तपाईंले कुनै पशुपन्छीलाई कुट्ने, हिर्काउने, हानिकारक खानापिना दिने, यातना दिने र निर्दयी वा क्रुर व्यवहार गर्ने गर्नुभएको छ ? छ भने आजैबाट छाडिदिनुस्, अन्यथा तपाईं थुनिन सक्नुहुन्छ । नथुनिए पनि जरिवाना तिर्नुपर्ने हुन सक्छ । नयाँ कानून मुलुकी अपराध संहिता २०७४ को पशुपन्छी सम्बन्धी कसुर अन्तर्गत तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।
पोखरा अमरसिंह चोक घर भएकी सुकदेवी गुरुङको ‘माली’ नाम गरेको कुकुरलाई केही समय अघि राति गाडीले कुल्चिएर मारिदिएछ । गुरुङको घरमा १३ वटा कुकुर छन् । सबैजसो कुकुर उद्धार गरेर ल्याइएका हुन् । मालीलाई पनि उद्धार गरेर ल्याइएको थियो । सरकारी कर्मचारीले नै मालीलाई विष खुवाएर मर्नलाई छाडेको थाहा पाएपछि माली र उसको ६ वटै बच्चालाई रेस्क्यू गरेर आफ्नो घरमा गुरुङले आश्रय दिएका थिए ।
मालीलाई गाडीले कुल्चिएर मारिदिएपछि गुरुङ अहिले शोकमा छन् । यस घटनापछि उनी सवारी साधनको गति कम गर्न र आफ्नो घरको बाटोमा ब्रेकर राख्नका लागि वडा कार्यालय पनि धाए, तर पशुको विषयमा चासो नदिने गरेको गुनासो उनीसँग छ । उनले भने, ‘उनीहरू बोल्न नसक्ने मात्र हुन् । सबै भावना बुझ्न सक्छन् । मान्छेले जस्तै पशुले पनि त बाँच्न पाउनुपर्यो । रक्सी खाएर सवारी चलाउने त्यहाँमाथि स्पीडमा चलाउने गरेपछि दुर्घटना हुनु स्वाभाविक छ । पशु देखेपछि आफैंले स्पीड कम गर्ने हो, ध्यान दिएर चलाउनुपर्यो ।’
यस्तै पोखरा लेकसाइडको एउटा रेष्टुरेन्ट मालिकले केही दिनअघि मात्रै कुकुरलाई तातो पानी खन्याइदिएका रहेछन् । उक्त कुकुरका धनीले कुकुरलाई अस्पताल लिए र अहिले उपचार गरिँदैछ । तातो पानीले गर्दा कुकुरको शरीरमा गहिरो चोट लागेको छ । यता पोखरा काजीपोखरीकी २३ वर्षीया रुबी शर्माले उद्धार गरेर ल्याइएका बिरालोहरूको हेरचाह तथा पालनपोषण गर्छिन् । उनको आफ्नो चार वटा बिरालो छन् ।
बिरालोको रेखदेख गरिरहँदा कहिलेकाँही छिमेकीले बिरालोलाई विष दिएर मार्नेसम्म धम्की दिन्छन् । त्यसैले उहाँलाई आफ्नो बिरालोहरूलाई घरभित्रै राख्छिन् । शर्माले भने, ‘केही दिनअघि पनि मैले देखेको एउटा बिरालोलाई गाडीले कुल्चिदिएको थियो । यहाँ कसैको भर नै छैन । यहाँ पशुलाई एकदमै निर्दयी व्यवहार गरिन्छ ।’ पशुप्रतिको यस्तो क्रुरता नेपालमा दिनहुँ हुन्छ तर यसलाई रोक्नका लागि हाम्रो कानुन र यसको कार्यान्वयनको पक्ष भने फितलो छ ।
मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद २७ को पशुपन्छी सम्बन्धी कसूरको दफा २९० मा पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न नहुने भनिएको छ । यसमा कसैले कुनै पशुपन्छीलाई कुट्न, हिर्काउन, हानीकारक वस्तु सेवन गर्न लगाउन, यातना दिन, निर्दयी वा क्रुर व्यवहार गर्न नहुने उल्लेख गरेको छ । यसमा तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना अथवा दुवै हुने व्यवस्था छ, तर यसको कार्यान्वयन निकै कम हुन्छ । पशुलाई गरिने यातना र क्रुरता गरेबापत कानुनी दायरमा आएको घटना कम छ ।
पशु उद्धार त्यसमा पनि विशेषत कुकुर र बिरालाको उद्धार तथा उपचारमा काम गर्ने संस्था हिमालय एनिमल रेस्क्यु सेन्टर (हार्ट) मो हिट एण्ड रन केस तथा यातना पाएर उद्धार र उपचारका लागि ल्याइने कुकुर र बिरालाका सङख्या धेरै नै छ । हार्टका प्रमुख खगेश्वर शर्माका अनुसार नेपालमा पशु अधिकार सम्बन्धी ऐन संशोधन र त्यसलाई कडारूपमा लागु गर्न सकिएको छैन । जसका कारण पशुलाई क्रुर व्यवहार गर्नेहरूलाई कानुनी दायरमा ल्याउन सकिने अवस्था नरहेको उनले बताए ।
पोखरामा ७० प्रतिशत कुकुरको बन्ध्याकरण
नेपाल सरकारले सन् २०३० सम्म रेबिज उन्मूलन गर्ने बताएको छ तर त्यसका लागि पर्याप्त कार्यक्रम तथा योजना भने बन्न सकेको छैन । रेबिज उन्मूलनका लागि कुकुरको सङख्या घटाउनु पर्छ र कुकुरलाई रेबिजको खोप लगाइदिनु जरुरी छ । कुकुर सङ्ख्या घटाउन बन्ध्याकरण प्रमुख उपाय हो । कुकुर बन्ध्याकरण नहुँदा कुकुरको सङख्या बढ्छ जसले समुदायमा विभिन्न समस्याहरू ल्याउने गर्छ । पशु क्रुरता बढ्नु मध्येको एक कारण पशुको सङ्ख्या वृद्धि हुनु पनि हो ।
त्यसमा कुकुरहरूको सङ्ख्या वृद्धि हुँदा रेबिज रोगको डर रहिरहन्छ । पोखरामा हार्टले गरेको कुकुरहरूको गणनामा वडा नं.१ देखि वडा नं.१९ सम्म १ हजार ६८८ कुकुर रहेका तथ्यांक छ । जसमा ७० प्रतिशत कुकुरको बन्ध्याकरण गरिएको तथ्यांक रहेको हार्टका प्रमुख शर्माले बताए । उनले भने, ‘७० प्रतिशत कुकुरहरूको बन्ध्याकरण गरिएको भेटियो । यसले बन्ध्याकरण गर्नुपर्छ भन्ने चेतना यहाँका मान्छेहरूमा रहेछ भन्ने थाहा भयो र यसले कुकुरहरूको सङख्या नियन्त्रण गर्न पनि सहयोग गर्छ ।’
पशु क्रुरतालाई कम गर्न पशुको बन्ध्याकरण महत्वपूर्ण रहेको बताउँछिन्, हार्टका सूचना अधिकृत अञ्जनी गुरुङ । उनले पशु क्रुरता अमानवीय व्यवहार भएको बताउँदै कुकुर बिरालो तथा जुनसुकै पशु पाल्ने पशु धनीहरू जिम्मेवार हुनुपर्ने बताइन् । यसका लागि आफूले पालेको पशुको बन्ध्याकरण तथा खोप लगाइदिनुपर्ने, खाना तथा औषधोपचारमा ध्यान दिनुपर्नेमा सूचना अधिकृत गुरुङको जोड छ ।
पशुहरूको हिट एण्ड रनको घटनालाई जोड्दै उनले भनिन्, ‘सवारीचालकहरूले सडकमा पशुदेखि सकेपछि जिम्मेवार भएर विस्तारै चलाउनुपर्छ । कुकुरहरूमा कहिलेकाँही ट्रमा भएका कारण बाइक अथवा गाडीलाई भुक्दै पछ्याउने पनि हुन्छ तर यस्तोमा विस्तारै चलाएर सहयोग गर्नु आवश्यक छ ।’
