सूचनाको शक्ति - The Power Of Information

        

पर्यटन

नेपालगन्जमा सञ्चालनमा आउँदै ‘अत्याधुनिक वाल पार्क’

वाटरपार्क र वाल उद्यान पूर्णरुपमा सञ्चालनमा आएपछि नेपालगन्जमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सहयोग मिल्नेछ ।

नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोझीमा आकर्षक वाल पार्क निर्माण भई सञ्चालनमा आउने भएको छ । सुन्दर वाटरपार्क र धम्बोझी माविसँगै जोडिएको यो पार्क सञ्चालनमा आएपछि नेपालगन्जमा अर्को पर्यटकीय क्षेत्र थपिनेछ ।

दुई वर्षअघि निर्माण सुरु भएको वाल पार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको उपमहानगरपालिकाले जनाएको छ । नेपाल सरकार संघीय आयोजना कार्यान्वयन ईकाईमार्फत करिब १४ कठ्ठा जग्गामा वाल उद्यान निर्माण गरिएको हो ।

वाटर पार्कसँगै जोडिएको पश्चिम उत्तरतर्फ पार्क निर्माण गरिएको छ । ‘वाटरपार्कसँगै वाल पार्क जोडिएका कारण मनोरञ्जन क्षेत्रमा थप आकर्षण थपिएको छ,’ संघीय आयोजना कार्यान्वयन ईकाईका सूचना अधिकारी गोविन्दप्रसाद सुवेदीले भने ।

ईकाईका सूचना अधिकारी सुवेदीका अनुसार उनले यसबाट धम्बोझीमा मात्रै नभएर वाटर पार्क घुम्न आउने बालबालिकाले पनि खेल्न र मनोरञ्जन गर्न पाउनेछन् । वाल पार्क क्रमशः रोमाञ्चक बन्दै जाने पनि संघीय आयोजना कार्यान्वयन ईकाईले जनाएको छ ।

ईकाईका सूचना अधिकारी सुवेदीकाअनुसार कारकादौंदेखि नन्दनी मिल जोड्ने बाइपास सडक र भेरी प्राविधिक शिक्षालय पश्चिमको सडक कालोपत्रेसँगै वाल उद्यान निर्माणको एकसाथ टेण्डर भएको हो । १६ करोड २४ हजार रुपैयाँको लागतमा टेण्डर स्वीकृत भएको ईकाईले जनाएको छ ।

सुन्दर र रमणीय वाटर पार्कसँगै जोडिएका कारण यसबाट नेपालगन्जको समग्र पर्यटन विकासमा समेत टेवा पुग्ने स्थानीयहरु बताउँछन् । वाटरपार्क र वाल उद्यान पूर्णरुपमा सञ्चालनमा आएपछि नेपालगन्जमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सहयोग मिल्नेछ ।

स्थानीयबासी भन्छन्, ‘नेपालगन्जजस्ता ठूला शहरमा यसखालका पार्कहरु बढाउन आवश्यक छ ।’ नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले वागेश्वरी मन्दिरको पूर्वतर्फ समेत अण्डरग्राउण्ड पार्किङसहित वाल उद्यान निर्माण हुने बताए ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार ०८:२१