सूचनाको शक्ति - The Power Of Information

        

सडक विभागले सूचना जारी गरेपछि घरधनी र व्यवसायी आन्दोलनमा

रेनुका गिरी । रुपन्देही । बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क चिडियाखोलासम्म सडक बिस्तारको कार्यक्रम अघि बढेपछि राजमार्ग छेउका घरधनीहरु आन्दोलनमा उत्रिएका छन । सडक बिस्तारका लागि सडक विभागले सडक किनारका रुखहरु काट्न थालेपछि घरधनी तथा ब्यवसायीहरु संघर्षमा उत्रिएका हुन् ।
सडक विभागले राजमार्ग छेउका घर भत्काई ८२ फिट सडक खाली गर्नु गराउनु भन्ने सूचना प्रकाशित गरेपछि बिभिन्न किसिमले रोक्ने प्रयत्न गरेपनि सफल हुन सकेको छैन । बुटवलमा राजमार्ग छेउमा ८२ फिटभित्र बनेका घरटहरा लगायतका संरचना हटाउँदा सडक फराकिलो भएपनि बजारक्षेत्र भने तहसनहस हुने भएकाले घरहरु नभत्काउन आग्रह गर्दै उनीहरुले ज्ञापनपत्र बुझाएका छन् ।
आज बुटवलमा एमाले नेता एवं यसक्षेत्रका सांसद विष्णु पौडललाई ज्ञापनपत्र बुझाउँदै बर्तमान सडकको संरचनाले १० देखि २० बर्षसम्म धान्ने भएकाले तत्कालका लागि नभत्काउन उनीहरुले आग्रह गरेका छन् । बुटवलको बसपार्क, ट्राफिक चौक लगाएतका महत्वपुर्ण भागमा रहेका घरहरु भत्काउँदा यहाँको ब्यबसाय क्षेत्र प्रत्यक्ष प्रभावित हुने भएकाले पुनःबिचार गर्न पनि उनिहरुले बिज्ञप्ती मार्फत अनुरोध गरेका छन ।
सडक किनारका घर बचाउ संघर्ष समितिले बिभिन्न निकायमा ज्ञापन पत्र बुझाउनुका साथै आइतबार गोलपार्कदेखि चौराहसम्म बिरोध जुलुस प्रदर्शन गर्ने जनाएको छ । आन्दोलनका बिभिन्न कार्यक्रमहरु घोषणा गर्नुका साथै आइतबार र सोमबार २ दिन साँझ २ घण्टा राजमार्ग छेउका घरमा ब्ल्याक आउट गर्ने कार्यक्रम पनि रहेको समितिले जनाएको छ । घर भत्काउने कार्य नरोकिए थप कडा आन्दोलनका कार्यक्रम अघि सारेर उत्रिने चेतावनी पनि समितिले दिएको छ ।
बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क चिडियाखोलासम्म ३३० घर सडकको ८२ फिटभित्र रहेको बताउँदै घरधनीहरुले नभत्काए सडक विभागले भत्काउने बताउँदै त्यसका लागि रुख काट्ने, नाली बनाउने लगायतका पूर्वाधार तयार गर्ने काम भैरहेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । बुटवलको राजमार्ग चौराहाबाट उत्तरतर्फको सडक अहिले ४ लेनको छ । त्यसमा दायाँबायाँ सर्भिस लेन थपेर ६ लेनको बनाउने व्यापारीक मार्ग बिस्तार आयोजनाको योजना छ ।
व्यापारिक मार्ग बिस्तार आयोजना बुटवल–बेलहिया सडकका इन्जिनियर लीलाबहादुर भण्डारीले भने, ‘४ लेनका मूल सडक यथावत नै राखेर माथिबाट २ लेयर कालोपत्रे मात्र गरिन्छ । त्यसमा दायाँबायाँ सर्भिस लेन थप्ने हो । सडक बिस्तारले यातायात सञ्चालनमा कुनै अवरोध हुँदैन ।’ तर, व्यवसायीहरुले भने सर्भिस लेन आवश्यक नभएको बताएका छन् । मुख्य बजारको बीचबाट राजमार्ग हुन नहुने भन्दै यसको विकल्पमा बाइपास सडक हुनुपर्ने र त्यसो भएमा सवारी चाँप नहुने ब्यवसायीहरुले बताएका छन् ।
कतिपय ब्यवसायीहरुले भने सवारी चाप बढिरहेका कारणले सड्क विस्तार हुन जरुरी रहेको बताएका छन् । तर बैकल्पिक मार्ग निर्माण तत्कालका लागि सम्भव नहुने सरकारी अधिकारीको भनाइ छ । ‘बैकल्पिक सडक लैजाने ठाउँमा पनि धेरै घरहरु भत्काउनुपर्छ । जंगल परेको ठाउँमा वन मन्त्रालयसँगको प्रक्रिया पुरा गर्नुपर्छ,’ इन्जिनियर भण्डारीले भने । उनले दबाब आयो भन्दैमा अब सडक विस्तार कार्य अब नरोकिने स्पष्ट पारे ।
सो सड्कमा १५ घरका धनीले आफैले भत्काउन सुरु गरिसके । ४ वटा घरले मुआब्जा दाबी गरिसकेका छन् । सडक विस्तारका क्रममा ५० मिटरको चौडाई सडक क्षेत्रभित्र पर्ने ३११ घर भत्काउनु पर्नेछ । जसमा २० देखि ३० प्रतिसत घर मुआब्जा पाउने खालका रहेको बताइएको छ । २०३४ साल असार २० गते अघि निर्माण भएका घरको हकमा प्रमाणसहित आएमा मुआब्जाको व्यवस्था समेत गरिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार १२:५३