सूचनाको शक्ति - The Power Of Information

        

वामदेव गौतमको नेतृत्वमा नयाँ पार्टी घोषणा

पार्टीको उद्देश्य, ‘सके नेकपा पुनर्गठन, नसके चुनावी मोर्चा’

आठ जनाको सचिवालयसहित यस्तो रहनेछ सांगठनिक संरचना

नेकपा (एमाले)का पूर्वउपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले नयाँ पार्टीको घोषणा गरेका छन् । मंगलबार राजधानीमा कार्यक्रमको आयोजना गरी यसअघि अभियानको रुपमा रहेको राष्ट्रिय एकता अभियानलाई पार्टीमा रुपान्तरण गरिएको घोषणा गरिएको छ ।

पार्टीको संयोजकमा गौतम रहेका छन् भने पार्टीको सांगठनिक संरचनाबारे जानकारी दिइएको छ । गौतमले आफ्नो पार्टीको केन्द्रीय कमिटीमा ७५ सदस्यीय रहेको पत्रकार सम्मेलनमा जनकारी दिए । दैनिक पार्टी संचालनका लागि स्थायी कमिटी निर्माण हुने र त्यसमा १५ जना नबढ्ने गरी सदस्य राखिने गौतमले जानकारी दिए ।

गौतमले पार्टी बहुपदीय प्रणालीमा जाने पनि स्पष्ट गरे । तद्नुरुप एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्जको जिम्मेवारी बहन गर्नेगरी सात उपाध्यक्ष, संगठनात्मक कामको मुख्य जिम्मेवारी पुरा गर्ने गरी एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने व्यवस्था गरिने गौतमको भनाइ छ ।

पार्टीले सबै कम्युनिस्ट पार्टीलाई एकढिक्का बनाउन लक्ष्य लिएको छ भने त्यसका लागि तीन महिने अभियान सञ्चालन गर्ने जानकारी दिइयो । एकीकरणको भूमिका निर्वाह गर्दासम्म पार्टीका सम्पूर्ण ढाँचा समन्वय समितिका रुपमा रहने गौतमको भनाइ छ । त्यस्तो अवस्थामा हरेक कमिटीका प्रमुख पदमा संयोजक र सचिवको व्यवस्था गरिने जानकारी गराइएको छ ।

तत्कालीन नेकपा विभाजनपछि एकताका लागि अभियान सञ्चालन गरेका वामदेवले अहिले त्यसैलाई पार्टीको रूप दिएका हुन् । पार्टीको मुख्य उद्देश्य तत्कालीन नेकपालाई पुनर्गठन गर्ने रहेको विज्ञप्तिमा उल्लेख छ । त्यसो हुन नसके नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई निर्वाचनमा कार्यगत एकता गराउने विज्ञप्तिमा जनाइएको छ ।

‘यस पार्टीको सबभन्दा महत्त्वपूर्ण र मुख्य कार्यभार त्यही विघटन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई फेरि पुनर्गठन गर्नु हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘यसपछि छिट्टै हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपूर्व नै विभाजित कम्युनिस्ट पार्टीहरू नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई एकीकृत हुन नसकेको अवस्थामा कार्यगत एकतामा आउन वातावरण सिर्जना गर्ने अर्को उद्देश्य रहेको छ ।’

कार्यगत एकतामा जाने अवस्था सिर्जना हुँदा यी तीन पार्टीहरूसहित राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) समेतको बृहत् वामपन्थी चुनावी मोर्चा निर्माण गर्ने जनाइएको छ । तीन पार्टीबीच एकता हुँदा नेकपा एकता राष्ट्रिय अभियान पनि सँगै एकीकत हुने, नभए छुट्टै पार्टीका रूपमा गठन हुने उल्लेख छ ।

आठ जनाको सचिवालय

वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टीको सचिवालयमा ८ जना रहने घोषणा गरिएको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गौतमले नयाँ पार्टीसहित सचिवालय गठनबारेको जानकारी दिएका हुन् । सचिवालयमा गौतमसहित डीबी कार्की, ओम शर्मा चालिसे डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् ।

यस्तै पार्टीको केन्द्रीय कमिटी ७५ सदस्यीय रहेको छ भने दैनिक पार्टी सञ्चालनका लागि स्थायी कमिटी निर्माण हुनेछ । जसमा १५ जना नबढ्ने गरी सदस्यहरु हुने गौतमले जानकारी दिए । पार्टी बहुपदीय प्रणालीमा जाने पनि जानकारी दिइयो । पार्टी घोषणा कार्यक्रममा बोल्दै नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आज जे परिवर्तन भएको छ त्यो परिवर्तनको जग आफूहरुले हालेको दाबी गरे ।

एमालेमा हुँदा हरेक संघर्षको मोर्चामा आफू रहेको स्मरण गर्दै गौतमले आफूहरुकै संघर्षको बलमा आजको अवस्थामा आउन बसकिएको बताए । पार्टी घोषणा कार्यक्रममा बोल्दै उनले जीवनका महत्वपूर्ण समयहरु आन्दोलनमा लागेको तर यो आन्दोलन धरासायी हुने देखिएकाले राजनीतिमा पुनः सक्रिय भएको बताए ।

पूर्णपाठ पढ्नोस् :

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार १६:३७