सूचनाको शक्ति - The Power Of Information

        

होटल व्यवसाय संकटमा, पर्यटक खोज्दै व्यवसायी

पर्यटक नआउँदा जुम्लाको होटल व्यवसाय संकटमा परेको छ । कोरोना महामारी अघि रारा आएका अधिकांश पर्यटक जुम्ला पुग्थे ।

पर्यटक बढ्दै गएपछि व्यवसायीहरूले होटलहरूमा लगानीसमेत बढाए । अहिले अधिकांश होटलहरू रित्तै बनेका छन् । हिउँदका तीन महिना जुम्लामा पर्यटन आवागमन ठप्प हुन्छ ।

अत्यधिक हिमपात हुने भएकाले त्यो सिजनमा पर्यटकहरू नै आउँदैनन् । क्षेत्रीय होटल संघ जुम्लाका अध्यक्ष दिलबहादुर महतले हिउँदमा बन्द नै गर्नुपर्ने होटलहरू अहिले पनि पाहुना नआउँदा रित्तो बनेको बताए ।

उनले भने, ‘अहिले ठूला लगानीका होटलहरूमा ५ वटा कोठा भरिन पनि मुस्किल छ । सिजनका बेला पर्यटक आउँदैनन् ।’ कुनै महिनामा त खर्चसमेत उठाउन मुस्किल हुने उनले बताए ।

महतका अनुसार जुम्लामा ५० लाखदेखि २ करोडसम्म लगानी गरेका होटल मात्रै झन्डै १५ वटा छन् । अहिले ठूला लगानीका होटलहरूमा १० देखि २० जनासम्म पाहुना मात्र आउने गरेको बताए ।

होटलहरूमा दैनिक ५० जनासम्म पाहुनाहरू राख्न सकिने सुविधा छ । होटल दौँतरीका सञ्चालक पदमबहादुर महतले आफूहरूसँग भएका आधा कोठा पनि नभरिँदा व्यवसाय नै धरापमा पर्न थालेको बताए ।

उनको होटलमा १६ वटा कोठाहरू छन् । दैनिक ८ कोठा पनि भरिन मुस्किल हुन्छ । ‘कोरोना महामारी अघिसम्म पर्यटकलाई राख्ने होला भन्ने चिन्ता हुन्थ्यो, एक साताअघि नै सबै कोठा भरिभराउ हुन्थे । अहिले पाहुना खोज्नुपर्ने बाध्यता छ,’ महतले भने ।

साउनदेखि भने पर्यटकहरू बढ्ने आशा रहेको संघका अध्यक्ष महतले बताए । उनका अनुसार साउन, भदौ, असोज र कात्तिक महिना रारा र जुम्ला घुम्न आउने पर्यटकका लागि उपयुक्त समय हो ।

संघको तथ्यांकअनुसार कोरोना महामारी अघिसम्म एकै महिनामा ३७ हजारसम्म पर्यटक जुम्ला आएका थिए । जुम्लामा होटल व्यवसायमा झन्डै २ अर्ब रुपैयाँ लगानी भएको संघको अनुमान छ ।

संघका अनुसार यो व्यवसायबाट कम्तीमा ३०० जनाले रोजगारी पाएका छन् । पछिल्लो समय राष्ट्रियस्तरका कम्पनीहरूले समेत होटलका शाखा खोल्ने क्रम बढिरहेको छ ।

होटल पौवाले आफ्नो शाखा खोलिसकेको छ । पर्यटकीय होटलहरूले आफ्नो मेनुमा जुम्लाको उत्पादनलाई विशेष जोड दिएका छन् ।

होटल पौवाले कोदोको रोटी, फापरको रोटी, फापरको ढिँडो र मार्सी चामललगायत स्थानीय उत्पादनलाई प्रमुख परिकारका रूपमा राखेको छ ।

नियमित हवाई सेवा नहुँदा पनि होटल व्यवसाय समस्यामा परेको उपभोक्ता हकहित संरक्षण कार्यालयका प्रमुख श्रीकृष्ण देवकोटाले बताए ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार १२:१२