सूचनाको शक्ति - The Power Of Information

        

सगरमाथा आधार शिविर हिँडेका भारतीय चिकित्सक बेपत्ता

सगरमाथा आधार शिविर हिँडेका भारतीय चिकित्सक बेपत्ता भएका छन् । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ स्थित तेङबोचेको फुंगाथाङ्बाट डा.चन्द्रमोहन शिवनाथ हराएका हुन् ।

जेठ ५ बाट ३१ वर्षीय चन्द्रमोहन बेपत्ता भएको सोलुखुम्बुका डिएसपी सुनिलजङ्ग शाहले बताए । जेठ ५ मा नाम्चे बजारको चेक प्वाइन्टमा प्रहरीले डा.चन्द्रमोहन आधार शिविरतर्फ लागेको रेकर्ड राखेको छ ।

नाम्चेको चेक प्वाइन्टबाट उनी मध्यान्ह १ बजे बेस क्याम्पतर्फ लागेका हुन् । प्रहरीको अनुसन्धानबाट उनी तेङबोचेसम्म पुगेको थाहा भएको छ । चिकित्सकको खोजीमा प्रहरी निरीक्षकको कमाण्डमा तीन जनाको टोली परिचालन गरिएको छ ।

उनले भने, ‘गोक्यो, थामबोचे र सगरमाथा आधार शिविरमा खोजी भइरहेको छ ।’ चिकित्सक हराएको ठाउँबाट सगरमाथा आधार शिविर पुग्न तीन दिन पैदल हिँड्नुपर्छ । सगरमाथा आधार शिविर हिँडेकी कोरियन महिला पनि चैत ६ बाट बेपत्ता छिन् ।

नाम्चे बजारबाट चैत ६ मा आधार शिविरतर्फ लागेकी कोरियन नागरिक यियोन हि ली अझै फेला परेकी छैनन् । कोरियन महिलाको खोजी भइरहेको डिएसपी शाहले बताए । उनको खोजीमा आएको दक्षिण कोरियाको एउटा टिम फर्किएको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार ११:४५