नेकपा एमालेले केही दिनअघि मुलुकभरका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम राखेको थियो । जनताको काम छोडेर देशैभरका जनप्रतिनिधिहरु सहभागी भए । यो अवधिमा कति आमनागरिकको जन्मदर्ता सिफारिस गर्नुपर्ने थियो होला । कतिपयको विवाह दर्ता, नागरिकता आदि महत्वपूर्ण काम गर्नुपर्ने थियो होला । तर, जनप्रतिनिधिहरु सबै कामकाम छाडेर एमालेका अध्यक्ष केपी शर्मा ओलीको मुख हेर्न आए ।
यिनीहरुले यहाँबाट पनि कमाउने राम्रो ठाउँ पाएका छन् । १० हजार खर्च भयो भने एक लाखको बिल बनाएर खान्छन् । कतिपय जनप्रतिनिधि सरकारी गाडी नै लिएर प्रशिक्षणमा सहभागी हुन आएका थिए । दिउँसो ओलीले प्रशिक्षण दिने कार्यक्रममा सहभागी भए । बेलुका सोही गाडी लिएर दोहोरी साँझ र रेष्टुरेण्ट धाए । रमाइलो गर्न र दारु पिउनका निम्ति सरकारी गाडीको प्रयोग गरियो । चालकले दिनभर कार्यकर्ता ओसारेर भ्याएनन् ।
यसरी सरकारी गाडीको दुरुपयोग गर्ने एमालेका जनप्रतिनिधिलाई प्रधानमन्त्री शेरबहादुर देउवामा कारबाही गर्न सकेनन् । उता, ट्राफिक प्रहरी महाशाखा पनि आफ्नो जिम्मेवारीबाट पछि हट्यो । सरकारी गाडीहरु बिदाको दिन पनि मस्त गुडिरहेको भेटिन्छन् । बिना पास छुट्टीको दिन सरकारको सम्पत्ति दुरुपयोग गर्दा पनि मातहतका निकाय टुलुटुलु हेरेर बस्छ । तरकारी किन्न र रासन ओसार्न पनि सरकारी गाडीकै प्रयोग गरेको पाइन्छ ।
भट्टी पसल बाहिर पनि सरकारी गाडी थुप्रै देखिन्छन् । पहिले ‘बा’ भनेर ओलीलाई सत्कार गर्नेहरु अहिले उनीदेखि नै आजित भइसकेका छन् । उनको आवाज सुन्यो कि जनता र कार्यकर्ता सबैलाई वाक्क दिक्क लागेर आउँछ । केही दिनअघिको कुरा हो, सांसद्मा ओलीले बसेरै तीन घण्टा लामो भाषण सुनाए । ‘अर्थ न वर्थको’ भाषण सुनेर संसदभित्र हाइ काढ्न सुरु भइसकेको देखिन्थ्यो । उता, एमालेकै नेताहरु मस्त निद्रामा परेका थिए ।
अस्तीको प्रशिक्षण कार्यक्रममा पनि उही हालत देखियो । जनप्रतिनिधिहरु सबै निदाइसकेका थिए । ओली एक्लै बर्बराउँदै थिए । अब ओलीले मेरो भाषण काम नलाग्ने भइसकेछ भनेर बुझ्न जरुरी देखिएको छ । आफ्नै कार्यकर्ताले त उनको आवाज सुन्न चाहँदैनन् भने जनताबाट त अपेक्षा नराख्नु नै बेस होला । अहिले एमालेभित्रै ओलीको विरोध गर्नेहरु जन्मिएका छन् । ओलीले पार्टीको अध्यक्षबाट राजीनामा दिनुपर्छ भनेर पटकपटक मुद्दा उठिरहेको छ ।
प्रायःजसो एमालेका नेताहरु अप्रत्यक्ष रुपमा ओलीले पार्टी छोड्नुपर्छ भन्ने संकेत दिइसकेका छन् । आफ्नै पार्टीकाले नरुचाउँदा पनि ओली पार्टी छोड्न तयार छैनन् । एमाले बचाउनका निम्ति पनि ओलीको राजीनामा जरुरी भन्ने थालेका छन् । स्थानीय चुनावभन्दा अघि ओलीको हाइफाइ धेरै थियो । आफ्नो पार्टी पहिलो हुन्छ भनेर उनले धेरै घमण्ड गरे । तर, मतपरिणाम पछि उनको फाइफुट्टी घटेको छ । उखानटुक्का भन्ने क्रम पनि केही हदसम्म घटेको छ ।
उखानटुक्का कै कारणले प्रधानमन्त्री भएका व्यक्तिसँग के योजना हुनसक्छ ? उनी देश चलाउन नसकेका प्रधानमन्त्री हुन् । एउटा वडाध्यक्ष बन्ने क्षमता नभएका व्यक्ति उखानटुक्काका कारण त्यहाँसम्म पुग्नु भनेको ठूलो कूरा हो । ओलीकै घमण्डले गर्दा आज एमाले फुटेर टुक्राटुक्रा भएको छ । एमाले विभाजित हुँदा स्थानीय चुनावमा पार्टीले नराम्रो हार खेप्नुपरेको थियो । अब आउने संसदीय चुनाव र प्रदेश चुनावमा ओलीको हाल झनै बेहाल हुने देखिन्छ ।
एमालेले धेरै सिट गुमाउने अड्कलबाजी लगाउन थालिएको छ । एमालेबाट चुनाव जितेका जनप्रतिनिधिहरु प्राय कलिलै छन् । बाँकी भएजति सबै ठेकेदार र दलाली हुन् । यिनीहरुले के काम गर्लान् ? विकासको योजना यिनीहरुसँग छ । एमालेले नौ महिना संसद् अवरोध गर्यो । यत्रो महिनासम्म एमालेले सरकारलाई रत्तीभर सहयोग गरेन । विद्येयक चाहिँ पारित गर्न दिएन, तर तलब भत्ता र सेवा सुविधा भने लिइरह्यो ।
