सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

सबै मन्त्रीलाई फिर्ता बोलाउँदै जसपा

उपेन्द्र पक्षीय कार्यकारिणी सदस्यहरूको बैठकले नयाँ मन्त्री पठाउने अधिकार पनि उपेन्द्र यादवलाई नै दिने निर्णय गरेको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । सोमबार राति बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समिति बैठकले सरकारमा रहेका चारवटै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

उपेन्द्र पक्षीय कार्यकारिणी सदस्यहरूको बैठकले नयाँ मन्त्री पठाउने अधिकार उपेन्द्रलाई दिने निर्णय गरेको एक नेताले बताए । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्रराय यादव मन्त्री भएका छन् ।

कार्यकारिणीको बैठकमा संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई पक्षीय नेतालाई बोलाइएको थिएन । कार्यकारिणीमा आफ्नो बहुमत रहेको दाबी गर्दै उपेन्द्र पक्षीय बैठकले बाबुराम भट्टराई, महेन्द्र यादवसहित केही नेताहरूलाई कारबाही गर्ने अधिकार पनि उपेन्द्र यादवलाई दिएको छ

सोमबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका उपेन्द्र यादवले नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू फिर्ता बोलाएर नयाँलाई शपथग्रहण गराएपछि अब आफ्नो पार्टीमा पनि मन्त्रीहरू फेरबदलको लागि सहयोग गर्न आग्रह गरेका थिए ।

प्रचण्डले पार्टीबाट औपचारिक निर्णय गरेर आउन भनेपछि सोमबार साँझमा बसेको कार्यकारिणी बैठकले मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको बुझिएको छ । नेकपा एकीकृत समाजवादीले पनि सरकारमा नयाँ मन्त्री पठाएको छ । एकीकृत समाजवादीका नयाँ मन्त्रीले सोमबार मात्र शपथ लिएका थिए ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार १०:०५