हाम्रो समाजमा छोरीलाई देवी लक्ष्मीको प्रतिक मानिन्छ । तर वंश चलाउने निहुँमा छोरीलाई भन्दा छोरालाई नै महत्व दिएको पाइन्छ । समाजले धार्मिक, सामाजिक, साँस्कृतिक, राजनीतिक र आर्थिकरुपमा पनि छोरालाई नै बढी महत्व दिएको छ । यस्ता सामाजिक कुरिती र परिवारको दवावमा छोरी भएकै कारण गर्भभित्रै मारिने क्रम बढ्दै गएको छ ।
तिलोत्तमा नगरपालीका १ की पार्वती भण्डारीका २ सन्तान छन्, दुवै सन्तान छोरी हुन् । उनीहरु क्रमशः १० र ६ वर्षका छन् । उनकी कान्छी छोरी २०६६ सालकी हुन् । ०६६ साल यता भण्डारीले ४ पटक गर्भपतन गरिन् । त्यो पनि गर्भमा छोरी भएकै कारण । उनी भन्छिन्, ‘छोरा नभएकै कारण समाजमा हेपिइने भएको हुनाले गर्भ फाल्नु परेको हो ।’
उनी जस्तै तिलोत्तमा नगरपालीका १ की मीना क्षेत्रीको पिडा पनि उस्तै छ । उनकी ६ बर्षिकी छोरी छिन् । उनले पनि पटक पटक गरी ३ पटक सम्म गर्भपतन गरिन । उनी भन्छिन् छोरा नै पाउनुपर्छ पर्छ भन्ने परम्परागत सोचँका कारण र वशं चलाउन पनि छोरा नै चाहिन्छ भन्ने कारणले छोरी फालेको अनुभव सुनाउछिन् । छोरीछोरी मात्र जन्माएमा कुल नै मासिन्छ, छोरी भनेका अर्काको घरमा जाने र छोराले नै बुढेसकालमा पाल्ने जस्ता कारणले पनि छोरी फालेको उनी भन्छिन् ।
छोरा नै चाहिन्छ नत्र समाजले हेप्छ भन्ने पुरातनवादी सोँचका कारण पनि छोरी हत्या गर्ने क्रम बढेको हो । जति आदर्शका कुरा गरेपनि समाजमा ठुलाबडाहरुबाटै होचिइने गरेको अनुभव उनी सुनाउँछिन् । नेपालको सन्दर्भमा यकिन तथ्याङ्क नभए पनि यूएनएफपीएका अनुसार विश्वभर हरेक वर्ष करिव १६ करोड ३० लाख छोरी बेपत्ता हुन्छन् । चिकित्सा विज्ञानले भ्रुणको लिङ्ग पहिचान गर्ने प्रविधि विकास गरेसँगै जन्मपूर्व नै हत्या गरिने प्रवृत्ति मौलाउँदै गएको हो ।
यो नविनतम प्रविधिको दूरुपयोगले निम्तिएको समस्या मात्र नभई सामाजिक, साँस्कृतिक र आर्थिक समस्या पनि हो । लिङ्ग पहिचानपछि गरिने भ्रुण हत्याले महिला र पुरुषको अनुपातमा असन्तुलन समेत बढाउँदै लैजाने समाजशास्त्री डा गितु गिरीको विश्लेषण छ । उनले यसबाट सामाजिक संरचना, अपराध र जैविकरुपमा समेत गम्भीर खतरा बढदै गएको औँल्याएकी छन् ।
उनी भन्छिन्, ‘यो सामाजिक विकृति र विसंगति हो । पितृसत्तात्मक समाजको अवशेष हो ।’ १२ हप्ताभन्दा कम समयको भ्रुणको लिङ्ग पहिचान नगरी गर्भपतन गर्न वा गराउन कानुनले छुट दिएको छ । तर प्रविधिको विकाससँगै एम्निआटिक फ्लुडबाट ६ हप्तामै लिङ्ग पहिचान गर्न सकिन्छ । अल्ट्रासाउन्ड प्रविधिबाट १२ हप्ताभन्दा माथिको लिङ्ग पहिचान गर्न सकिन्छ । अधिकांश स्त्रीरोग बिशेषज्ञका क्लिनिकमा लिङ्ग छुट्याउने काम खुलेआम हुन्छ ।
गर्भमै पहिचान गरेर छोरी हत्या गर्नु अपराध भएको स्त्रीरोग बिशेषज्ञ डाः प्रायश्चित श्रेष्ठ बताउँछिन् । चिकित्सककै कारण भन्दा पनि सम्बन्धीत मानिसका कारण यो अपराध मौलाउँदै गएको उनी भन्छिन् । यो प्रवृति रोक्न अब चिकित्सकहरुले सेवाग्राहीहरुलाई मनोविज्ञानलाई बुझेर बदल्नु पर्ने उनको भनाई छ । प्रविधिले सजिलो पारेको अवस्था र सेवाग्राहीले चाहना राखिसकेको अवस्थामा यसलाई रोक्न चिकित्सकले मात्रै सक्छन् ।
समाजका जिम्मेवार नागरिक मानिने र सम्मानित पेशाका हिसावले चिकित्सकहरुले सबै कुरामा पैसा हेरेर मात्र हुँदैन । समाज प्रतिको दायित्व निर्वाह गर्नु र पेसाको दुरुपयोग गर्दिन भनेर खाएको सपथलाई आत्मसात् गर्नु चिकित्सकको कर्तब्य हो । तर समाजका मान्यता बदलिन सहज भने हुन्न । यसका लागि पहिलो प्रयास चिकित्सकबाटै हुने हो भने सामाजिक मान्यतालाई बदल्न सहज हुनेछ । अभिभावकको मनोविज्ञान चिकित्सकले नै बदल्न सक्छन् । यो दायित्व अब चिकित्सकको काँधमा आएको छ ।
मुुलुकी ऐनको गर्भपतन सम्बन्धी ब्यवस्था अनुसार कसैले गर्भवती महिलालाई करकाप, धम्की, ललाईफकाई वा प्रलोभनमा पारी गर्भपतन गराउन वा गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान हुने काम गर्नु गराउनु दण्डनीय हुन्छ । भ्रुणको लिङ्ग पहिचान गर्ने गराउनेलाई तीन महिनादेखि ६ महिनासम्म कैद सजाय हुन्छ । लिङ्का आधारमा गर्भपतन गर्ने गराउने दुबैलाई थप एक वर्ष कैद हुन्छ । तर अहिलेसम्म कोही पनि कानुनी दायरामा आउन सकेका छैनन् ।
कानुनका भरमा मात्र यस्ता अपराध रोकिन्छन् भन्ने हुन्न । यो त नैतिकता र दायित्वको सवाल हो । अर्को कुरा कानुन एवम् आचारसंहिता नियमक निकायले पनि कडा निगहरानी बढाउँदै लैजानु पर्छ । चिकित्सकको आचारसंहिता हेर्ने एक मात्र निकाय मेडिकल काउन्सिलमा आचारसंहिता उल्लंघन गर्ने चिकित्सकलाई कारवाही गरेको उदाहरण नहुनु गलत प्रवृत्तिलाई प्रश्रय दिनु सरह हो ।
।