सूचनाको शक्ति - The Power Of Information

        

आमा सांसद, छोरालाई जेलमै बसेर सरकारी भत्ता

सवारी ज्यान मुद्दामा जेल चलान भएका प्रदेश १ का प्रदेश सांसद बिन्दिया कार्कीका छोरा ‘रोबिन’ले प्रहरी हिरासतमै रहेर सरकारी तलबभत्ता बुझेका छन् ।

मापसे गरी सवारी चलाएको ठहरसहित २ हजार जरिवाना र ६ महिना १५ दिनको जेल सजाय पाएका रोबिन भनिने रविनसिंह कार्कीले प्रहरी हिरासतमै रहेर पनि सरकारी सेवा सुविधा बुझेका हुन् ।

प्रदेशसभा सदस्यको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी ऐनमा पनि हरेक प्रदेशसभा सदस्यले राजपत्र अनंकित प्रथम श्रेणी (नासु) सरहको तलब पाउने गरी स्वकीय सचिव नियुक्त गर्न पाउने व्यवस्था छ ।

सोही ऐनबमोजिम स्वकीय नियुक्त भएका रोबिनले प्रहरी हिरासतमा रहेर आर्थिक वर्ष २०७७–०७८ र ०७८–०७९ मा गरी कुल ७ लाख ७७ हजार ३४८ रूपैयाँ बुझेका छन् ।

२०७८ जेठ २० गते बिहीबार राति करिब साढे ७ बजे रोबिनले चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले दुई पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट भारत बस्ने वर्ष ३५ का मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका–२ का २७ वर्षीय राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए ।

अभियोग दर्ता र माग दाबीको आधारमा जेठ २६ गते प्रतिवादी उपर जिल्ला अदालतमा बयान पश्चात थुनछेक बहस भएको थियो ।

बहस सकिएपछि सवारी ज्यान मुद्दाका आरोपी रबिनसिंह कार्की पुर्पक्षका लागि जेल चलान भएका थिए ।

पुर्पक्षका लागि जेल चलान भएका रोबिनलाई जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले गएको २०७८ असोज १३ गते मादक पदार्थ सेवन गरी सवारी चलाएको ठहरसहित ३ वर्ष कैद र ३५ हजार हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलवार ०९:२३