सूचनाको शक्ति - The Power Of Information

        

संस्कृति

हजयात्रीको भिसा आयो, बाँकेबाट धेरै

बाँकेबाट सबैभन्दा धेरै ८५ जना हजयात्रामा जान पाउनेछन् ।

फाइल तस्वीर

यस वर्ष नेपालबाट हजयात्रामा जाने मुस्लिममा सबैभन्दा बढी बाँकेबाट हुने भएको नेपाल हज समितिले जनाएको छ ।

नेपाल हज समितिका केन्द्रीय अध्यक्ष शमशेर मियाँले दिएको जानकारी अनुसार यस वर्ष हजयात्राका लागि भिसा प्राप्त गर्ने मुस्लिममध्ये सबैभन्दा बढी बाँके जिल्लाका ८५ जना छन् ।

कोभिडका कारण गत दुई वर्ष नेपालबाट हजयात्राका लागि कोही पनि नपठाइएको जनाउँदै अध्यक्ष मियाँले यो वर्ष ५२१ जनालाई मात्र हज गर्नका लागि साउदी सरकारले अनुमति दिएको बताए ।

हज समितिका अनुसार ती ५२१ हजयात्रीमध्ये बाँकेबाट सबैभन्दा धेरै ८५, सुनसरीबाट ७९, कपिलवस्तुबाट ७६, रुपन्देहीबाट ६१ र पर्साबाट २६ जना छन् । यसैगरी सुर्खेतबाट ६, बर्दिया र दाङबाट ५–५ जना हजयात्रामा जान पाउनेछन् ।

यसैगरी काठमाडौँ, सिराहा, सप्तरी, मोरङ, धनुषा, पूर्व र पश्चिम नवलपरासी, महोत्तरी, बारा, सर्लाही, गोरखा, झापा, दाङ, स्याङ्जा, अर्घाखाँची, पाल्पा, कास्की, तनहुँबाट पनि हजयात्रामा जानेहरू छन् ।

मुस्लिम बहुल क्षेत्र भएकाले बाँकेबाट हजयात्रामा जानेहरू सबैभन्दा बढी भएको समितिले जनाएको छ । देशभरिका हजयात्री पाँच चरणमा असार ६ गतेदेखि १० गतेसम्म मक्का मदिनाका लागि प्रस्थान गर्ने अध्यक्ष मियाँले बताए ।

उनले यस पटक कोभिडका कारण साउदी सरकारले हजयात्रीका लागि विशेष व्यवस्था गरेको र कोभिड नियमको पालना गरेकाले हजयात्राका लागि लाग्ने हरेक शुल्कमा वृद्धि गरिएकाले हजयात्रा महँगो भएको बताए ।

हज समितिले आफ्नोतर्फबाट गर्न सक्ने हवाई जहाजको टिकट भने गत वर्षभन्दा कममा लिएर हजयात्रीलाई सहुलियत दिएको जनाउँदै अध्यक्ष मियाँले तर साउदी सरकारले तोकेको शुल्कमा केही गर्न नसकिएको बताए ।

यस वर्ष प्रतिहजयात्रीले चार लाख ६३ हजार रुपियाँ तिर्नुपरेको छ । दुई वर्ष पहिले तीन लाख रुपैयाँभित्रै हजयात्रा हुने गरेको थियो ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार १४:५३