सूचनाको शक्ति - The Power Of Information

        

सत्ता गठबन्धनमा खटपट, माओवादी मन्त्रीहरुले गरे प्रधानमन्त्रीको आलोचना

काठमाडौं । एमाले र माओवादी मिलेर बनेको सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । माओवादीबाट मन्त्रीहरुले प्रधानमन्त्री केपी ओलीको आलोचना गरेका छन् । उनीहरुको असन्तुष्टी सचिवहरुको हेरफेरको विषयमा केन्द्रित छ ।
प्रधानमन्त्रीले एकलौटी ढंगबाट सचिवहरुको सरुवा गरेकोमा माओवादीका मन्त्रीहरुले आलोचना गरेका हुन् । माओवादी केन्द्रका मन्त्रीहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग सामूहिक भेटगरी प्रधानमन्त्री ओलीले सचिवहरुको सरुवामा एकलौटी निर्णय लिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
दाहाल निवास खुमलटारमा सोमबार बिहानै पुगेका माओवादी केन्द्रका मन्त्रीहरुले सचिवहरुको सरुवा गर्ने विषयमा सत्ता साझेदार दलसँग समेत छलफल नगरेको गुनासो समेत गरेका थिए । सचिव सरुवाको विषयमा क्याबिनेटमा समेत छलफल नगरिएकोमा मन्त्रीहरुको गुनासो रहेको पार्टीका प्रवक्ता पम्फा भुसालले स्विकार गरिन् ।
उनले राजनीतिक सहमतिकै आधारमा सचिव सरुवा गरेको भए उपयुक्त हुने धारणा मन्त्रीहरुले पार्टी नेतृत्वसँग राखेको बताइन् । प्रधानमन्त्री ओलीले भारत भ्रमणमा जानुअघि विहिबार बेलुका ३० जना सचिव सरुवा गरेका थिए । सोही विषयमा परामर्श समेत नगरिएको माओवादी केन्द्रका मन्त्रीहरुको गुनासो छ ।
भेटमा मन्त्रीहरुले सरकारको कामकार्वाहीलाई प्रभावकारी बनाउने विषयमा पनि पार्टी अध्यक्षसँग परामर्श गरेका थिए । जनताको आकांक्षा सम्बोधन हुनेगरी मन्त्रालयको कामलाई प्रभावकारी बनाउने विषय र बजेटका विषयमा पनि छलफल गरिएको प्रवक्ता भुसालले जानकारी दिइन् । यता, अध्यक्ष दाहालले भने २ दलबीच एकता प्रक्रिया अन्तिम चरणमा पुगेकाले सोही अनुसार अघि बढ्न पनि पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई सचेत गराएका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलवार ०८:००