सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा रोपाई महोत्सव मनाइयो

१९ औं राष्ट्रिय धान दिवस बुधवार मनाइएको छ ।

यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाइएको हो । दिवसका अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–३ मा पनि कृषि ज्ञान केन्द्रले रोपाई महोत्सव गरेको छ । बाँकेमा अहिलेसम्म ३ प्रतिशत मात्रै धान रोपाई भएको छ ।

ब्याड तयारी अवस्थामा छ । तर, बर्षात नभएका कारण किसानहरुले रोपाइँ गर्न पाएका थिएनन् । मंगलवार रातिदेखि बाँकेमा वर्षा भइरहेकाले अब किसानले रोपाई गर्न पाउने छन् ।

यसै क्रममा बाँकेको जानकी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा १९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ ।

धान दिवसका अवसरमा बुधबार खेतमा रोपाइ गरेर दही च्यूरा खाएर १९ औं राष्ट्रिय धान दिवस तथा रोपाई गरेर जानकीमा महोत्सव मनाइएको हो ।

धान दिवस तथा रोपाइ महोत्सव २०७९ लाई जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले उदघाटन गरेका थिए । जानकीको वडा नम्बर ४ छत्तरपुरस्थित धान रोपाई विशेष कार्यक्रम गरिएको हो ।

समयमै बर्षा नभएकाले रोपाइमा ढिलाइ भएको जानकी गाउँपालिका कृषि शाखाका प्रमुख मनोज मण्डलले बताए । विसं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार १८:००