सूचनाको शक्ति - The Power Of Information

        

१० सेन्टिमिटरको चम्चा किशोरीको पेटभित्रै पुगेपछि…

आइतबार साँझ झन्डै ५ बजेको समयमा १७ वर्षीय किशोरी पेटको समस्या लिएर थापाथलिस्थित नर्भिक अस्पताल आइपुगिन् । सामान्य अवस्थामा आइपुगेकी उनले आफ्नो मुखबाट चम्चा पेटभित्र छिरेको बताइन् ।

भिडियो एक्स–रेबाट करिब १०–१२ सेन्टिमिटरको चम्चा आमाशयमा पुगेर अड्किएको देखियो । ४५ मिनेट लामो जटिल इन्डोस्कोपी प्रक्रियापछि सो चम्चा निकालियो । सोमबार बिहानसम्म किशोरीको अवस्था समान्य भइसकेको थियो । अस्पतालले उनलाई सोमबार बिहान नै डिस्चार्ज गरेको छ ।

कसरी पुग्यो आमाशयसम्म चम्चा ?

किशोरीको उपचार टिमको नेतृत्व गरेका नर्भिक अस्पतालका ग्यास्ट्रोएन्टेरोलोजिष्ट डा.सन्दीपराज कुँवरका अनुसार साइक्ट्रेकी इलनेशको समस्या भएकी ती युवतीले खानापछि बान्ता गराउन प्रयोग गरेको चम्चा भित्रैसम्म पुगेको थियो । डा.कुँवरका अनुसार चम्चा सानो आन्द्राको मुखमा पुगेर अड्केर बसेको थियो ।

छड्के परेर बसेको हुनाले शल्यक्रिया गरेर निकाल्न सहज थिएन, इन्डोस्कोपीमा वीथ ‘¥याट तुथ टुल्स’ प्रयोग गरेर बिना चिरफार किशोरीको पेटमा भएको चम्चा निकालियो । यो औजारको तिखो टुप्पोको प्रयोगले पेटको भित्री भागमा केही अड्किएको भए इन्डोस्कोपी गरी निकाल्न सकिन्छ ।

‘बालबालिकाले झुक्किएर निलेका सिक्का, पिन, खाना खाने क्रममा अड्किएको हड्डी बिना शल्यक्रिया निकाल्ने गरिन्थ्यो । तर, मेरो अहिलेसम्मको करिअरमा नै पहिलोपटक यस्तो क्रिटिकल केस आइपरेको हो,’ डा.कुँवरले भने, ‘जे होस् बिरामीलाई सकुशल राखेर चम्चा निकालियो, यो मेरो समग्र टिमको सफलता हो ।’

ज्यानै जानसक्ने जोखिम

कुनै धारिलो वस्तु पेटसम्म पुगेमा त्यसले आन्द्रा प्वाल पार्ने सम्भावना बढी हुन्छ । डा. कुँवरका अनुसार यस्तो अवस्थामा उपचार ढिलो भएको भए सानो आन्द्रा प्वाल पर्ने, पेटभित्र रक्तश्राव हुने, अन्य खानेकुरा समेतलाई ब्लक गरी जटिल समस्या निम्तिनसक्ने सम्भावना रहन्छ । त्यसैले बालबालिका र ठूला व्यक्तिले पनि खाने क्रममा विशेष ध्यान पुर्याउन डा.कुँवरको सुझाव छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार १४:०४