विगत तीन वर्षअघि नेपालमा पहिलोपटक कोरोना संक्रमण देखिएको थियो । सबैजनामा कोरोनाको त्रास अत्यन्तै देखिन्थ्यो । अन्य मुलुकझैं नेपालमा पनि कोरोनाले तहल्का मच्चायो । कोरोना सँगसँगै विभिन्न जनस्वास्थ्यका मापदण्डहरु अपनाउन थालियो । मास्क लगाउने, हात नमिलाउने, दुई मिटरको भौतिक दुरी पालना गर्ने, बेलाबेलामा साबुनपानीले हात धुनेलगायतका जनस्वथ्य मापदण्डहरु चलनचल्तीमा आए । एकअर्काको घरमा जाने, साथीभाइ भेटघाट जस्ता कामहरु पनि ठप्प भयो । भीडभाड गर्न त सरकारले रोक नै लगाएको थियो । तर, अहिले ठ्याक्कै यसको उल्टो भएको छ । आम नागरिकले जनस्वास्थ्य मापदण्ड पालना गर्न छोडिसकेका छन् ।
नेपालमा अझै पनि कोरोना छ भनेर सबैले बिर्सिसकेका छन् । कोरोनाका कारण झण्डै १२ हजार नेपालीले अकालमा ज्यान गुमाउनुपरेको कुरा सबैको मस्तिष्कबाट हटिसकेको छ । निस्फिक्री रुपमा घुमघाम गर्ने क्रम बढ्दो छ । असार सुरु भएयता कोरोना निरन्तर बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरणले देखाउँछ । केही सातादेखि कोरोना लगातार उकालो लागेको छ । तर, मन्त्रालयले यसलाई मध्यनजर गर्दै कुनै सूचना जारी गरेको छैन । जनचेतना फैलाउने सूचना जारी गर्न पनि स्वास्थ्य मन्त्रालयले चासो देखाएको छैन । व्यापारिक केन्द्रमा सर्वसाधारणको भीड यत्तिकै छ । न उनीहरुको मुखमा मास्क छ सामाजिक दुरीको त कुरै नगरौं ।
यता, राजनीतिक दलले पनि जनस्वास्थ्य मापदण्ड नअपनाई कार्यक्रम गरिरहेका छन् । कालिमाटी र बल्खु लगायत अन्य क्षेत्रमा रहेका तरकारी बजारमा पनि निकै भीड छ । सयौंको संख्यामा बेच्ने छन्, हजारौंको संख्यामा किन्ने । बेच्ने र किन्ने दुवैले मास्कसमेत लगाएको पाइँदैन । भारतबाट तरकारी ओसारपसार गर्ने सवारी चालकले पनि स्वास्थ्य मापदण्ड पालना गरेका छैनन् । रात्रिकालिन व्यवसायजस्तै दोहोरी साँझ, डान्स बारहरुमा पनि रत्तीभर कोरोनाका मापदण्ड पालना भएको छैन । भाटभटेनी लगायत अन्य ठूला व्यापारिक मलहरु पनि कडाइका साथ मापदण्ड पालना गर्नमा जोड दिएका छैनन् । सार्वजनिक सवारीमा भेडाबाख्राझैं कोचाएर यात्रु खाँदेको हुन्छ ।
तीन लाइन यात्रु उभाएर खाँदेर राख्दा पनि ट्राफिक प्रहरी महाशाखाले कारबाही गरेको छैन । सहचालक र चालक दुवैको मुखले मास्क लगाएको पाइँदैन । उता, कुनैकुनै बाहेक अधिकांश यात्रुले पनि मास्क लगाएका छैनन् । गाडीको टिकट काट्ने काउण्टरमा पनि उही हाल छ । वित्तिय संस्थामा काम गर्न कर्मचारी वा सेवाग्राही दुवैले सरकारको निर्णय मान्न अटेर गरिरहेका छन् । सरकारी कार्यालयमा त झन् खुट्टा टेक्ने ठाँउ हुदैन । वडादेखि महानगरपालिका र मन्त्रालय, विभाग जहिले पनि भीड हुने स्थान हो । तर, यस्तैमा झनै हेलचेक्र्याइँ गरिएको छ । अधिकांश सरकारी र निजी कार्यालयमा स्यानीटाइजरको समेत व्यवस्था गरेको पाइँदैन । ज्वरो नाप्ने थर्मल गनको कल्पना नगरौं ।
