ किलोका करिब २५० बोराहरु फेला परेको जमुनाहा प्रहरी प्रमुख वरिष्ठ सई माधव रिजालले बताए ।

उनले सो कन्टेरनरको चालकको खोजीसँगै यो कस्को हो र कहाँबाट आएर कहाँ गैरहेको हो भन्ने कुराको पनि अनुसन्धान भैरहेको बताए ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार १४:००