सूचनाको शक्ति - The Power Of Information

        

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक

मन्त्रीबाट हटेकाहरू बैठकमा अनुपस्थित, नवनियुक्त मन्त्रीहरू शपथमा व्यस्त

सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले संघीय सरकारको मन्त्रीबाट फिर्ता गरिएका चारैजना नेता पार्टी बैठकमा अनुपस्थित भएका छन् ।

राजधानीको कमलादीमा सोमबार मध्यान्ह सुरु केन्द्रीय परिषद् बैठकमा आइतवार मात्रै मन्त्रीबाट फिर्ता गरिएका चारैजना नेता सहभागी नभएका हुन् ।

परिषद् बैठकमा देशभरबाट सहभागीहरू आए पनि हिजोदेखि मन्त्री पद गुमाएकाहरू सहभागी नभएको समाजवादीका एक नेताले जानकारी दिए ।

केन्द्रीय परिषद बैठकमा अनुपस्थित हुनेहरुमा निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटन मन्त्री प्रेम आले, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्यमन्त्री विरोध खतिवडा रहेका छन् ।

आफूहरुले राम्रो काम गरिरहँदा पनि पार्टीले कुबेलामा जवरजस्ती फिर्ता बोलाएको भन्दै उनीहरु असन्तुष्ट रहेका उनीहरु यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा पनि सहभागी भएका थिएनन् ।

यता, नवनियुक्त मन्त्रीहरू पनि शपथ र कार्यभार ग्रहण गर्ने कार्यक्रमका व्यस्त भएका कारण केन्द्रीय परिषदमा सहभागी नभएको समाजवादीका एक नेताले जानकारी दिका छन् ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार १३:००