सूचनाको शक्ति - The Power Of Information

        

अर्का नायब सुब्बामाथि अकुत सम्पत्ति आर्जनको अभियोग

एकपछि अर्का नायब सुब्बाले भ्रष्टाचारबाट ‘अकुत’ सम्पत्ति जोडेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको छ ।

केही दिनअघि चार वर्षमै ६ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा नायब सुब्बालाई मुद्दा चलाएको अख्तियारले फेरि अर्का नायब सुब्बाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा चलाएको छ ।

अख्तियारले जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत तत्कालीन नायव सुब्बा गणपति झाविरुद्ध २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा चलाएको छ । झा र उनको परिवारसँग ४ करोड ८७ लाख ३८ हजार २१० रुपैयाँ सम्पत्ति भएको तथ्यांक आयोगले सार्वजनिक गरेको छ ।

तिनीहरुसँग भएको सम्पत्तिको २ करोड ४२ लाख ६७ हजार १ सय ४ रुपैयाँको स्रोत खुलेको छ । आयोगले स्रोत खुलाउन नसकेको सम्पत्तिलाई जागिरकालमै भ्रष्टाचारबाट आर्जित गरेको ठहर गर्दै मुद्दा लगाएको हो ।

आयोगले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिमध्ये श्रोत नखुलेको १ करोड ७५ लाख १३ हजार ३२३ रुपैयाँ मूल्य बराबरको सम्पत्ति तथा त्यही सम्पत्तिमध्ये आंशिकरुपमा श्रोत खुलेको ६३ लाख ७३ हजार ५५५ मूल्य बराबरको सम्पत्ति, बाँकी अपुग बिगो निज गणपति झाको नाममा रहेको नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेडको मौज्दातबाट ५ लाख ८४ हजार २२६ समेतबाट जफतको माग दाबी लिएको छ ।

गणपति झाले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति र त्यसबाट बढे–बढाएको सम्पत्तिका मालिक पत्नी मीनादेवी झा, छोराहरु दिवाकरकुमार झा, शिवाकरकुमार झा र करुणाकर कुमार झालाई पनि प्रतिवादी बनाएको छ । आयोगले तिनीहरुको नाममा रहेको सम्पत्ति पनि जफतको माग गर्दै भ्रष्टाचार मुद्दा लगाएको हो ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार १७:०८