बाँके जिल्लामा केही समयअघि भएको रगतको अभाव अहिले टरेको छ । जिल्ला रेडक्रसको आह्वानमा रक्तदाता स्वयंसेवकको सङ्ख्या दिन–प्रतिदिन बढ्दै गएपछि रगतको अभाव टरेको हो ।
‘हामीले जिल्लाका विभिन्न सामाजिक तथा पेशागत संस्थालाई आग्रह गरेपछि रक्तदाताको सङ्ख्या बढेको र अहिले अभाव पनि टरेको छ,’ जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत नरेश श्रेष्ठले भने ।
उनका अनुसार केन्द्रले सङ्कलन गर्ने रगतमध्ये ८८ प्रतिशत संस्थागत तथा बाँकी व्यक्तिगत स्वयंसेवकको रहेको छ । रेडक्रसको नेपालगन्ज र कोहलपुरस्थित रक्तसञ्चार केन्द्रले आवश्यक पर्ने बिरामीका लागि दैनिक सरदर ८० पिन्ट रगत उपलब्ध गराउँदै आएको छ ।
अस्पतालहरूमा बिरामीको चाप कम भएका कारण रगतको माग पनि घटेको अधिकृत श्रेष्ठले बताए । यस्तै रगतको अभावमा कुनै पनि बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यले स्वयंसेवकको सङ्ख्या अझ वृद्धि गर्न जिल्ला रेडक्रसले प्रचारमुखी अभियान पनि सञ्चालन गर्दै आएको छ ।
रासस । बाँके ।