यस्तो लज्जास्पद काम गरे एमालेका संसदले । यता, बजेट पारित हुने दिन एमालेका सांसद्हरु सदन नै छोडेर आफ्नो बाटो लागे । एमालेलाई भोट दिनु बेकार रहेछ भनेर जनताहरुले आफैलाई धिक्कारिरहेका छन् । नेताहरु गतिलो नहुँदा पार्टी तहसनहस भएको कार्यकर्ताहरुको गुनासो छ । पाँच वर्ष सरकार चलाऊ र प्रधानमन्त्री खाँउ भनेर जनताले भोट दिए । २०७४ सालको चुनावमा एमालेलाई पहिलो पार्टी बनाए, जनताले ।
सरकार चलाउन नसकेर ओलीले दुई पटक संसद् विघटन गरे । चुनाव भएको तीन वर्ष पूरा हुन नपाउँदै उनले हार खाइसकेका थिए । अहिले सरकारबाट बाहिरिनुपर्यो । अझै पनि हाम्रो पार्टीलाई जनताले विश्वास गर्छन् । हामी पहिलो पार्टी बन्छौं भन्नु एमालेको भ्रम मात्र हो । पहिलो कुरा जनताले एमालेलाई भोट दिँदैनन् । जितिहाले पनि एमालेसँग सरकार चलाउने क्षमता छैन । एमाले जनताबाट ५० वर्ष पछाडि धकेलियो ।
एमाले पार्टीमा बाँकी रहेका भनेका नाच्ने र गाउने मात्र छन् । कुनै ७० करोडको पार्किङ गरेको प्रकरणमा मुछिएका छन् । ओली आफ्नै क्षेत्रबाट हार्छन् भन्ने निश्चित छ । महेश बस्नेतले भक्तपुरबाट चुनाव जित्छु भन्ने सपना मात्र हो । गोकुल बाँस्कोटाले त मुख देखाउने ठाँउ पनि छोडेका छैनन् । काभ्रे जिल्लावासीले गोकुल बाँस्कोटामाथि रत्तीभर पनि विश्वास गर्दैनन् । ओलीले अहिले नै उखानटुक्का भन्न छोडिसकेका छन् । मंसिरपछि त उनको बोली पनि सुन्न छाडिन्छ ।
पहिले ओली आउने भन्नेबित्तिकै आफ्नो काम छोडेर आम नागरिक हेर्न पुग्थे । अब त खोजीखोजी लगेर राख्नुपर्ने अवस्था जाइलागेको छ । वामदेव गौतम, माधवकुमार नेपाल र केपी ओली मिलेर जनतामाझ गए पनि पहिलो पार्टी बन्न सक्दैनन् । नेपाली कांग्रेसलाई जनताबीच लोकप्रिय हुने निर्णय गरेको छ । ६८ वर्षमा वृद्धभत्ता, दीर्घकालिन बिरामीलाई मासिक पाँच हजार । अब भोट कसलाई, कांग्रेसलाई भन्ने नारा सर्वत्र गुन्जिन्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णयले सबै जना हर्षित भएका छन् । बुढाबुढी, रोगीलाई केही हदसम्म राहत महसुस भएको छ । एमालेलाई के कारणले भोट दिने ? एमालेले काम नै के गरेको छ भन्ने छाप जनमस्तिष्कमा परिसकेको छ । ओलीको दायाँबायाँ हिँड्ने नेताहरुले पनि एमालेलाई जिताउन सक्दैनन् । अर्कोचोटि प्रधानमन्त्री हुने सपना विपना बन्ने छैन । बगेको खोलो फर्किदैन भन्ने एउटा उखान थियो । जुन ओलीमा लागु भएको छ ।
एमालेबाट चुनावबाट जनप्रतिनिधिहरुले यस्तै बानी व्यवहार देखाउने हो भने अर्कोचोटि योभन्दा पनि गए गुज्रिएको हाल नहोला भन्न सकिन्न । जनता धेरै बाठा भइसकेका छन् । जनतालाई अब झुक्याउन सकिन्न भनेर ओलीले बुझ्नुपर्ने बेला भएको छ । जनताले के गर्न सक्छन् भनेर अघि बढेका ओलीले राम्रो सबक पाए । यसबाट अरु नेताले पनि केही सिक्ने कि ? प्रधानमन्त्री भएर सिंहदरबार आउन नसक्ने ओलीबाट के अपेक्षा राख्ने ? बालुवाटारमै बाँसुरी बजाएर बस्ने ओलीले प्रधानमन्त्री पद पाएर के गर्नु ?
बाँदरको हातमा नरिवल दिएसरह हुन्छ । एमाले पार्टीको भविष्य सबैले देखिसकेका छन् । ओलीले आफ्नो खुट्टामा आफैंले बञ्चरो हान्दा यस्तो बिजोगको घडी देख्नुपर्यो । एमालेको यो हाल जनताले होइन, उनी आफैंले बनाएका हुन् । जनताहरुले आफ्नो मताधिकार कति महत्वपूर्ण छ भनेर बुझ्दा पनि एमालेको दुर्दशा सुरु भएको हो । एकचोटि गाउँदेखि शहरसम्म एमालेकै लहर लागेको थियो । ‘बा’ भनेर उनको नाम जप्नेहरुको लर्को नै लाग्यो । तर, अहिले उनीहरुले नै ओलीको अनुहार हेर्न चाहँदैनन् ।
अनुसा थापा ।