सूचनाको शक्ति - The Power Of Information

        

गायिकाको हत्या भएको दावी, बुवाले दिए प्रहरीमा जाहेरी

काठमाडौंको नेपालटारस्थित डेरामा मृत फेला परेकी लोक गायिका दिलमाया सुनारको हत्या भएको परिवारको दाबी छ । दिलमायाको बुवा केशर विकले सुर्खेतबाट आएर प्रहरी वृत बालाजुमा किटानी जाहेरी दर्ता गराएका छन् ।

प्रहरी नियन्त्रणमा रहेका काभ्रेका सुर्य श्रेष्ठविरुद्ध ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आइतबार श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

सल महाराजगञ्जमा भेटिएको छ । महाराजगञ्जस्थित नालीमा सल भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले बताए । गायिकाको शव शनिवार बिहान बेडमा भेटिएको थियो । श्रेष्ठले उनको डेरामा गएर बिहान फर्केको स्विकारेका छन् ।

प्रहरीको अनुसन्धानबाट गायिकाको शव श्रेष्ठले नै महाराजगञ्जस्थित कतार भिषा सेन्टर अघिल्तिर नालीमा फालेको प्रहरीसँग स्वीकार गरेका छन् । शुक्रबार साँझ पौने ९ बजेतिर श्रेष्ठ खसीको मासु बोकेर गायिकाको डेरामा गएका हुन् । तर, पोष्टमार्टम रिपोर्ट आउनुअघि गायिकाले आत्महत्या गरिन् या हत्या भयो भन्नेबारे भन्न नसकिने एसएसपी वसन्त कुँवरले बताए ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार ११:१९