यता, शैक्षिक संस्थाहरुले पनि मास्क र सामाजिक दुरी अनिवार्य गरेको छैन । एउटै बेञ्चमा आधा दर्जन विद्यार्थी कोचेर पढाइरहेको छ । अभिभावकहरु पनि लापरवाह हुँदा यसले कोरोनालाई बढावा दिइरहेको छ । पार्टी प्यालेसमा भोजभतेर गर्ने क्रम अहिले ह्वात्तै बढेको छ । सिनेमा हल र जात्रामा जम्मा हुनेको पनि मुखमा सामान्य मास्कसमेत छैन । भौतिक दुरी र अन्य जनस्वास्थ्य मापदण्डको कुरा नगर्दै बेस । पछिल्लो समय भारतमा कोरोनाले हंगामा मच्चाएको छ । कोरोना संक्रमित हुने दर अत्यन्तै बढेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । भारतमा कोरोना बढेसँगै यता फर्किनेको लर्को लागेको छ । तर, सीमामा कोरोना परीक्षण भएको पाइँदैन । त्यहाँ ज्वरो पनि चेक हुन सकेको छैन । अहिले दिनहुँ लाखौं जनताहरु उपत्यका भित्रिरहेका छन् । तर, थानकोट र साँगामा कोरोना परीक्षण हुँदैन ।
सरकारले लापरवाहीले गर्दा उपत्यका फेरिपनि हटस्पट बन्ने देखिएको छ । उपत्यका भित्रिने नाकामा कडाइ नगर्दा जथाभावी रुपमा छिरिरहेका छन्, सर्वसाधारण । यसले उपत्यकावासीमा त्रास पैदा गरिदिएको छ । कोरोना सुरु भएयता नेपालमा दुई जना प्रधानमन्त्री बने । पहिलोपटक कोरोना देखिँदा केपी शर्मा ओलीको सरकार चलिरहेको थियो । एकजना संक्रमित देखिनेबित्तिकै उनले लकडाउन गरे र करोडौं जनताको ज्यान बचाए । तर, शेरबहादुर देउवाको त्यसो गर्न सकेनन् । उनको पालामा धेरै जनता कोरोनाका कारण मरेको तथ्याङ बताउँछ । ओलीको पालामा चार हजार जनताले ज्यान गुमाएका थिए भने देउवाको पालामा दोब्बर भयो । ओलीले सदनमा उभिएर मलाई राजस्वभन्दा जनता ठूलो हो भन्दै भाषण गरेका थिए ।
प्रधानमन्त्री देउवाको सरकारले दैनिक चार दर्जनसम्म कोरोना संक्रमित भेट्दा जनस्वास्थ्यको चेतना फैलाउन सूचना जारीसमेत गरेको छैन । अनि भोलिको दिनमा कोरोनाले तहल्का मच्चायो भने उनले लकडाउन गर्न सक्लान् ? जनता बचाउन के गर्लान् ? कोरोना फैलाउने कारखाना तत्कालै बन्द गर्नुपर्छ भनेर जनताले सरकारसँग माग गरिसकेका छन् । अब पनि सरकारले हेलचेक्र्याइँ गर्ने हो भने लकडाउन गर्नुपर्ने अवस्था बन्न सक्छ । होइन भने जनता मरेको टुलुटुलु हेरेर बस्नुपर्छ । करका निम्ति कोरोना फैलाएर जनता मार्न मिल्छ ? व्यापारीको कुरा सुनेर जनताको चासो नै नराख्ने पनि सरकार हुन्छ ? कोरोना लागेर हजारौं नेपालीले अकालमा ज्यान गुमाए । तर, तिनका आफन्तले अझै पनि क्षतिपूर्ति पाउन सकेका छैनन् । अन्य मुलुकले क्षतिपूर्तिको व्यवस्था गरेको थियो ।