महानगरको कुकुर दर्ता कार्यक्रम
पोखरा महानगरपालिकाले कुकुरहरूको सङ्ख्या पहिचान तथा नियन्त्रणका लागि नेपालमै पहिलो पटक कुकुरको सङ्ख्या दर्ता गराउने कार्यक्रम गरिरहेको छ । गत वर्ष २०७८ असोजबाट सुरु भएको दर्ता कार्यक्रममा हालसम्म पोखरामा १ हजार ४९२ कुकुर दर्ता गरिएका छन् । महानगरको पशु सेवा शाखा प्रमुख नवराज अधिकारीका अनुसार कुकुरको सङ्ख्या दर्ता कार्यक्रमले कुकुरका मालिकलाई कर्तव्यनिष्ठ बनाउँछ । यसले कुकुरको अवस्थाको बारेमा पनि थाहा हुन्छ । पशु विभागले यस आर्थिक वर्षमा मात्र ८० हजार पशुलाई खोप पनि लगाएको छ ।
महानगरको काञ्जी हाउसमा चौपायाको नाजुक अवस्था
पोखरा महानगरपालिकाले पोखराको सडकमा रहेका छाडा चौपायालाई व्यवस्थित गर्न वडा नं १६ बाच्छेबुडुवामा टिनको टहरोमा काञ्जी हाउसको स्थापना गरेको थियो तर केही समय काञ्जी हाउसमा चौपाया भोकभोकै मर्ने अवस्थामा थिए । सहरको सडकबाट उठाएर काञ्जी हाउस लगिएपछि सडक चौपायामुक्त देखिएका थिए तर काञ्जी हाउसमा रहेका गाईगोरुको अवस्था भने नाजुक छ । गाईवस्तुलाई खानादेखि पानीको व्यवस्था नभएको र गोबरले फोहोरको डँगुर बनेको छ काञ्जी हाउस ।
यसबारेमा महानगरका पशु विभाग प्रमुख नवराज अधिकारीले क्षमताभन्दा बढी गाईगोरु हुन पुगेकाले व्यवस्थापन गर्न गाह्रो भएको जवाफ दिए । उनले भने, ‘अहिले हामीसँग २७५ चौपाया छन् त्यहाँ । कर्मचारी तीन जना छन् । खानालाई हामीले दिएका छौ तर सरसफाइ भने नभएको स्वीकार्छौं ।’ अधिकारीका अनुसार छाडा चौपायाको व्यवस्थापनका लागि महानगरले अर्को ठाउँमा धेरै क्षमताको जग्गा हेरिरहेको छ ।
अहिलेको काञ्जी हाउसलाई होल्ड गर्ने ठाउँ र नयाँ ठाउँमा पर्याप्त क्षमतासहितको गौशाला स्थापना गर्ने योजना रहेको उनले जानकारी दिए । काञ्जी हाउसको अवस्था बाहिरिएपछि पशु अधिकारको क्षेत्रमा काम गरिरहेका संघसंस्था तथा व्यक्तिको चासो त्यसतर्फ बढेको छ । जसले पोखरा १५ मा रहेको पोखरा गौशला सञ्चालन गरिरहेका नरेन्द्र कुँवरको अग्रसरतामा अहिले काञ्जी हाउसमा दिनहुँ सरसफाइको कार्यक्रम सञ्चालन भइरहेको छ ।
पशु उद्धारको काममा रहेका युवाको समूह आत्मउत्सर्ग नेपालका सन्दिप विश्वकर्माले काञ्जी हाउसमा सरसफाइ नभएका कारण गाईगोरुको अवस्था नाजुक रहेको बताए । उनले भने, ‘राष्ट्रिय गाई अनि गाई माता भनेर पुज्छौं तर त्यहाँको अवस्था भने एकदमै नाजुक छ । गोबर नै गोबर थुप्रिएको छ । सरसफाइ छैन ।’
आइएनएस–स्वतन्त्र समाचार
दुर्गा रानामगर । पोखरा ।