सूचनाको शक्ति - The Power Of Information

        

स्वःमूल्याङ्कनमा डुडुवा यस वर्ष पनि प्रथम

डुडुवा गाउँपालिका संस्थागत क्षमता स्वःमूल्याङ्कनमा राम्रो अंक ल्याएर यस वर्ष पनि बाँके जिल्लामै पहिलो भएको छ ।

स्थानीय तह संस्थागत क्षमता स्वःमूल्याङ्कन डुडुवा गाउँपालिकाले ५९ अंक प्राप्त गरेको छ । स्थानीय तह संस्थागत क्षमता स्वःमूल्याङ्कन कार्यविधि २०७७ अनुसार डुडुवा गाउँपालिका जिल्लाकै पहिलो भएको हो ।

बाँकेका ८ वटै स्थानीय तहहरुको मूल्याकंनमा डुडुवाको सबै भन्दा बढी अंक आएको हो । जिल्ला समन्वय समिति बाँकेमा आयोजित एक कार्यक्रममार्फत मूल्याकनकर्ता चानक्य अधिकारीले जिल्लाका सबै पालिकाको अंकसहितको नतिजा घोषणा गर्नुभएको थियो ।

स्वःमूल्याङ्कन विषय क्षेत्रहरुमा पालिकाको शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पुर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य तथा समन्वय लगायत १० विषय क्षेत्र अन्तर्गत एक सय सूचकलाई विश्लेषण गरि अंक प्रदान गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो ।

उहाँका अनुसार स्वःमूल्याङ्कन अंक बढी आउनु भनेको कार्यालयको काम काज तथा प्रक्रिया व्यवस्थित रहेको देखाउँछ ।
गतवर्ष पनि डुडुवाले स्वमूल्याङ्कनमा ६६.७५ प्रतिशत अंक प्राप्त गरि पहिलो भएको थियो ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार ०७:३४