राजनीतिक दलले गरेको आन्दोलनमा आफ्नो कार्यकर्ता मरेको भए १० लाख रुपैंयाँ दिन्थ्यो । शहिद घोषणा गर्न पनि राजनीतिक दल पछि हट्दैनथे । जनता र कार्यकर्तामाथि कति भेदभाव हुँदोरहेछ सबैले बुझिराख्नुपर्छ । जनता त सरकारको कमीकमजोरीले गर्दा मरेका हुन् । अनि उनीहरुमाथि नै यत्रो भेदभाव किन ? कोरोनाले गर्दा जतिले ज्यान गुमाए ती सबै नेपाली नागरिक नै थिए । उनीहरुसँग पनि नेपाली नागरिकता थियो । हिजो उसले पनि केही काम गरेर राज्यलाई कर तिरेको थियो होला । उता, राजनीतिक दललाई भोट पनि दिएको थियो होला । तर, अन्तत न ऊ सरकारको बन्न सक्यो न राजनीतिक दलको । निर्वतमान स्वास्थ्यमन्त्री विरोध खतिवडाले आफ्नो कार्यकालमा केही काम गरेनन् । जनताप्रति उनी कहिल्यै जिम्मेवार भएनन् । उनकै पालामा २४ लाख डोज खोप गायब भयो । तर पनि पनि यताउता गरेर यो कुरा सामसुम बनाइयो । एउटा खोप पाँच हजारमा बिक्री हुन्छ भन्ने कुरा पनि त्यतिखेर सार्वजनिक भएको थियो ।
हालैमात्र आएका स्वास्थ्यमन्त्रीले कस्तो काम गर्लान् ? यो हेर्न बाँकी नै छ । आवश्यकता पर्यो भने लकडाउन गर्ने क्षमता उनीसँग छ । कि त जति जनता मरे पनि व्यापारीसँग कमिशन धुतेर बस्ने पो हुन् कि ? अब सरकारसँग दुई वटा विकल्प बाँकी छ । लकडाउन गर्ने कि कडाइ यो सरकारको हातमा छ । अझै पनि छाडा छोडिदिने हो भने यसले विकराल रुप लिन्छ । गृह मन्त्रालयले ७७ वटै जिल्लाका सिडियोलाई कडाइ गर्नुस् भनेर परिपत्र गर्न ढिलो भइसकेको छ । तर, गृह परिपत्र गर्न ढिलोसुस्ती देखाइरहेको छ । यता, सिडियोहरु गृहको मुख ताकेर बसेको छ । मास्क लगाउनु, जनस्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिनु लगायतका सामान्य हक पनि सिडियोसँग छैन ? गृहमन्त्री बालकृष्ण खाँड जनताप्रति अलिकति पनि जिम्मेवार छैनन् । कहाँबाट कमिशन आउँछ भन्नेतिर मात्र उनको ध्यान छ । कर्मचारी सरुवा बढुवा गर्नमै उनी व्यस्त छन् ।
गृहमन्त्री र स्वास्थ्यमन्त्रीको लापरवाहीले अब कतिले सित्तैमा ज्यान गुमाउने हुन् अड्कल लगाउन पनि धौ छ । हामी नेपालीहरु पनि एकदमै गैरजिम्मेवार छौं । भीडभाड पनि हामीले नै गरिरहेका छौं । मास्क लगाइदिँदा आफ्नै सुरक्षा हो भन्ने कुरा बिर्सिएका छौं । अरुको मुख ताकेर बस्दा धेरै क्षति पुग्छ । अब हामी आफैं पनि जिम्मेवार बनौं । सरकारको मुख ताक्ने काम छोडौं । कोरोना हराइसक्यो भनेर ख्यालख्याल नगरौं । कोरोनाको अनुभव कस्तो हुँदोरहेछ यो कुरा बुझौं । कोरोना लागेका कतिले ज्यान गुमाए त कतिले नयाँ जीवन पाएका छन् । त्यसैले आफ्नो सुरक्षातिर आफैंले ध्यान दिऔं । किन कि सरकारलाई कर र भोटको मात्र चासो छ । व्यापारीहरुले आफू कमाउने नाममा कोरोना फैलाएर जनता मारिरहेका छन् । व्यापारीको अघि सरकार लम्पसार । स्वास्थ्य मापदण्ड पालना गर्ने व्यापारीलाई कानुनको दायरामा ल्याउन सकेको छैन । अब जनता आफैं सचेत हुनुपर्छ । सरकार पनि अलिकति जिम्मेवार बनिदेऊ किनकि कोरोना फैलिसकेको छ ।
अनुसा थापा ।