सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय सरकार

८८ करोड ३१ लाख ४८ हजारको बजेट ल्याउँदै राप्तीसोनारी

बाँकेको राप्तीसोनारी गाउँपालिकाको ११ औं गाउँसभाको तयारी तीब्र पारिएको छ । भोलि असार १० गते शुक्रबार दिउँसो १ बजे गाउँसभाको तयारी गरिएको अध्यक्ष तप्तबहादुर पौडेलले जानकारी दिए ।

‘हामी गाउँसभा गर्ने तयारीमा जुटिसकेका छौं, गाउँसभामा प्रस्तुत गर्ने बजेट बारेको छलफल अन्तिम चरणमा पुगेको छ,’ उनले भने । उक्त सभामा अध्यक्ष पौडेलले आगामी आर्थिक वर्ष २०७९–०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

यस्तै उपाध्यक्ष मनिषासिंह थारुले आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । ‘गाउँसभाको तयारीकै लागि हामी निरन्तर कार्यपालिका बैठकमा छौं, कहाँ कति बजेट विनियोजन गर्ने भन्नेबारे कार्यपालिका बैठकमा छलफल भएको छ,’ उपाध्यक्ष थारुले भनिन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीका अनुसार आर्थिक वर्ष २०७९–०८० का लागि ९ वटै वडामा १५ करोड ३० लाख रुपैयाँको बजेट सिलिङ पठाइएको छ । मापदण्ड नै बनाएर वडामा १ करोड ६० लाखदेखि १ करोड ९० लाख रुपैयाँसम्म बजेट छुट्याइएको छ ।

यसैगरी गाउँपालिकाले खर्च गर्ने बजेट ३५ करोड ४६ लाख ४८ हजार रुपैयाँ गरी कुल ८८ करोड ३१ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट ल्याउने तयारी रहेको प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताए । गाउँसभामा सभाध्यक्षसहित ४७ जना सदस्य सहभागी हुने जनाइएको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार ०६:४५