सूचनाको शक्ति - The Power Of Information

        

वन्यजन्तुको कन्तविजोग

उफ् खडेरी ! शुक्लाफाँटाका वन्यजन्तुलाई बोरिङबाट पानी

‘केही बर्षयता खडेरी बढ्दै गएपछि वन्यजन्तुका लागि कृत्रिमताल निर्माण गरी बोरिङबाट पानी आपूर्ति गर्न थालिएको छ ।’

पूर्वमा बर्सातसँगै बाढी आइसक्यो । तर, असारको दोस्रो साता लागि सक्दा पनि पश्चिममा खडेरी नै छ । खडेरीसँगै उखरमाउलो गर्मीले गर्दा मानिसमात्रै नभएर वन्यजन्तुको कन्तविजोग भएको छ । त्यसैले कञ्चनपुर जिल्लास्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले यतिबेला सोलार जडित बोरिङको पानीले तिर्खा मेटाइरहेको छ ।

बर्सेनी निकुञ्जभित्रका प्राकृतिक पानीका स्रोत सुक्दै गएपछि यस्तो विकल्प अपनाइएको हो । ‘वर्षा नहुँदा यहाँका तालहरू सुक्दै गएको छ । त्यसैले कृत्रिम तालमा वन्यजन्तुका लागि बोरिङबाट पानी भर्ने गरेका छौं,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले भने, ‘केही बर्षयता खडेरी बढ्दै गएपछि वन्यजन्तुका लागि कृत्रिमताल निर्माण गरी बोरिङबाट पानी आपूर्ति गर्न थालिएको छ ।’

विश्वकै दुर्लभ बाह्रसिङ्गाको प्रमुख बासस्थानका रुपमा चिनिने शुक्लाफाँटा भित्र वन्यजन्तुलाई प्राकृतिक स्रोत सुक्दै गएपछि पानीको अभाव हुँदै आएको छ । निकुञ्जका विभिन्न ठाउँमा वन्यजन्तुलाई अनुकुल हुनेगरि कृत्रिम तालमा सोलार जडित बोरिङबाट पानी भर्ने गरिन्छ । गर्मीयाममा मात्रै नभई हिउँदमा पनि यहाँ निर्मित तालमा बोरिङबाट पानी भर्ने गरिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जमा वन्यजन्तुका निम्ति करिब डेढ दर्जन कृत्रिम ताल निर्माण गरिएका छन् । जसमा आधा दर्जन बढीमा सोलार जडित बोरिङबाट नियमित पानी भर्ने गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत महतोले जानकारी गराउँदै भने, ‘असार दोस्रो हप्ता भैसक्यो । वर्षा शुरु भएको छैन । यति लामो खडेरीले पानीका स्रोत नै सुकिसकेका छन् ।’ यसअघि डिजेलबाट बोरिङ सञ्चालन गरि तालमा पानी भर्ने गरिएको थियो ।

खडेरी बढ्दै गएपछि वन्यजन्तुका लागि कृत्रिमताल निर्माण गरी बोरिङबाट पानी आपूर्ति गर्न थालिएको छ । ‘केही नदीनाला पनि छन् । तर, वन्यजन्तुको चाप र सहजताका लागि कृत्रिम तालमा यसरी पानी भर्नु परेको छ । प्राकृतिक ताल बर्सेनि पुरिदै गएको अवस्था छ ।’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत महतोले भने, ‘विभिन्न ठाउँमा रहेका प्राकृतिक तालको अवस्था दयनीय छ । रानी ताल, सिलगौँडी ताल, कालिकिच ताल र तारा तालले सुक्दै र पुरिदै गएका छन् ।’

३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जको प्रमुख तालका रुपमा रहेको रानी ताल आफ्नो अस्तित्व गुमाउँदै गएको छ । केही पटक निकुञ्ज प्रशासनले तालको सरसफाइ गरेपनि बर्सेनि पुरिने क्रम रोकिएको छैन । प्रमुख संरक्षण अधिकृत महतोले थपे, ‘निकुञ्जभित्रका तालमध्ये रानी ताल सङ्कटमा छ । ताल सरसफाइका लागि आन्तरिक बजेटले सम्भव छैन । करोडौँ रकम चाहिन्छ ।’

विभिन्न दुर्लभ प्रजातिका माछा, गोहीसँगै चराको बासस्थान समेत रहेको रानी ताल अहिले नर्कटले भरिएको छ । रानी तालपछिको ठुलो बाबा तालको पहिलो पटक गत वर्ष सरसफाइ भइरहेको थियो । हात्ती र हावाहुरीले क्षति पुर्याएको बाबा तालमा जडित सोलार प्यानल पुनः सञ्चालनमा ल्याउँदा तालमा बोरिङले पानी भर्ने कामले निरन्तरता पाएको छ । आधा दशकयता विश्वमै दुर्लभ बन्यजन्तुको प्रमुख बासस्थान शुक्लाफाँटाका बन्यजन्तुले पानीको समस्या भोग्दै आएका छन् ।

निकुञ्जभित्र रहेका पानीका स्रोत र बाहिरबाट जाने नदीनालामा गर्मीयाम अगावै पानीको स्तर घट्दै जान थालेपछि शुक्लाफाँटाभित्र रहेका बन्यजन्तुले चर्को गर्मीमा तिर्खा मेटाउन कृत्रिम रूपमा तानिएको पानीको भर पर्नुपरेको हो । विश्वमै दुर्लभ बाह्रसिङ्गाको प्रमुख वासस्थानसँगै यहाँ पाटे बाघ, एक सिङ्गे गैंडा, संकटापन्न कृष्णसार, हात्ती लगायतका दुर्लभ वन्यजन्तु तथा ४२४ प्रजातिका चरासँगै सयौँ चराचुरुङ्गी, जलचर लगायतको वासस्थान छ ।

अहिले यहाँभित्रका नदीनाला मध्ये अधिकाशं सुकिसकेका छन् । निकुञ्जाभित्रका प्राकृतिक तालहरूको बर्षैदेखि संरक्षण सम्बद्र्धन नहुँदा पुरिने र सुक्ने क्रम जारी छ । निकुञ्ज प्रशासनले बजेट अभाव देखाउँदै केहि साना ताल बाहेकको जलकुम्भि हटाउन सकेको छैन । निकुञ्ज प्रशासनले तीन हजार भन्दाबढीको संख्यामा रहेका बाह्रसिगेंसँगै अधिकाशं दुर्लभ वन्यजन्तुको प्रमुख वासस्थान रहेको शुक्लाफाँटा घाँसे मैदानमा मात्रै चार–पाँच वटा कृत्रिमताल निर्माण गरेको छ । जसमा नियमित पानी भर्ने गरिन्छ ।

विभिन्न स्थानमा कृत्रिम ताल निर्माण गर्दा त्यसले वन्यजन्तुलाई पानी पिउन सजिलो भएको छ । प्रमुख संरक्षण अधिकृत मेहताले थप ताल निर्माण गरेर सोलार बोरिङका लागि सम्बन्धित निकायमा माग गरिएको जानकारी दिए । विगतमा सधैँजसो पानी रहने निकुञ्जका तालहरूमा केही बर्षयता जलस्तर घट्ने र सुक्ने क्रम देखिएको हो । लामो खडेरी र तालहरूको नियमित सरसफाइको अभावमा यस्तो समस्या आएको छ । यहाँका ताल पुरिदै जाँदा निकुञ्जको सुन्दरतासँगै सिमसार क्षेत्रमा पाइने वन्यजन्तु लोप हुने खतरा समेत बढेको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार १४:४९