सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुर–सुर्खेत विद्युत् प्रसारण लाइन

आयोजना निर्माण क्षेत्रमा पर्ने १३ हजार रुख काट्न अनुमति

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको काम अब अगाडि बढ्ने भएको छ ।

सङ्घीय सरकारले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेपछि निर्माणको बाटो खुलेको हो ।

२०४५ सालमा सुर्खेतमा विस्तार गरिएको ३३ केभी प्रसारण लाइनले हालको विद्युत् माग धान्न नसकेपछि कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य अगाडि बढाइएको थियो ।

तर प्रसारण लाइनको बीच खण्डमा बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज पर्ने भएकाले प्रसारण लाइन निर्माणका लागि रुख कटान अनुमति नहुँदा आयोजना लामो समयदेखि अघि बढ्न सकेको थिएन ।

प्रसारण लाइनको ५२ किलोमिटरमा पर्ने १३ हजार ५६ वटा रुख काट्नुपर्ने आयोजना कार्यालयले जनाएको छ । प्रसारण लाइन निर्माण क्षेत्रमा पर्ने रुख कटानको प्रक्रिया पूरा गर्न आगामी कात्तिकसम्म लाग्न सक्ने आयोजना प्रमुख रवि चौधरीले बताए ।

आयोजना क्षेत्रमा पर्ने सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, भेरीगङ्गा नगरपालिका र लेकबेँसी नगरपालिका, बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज, बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका क्षेत्रभित्रका रुख कटान गरिने आयोजना प्रमुख चौधरीले बताए ।

कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनको लागत एक अर्ब ८० करोड रुपैयाँमध्ये भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ठेक्कामार्फत ७० करोड रुपैयाँमा जिम्मा लिएको आयोजनाले जनाएको छ ।

यो निर्माण कम्पनीले सो रकम टावर निर्माण र तार तान्ने कार्यमा खर्च गर्नेछ । मुआब्जाको रकम भने आयोजनाले छुट्टै बेहोर्ने बताइएको छ । कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनको विवाद नभएका क्षेत्रमा हालसम्म ४० वटा टावरका लागि जग निर्माण गरि सकिएको छ ।

आयोजना प्रमुख चौधरीले भने, ‘वन क्षेत्रको समस्या समाधान नहुँदा अलमलजस्तै भएको थियो । तर सरकारले वन क्षेत्र प्रयोग गर्न दिने अनुमति दिएसँगै गाभरको समस्या समाधान गरेर प्रसारण लाइन विस्तारलाई तीव्र पार्छौं ।’ चौधरीका अनुसार अबको करिब १५ महिनापछि सुब्बाकुना सबस्टेसनमा विद्युत् चार्ज गर्ने लक्ष्य लिइएको छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार ०८:१७