सूचनाको शक्ति - The Power Of Information

        

दोस्रो विवाहपछि तनावमा थिइन् गायिका दिलमाया

शुक्रबार राति साढे १२ बजे दिलमाया सुनारको फेसबुकबाट आधा दर्जन टिकटकसहित एउटा लामो स्टाटस सार्वजनिक हुन्छ । जसको अन्तिम पाँच हरफमा लेखिएको हुन्छ, ‘यो दुनियाँ धेरै स्वार्थी छ । म आफ्नो इच्छाले यो कदम उचालेकी छु र कसैलाई दोष छैन । कसैले खोजी नीति पनि नगर्नु । मलाई पोस्टमार्टम पनि नगर्नु, मसित पैसा छैन ।

थोरै सुन छ, त्यो बेचेर पैसा मेरो छोरालाई दिनु । घरबेटीहरूलाई कसैले केही नगर्नु । अरसलाई पनि कसैले केही नगर्नु र मेरो लास जसरी हुन्छ घरसम्म पु¥याइदिनु । अप्ठ्यारोमा मेरो छोरालाई हेरिदिनु । छोरा, चिन्ता नगर्नु है । मेरी आमा सानैमा मरेको हो भनेर मन बुझाउनु । सबैले मलाई कायर भन्नुहुन्छ होला । तर मलाई बाँच्न अति गाह्रो भयो । कति वेला के हुन्छ थाहा छैन मेरो जीवन र..’

सुसाइड नोटजस्तो देखिने स्टाटससँग सार्वजनिक गरिएको टिकटक भिडियो पनि उस्तै मार्मिक छन् । दुईवटा भिडियोमा दिलमाया रोइरहेकी छन् । दुईवटा भिडियोमा उनकै दोहोरी गाइरहेको भिडियो छ । अन्य भिडियोमा पनि उनी जीवनदेखि विरक्तिएको देखिएकी छन् । शनिबार बिहानसम्म उनको स्टाटसले एउटा तरंग पैदा गर्यो । उनका नजिकका मान्छेले खोजी नीति गर्दै उनको डेरासम्म पुग्दा दिलमायाले संसार छोडिसकेकी थिइन् । उनको शरीर बिस्तारामा लडिरहेको थियो ।

लोकदोहोरी गायिकाको रूपमा चिनिन चाहेकी दिलमायाले लामो समय दोहोरी साँझमा दोहोरी गाइन् । सानै उमेरमा विवाह भएर, छोटो समयमै श्रीमान्सँग अलग्गिएर बसेकी उनी आफू र छोराको जीवन सहज बनाउने आशामा दुईपटक विदेश पनि गइन् । विदेशमा सोचे जस्तो काम र कमाइ नभएपछि उनले नेपाल आएर दोहोरी साँझमा काम गर्न थालिन् । अब बाँचुन्जेल यही पेशा गर्छु, आफू मरेपछि पनि बचिराख्नका लागि थोरै भए पनि गीत रेकर्ड गराउँछु भन्ने सोचेकी उनलाई कोरोनाका कारण भएको लकडाउनमा चरम आर्थिक संकट भएको थियो ।

लामो समयदेखि पाठेघर र मृगौलाको समस्यासँग जुध्दै आएकी उनी काठमाडौंमा एक्लै बस्थिन् । गत वर्ष लकडाउनकै समयमा बिमारले थला परेकी उनलाई केही व्यक्तिले आर्थिक सहयोग पनि गरेका थिए । धेरै वर्ष एक्लै बसेपछि पोहोर साल उनले दोस्रो विवाह गरेकी थिइन् । तर, विवाहपछि उनका श्रीमान्ले धेरै मानसिक तनाव दिने गरेको उनका नजिकका मान्छे बताउँछन् । विवाहपछि उनलाई काम गर्न पनि बन्देज लगाइएको थियो । पछिल्लो ६–७ महिनादेखि काम नगरी बसेकी उनले बीचमा पनि एकपटक आत्महत्याको प्रयास गरेकी थिइन् ।

प्रहरी घटनाको अनुसन्धानको क्रममा छ । शुक्रबार राति सार्वजनिक स्टाटस र भिडियोले आत्महत्याको संकेत गरे पनि दिलमायाको मोबाइल नभेटिनु, कोठाको चावी नभेटिनु, श्रीमान् राति अबेरसम्म कोठामा देखिनु र लासको अवस्थाले यो हत्या पनि हुन सक्नेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । दिलमायाले गत वर्ष तिहारमा राजु परियारसँग आफ्नो पहिलो गीत रेकर्ड गराएकी थिइन् भने केही महिनाअघि राष्ट्रिय लोकगीत प्रतिष्ठानमा आयोजनामा भएको दोहोरी प्रतियोगितामा दिलमाया उत्कृष्ट गायिकाको रूपमा पुरस्कृत भएकी थिइन् ।

प्रकाशित मिति : १२ असार २०७९, आइतवार १६:३५