सूचनाको शक्ति - The Power Of Information

        

पर्यटनमा उल्झन

तीन बर्षदेखि मानसरोवर यात्रा प्रभावित

कोभिड–१९ का कारण चीनबाट भिसा नपाउने भएपछि लगातार तेस्रो वर्ष पनि मानसरोवर यात्रा प्रभावित भएको छ ।

फाइल तस्वीर

नेपालगन्जका होटलहरुमा तीन वर्ष अघिसम्म यतिबेला भारतीय पर्यटकको भीडभाड हुन्थ्यो । होटलमा कोठा पाउन मुश्किल थियो । नेपालगन्ज, कोहलपुर र आसपासका होटल भारतीय पर्यटकले भरिएका हुन्थे ।

नेपालगन्ज हुँदै कैलाश मानसरोवर तीर्थाटन गर्न जान आएका भारतीय पर्यटकका कारण यहाँका होटल भरिभराउ हुन्थे । ठूला होटलहरु सुनसान छन् । अघिल्ला दुईबर्ष कोभिड–१९ का कारण आवागमन अवरुद्ध भएपछि मानसरोवर यात्रा पनि प्रभावित भएको थियो ।

अहिले कोभिड संक्रमण न्यून भएर जनजीवन सामान्य भए पनि मानसरोवर यात्रामा जाने भारतीय पर्यटकहरु आएका छैनन् । पर्यटन ब्यवसायी केशव न्यौपानेले चिनियाँ पक्षले कोभिड–१९ पछि प्रवेश अनुमति नदिएपछि यसवर्ष पनि मानसरोेवर यात्रा प्रभावित भएको जानकारी दिए ।

‘तीन बर्षदेखि भारतीय तिर्थयात्रीहरु आउनुभएको छैन,’ होटल सिद्धार्थ भ्यूका प्रबन्ध निर्देशक न्यौपानेले भने, ‘कोभिड–१९ का कारण चीनबाट भिसा नपाउने भएपछि लगातार तेस्रो वर्ष पनि मानसरोवर यात्रा प्रभावित भएको छ ।’

उनका अनुसार चीनबाट भिसा नपाउने भएपछि अबको दुई महिनाभित्रै हुम्लास्थित नेपाली सीमाक्षेत्र लिमी उपत्यकाबाटै मानसरोवर दर्शन गराइनेछ । त्यसका लागि पर्यटन ब्यवसायीहरुले आन्तरिक र बाह्य तयारी गरिरहेका छन् ।

मानसरोवर जानका लागि भारतीय तिर्थयात्रीले मुख्य रुपमा प्रयोग गर्ने नेपालगन्ज विमानस्थल हो । निजी वायुसेवा कम्पनी सिता एयरका सूर्य भण्डारीले यसबर्ष अहिलेसम्म भारतीय पर्यटक मानसरोवर यात्राका लागि नआएको बताए ।

नेपालगन्जका होटल व्यवसायी भिमलाल कँडेलका अनुसार मानसरोवर जाने उपयुक्त समय हरेक बर्षको वैशाखदेखि भदौसम्म हो । कैलाश मानसरोवर भ्रमणका लागि आउने भारतीयको संख्या विगतमा अत्याधिक बढेपछि यहाँ होटल तथा अन्य व्यवसाय फस्टाएको थियो ।

पछिल्लो समय पर्यटकको संख्यासँगै स्तरीय होटलसमेत बढेका छन् । मानसरोवर यात्रा पाँच महिनासम्म चल्ने गरेको छ । नेपालगन्ज उपमहानगरपालिकामा मात्रै १५ सय बढी होटल सञ्चालनमा रहेको होटल व्यवसायी संघ बाँकेले जनाएको छ ।

बाँकेमा तीन हजारबढी होटल सञ्चालनमा छन् । मानसरोवर यात्रीलाई लक्षित गरि बाँकेमा होटल सोल्टी, वेस्टेन्ड प्रिमियर, सिद्धार्थ भ्यू, स्टारलाइट, बाटिका, स्नेहा, सिटी प्यालेस, सिग्नेट इन कृष्णा, भेरी, कल्पतरु र सेन्टर प्लाजा लगायत तारे होटल समेत सञ्चालनमा छन् ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार ११:४९