सूचनाको शक्ति - The Power Of Information

        

एसपीपी सम्झौता

एसपीपीमा राष्ट्रघात गर्ने नेपालीको खुल्यो रहस्य, प्रचण्डले खोले पोल

‘बरु यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने सहमति २०१९ मा केपी ओली नेतृत्वको सरकारले गरिसकेको तथ्य इतिहासमा छ । यो कुरा हामी सवैले बुझ्न जरुरी छ’, पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डको भनाइ छ ।

अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सामेल हुन नेपाली सेनाले पत्र पठाएको खुलासा भएको छ । नेपाली सेनाका तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षत्रीले उक्त सम्झौताका लागि दुई पटक पत्र पठाएको अमेरिकी दुतावासले जनाएको छ ।

क्षेत्रीले २०१५ र २०१७ मा निवेदन दिएपछि अमेरिकाले २०१९ मा उक्त अनुरोध स्वीकार गरेको खुलासा गरेको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासका उपप्रमुख मानुएल पी. मिकलरले नेपालले दुई पटक उक्त सम्झौता गर्न तयार भएको भन्दै पत्र पठाएको खुलासा गरेका छन् ।

बुधबार पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो कुरा बताएका हुन् । पत्रकारसँग उनले भने, ‘नेपालले सन् २०१५ र २०१७ मा निवेदन दिएपछि हामीले सन् २०१९ मा अनुरोध स्वीकार गयौं ।’ अमेरिकाले सन् २०१९ मा उटाह नेशनल गार्डसँग सहकार्य गर्ने गरि उक्त अनुरोध स्वीकारेको बताए ।

नेपालले एसपीपीका लागि सन् २०१५ र २०१७ मा दुबै पटक पत्राचार गर्दा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री थिए । क्षत्रीले नेपाल सरकारको स्वीकृति लिएर रक्षा र परराष्ट्र मन्त्रालयलाई बोधार्थ पत्र पठाउँदै अमेरिकालाई एसपीपीको लागि पत्राचार गरेका थिए । उपप्रमुख मिकलरले एसपीपीमा कुनै पनि प्रस्तावित सम्झौता नभएको दाबी गरे ।

अमेरिकाको तर्फबाट यस सम्बन्धमा कुनै पनि दबाब नदिएको पनि उनले बताए । उनले एसपीपीमा कुनै पनि एलायन्स नरहेको बताए । एसपीपी नेपालको उत्तरी छिमेकी चीनविरुद्ध प्रयोग गर्न लागेको एउटा हतियार त होइन भन्ने प्रश्नमा उपप्रमुख मिकलरले भने, ‘यो २५ वर्षअघि अस्तित्वमा आएको हो । यसमा ९० मुलुकका ८० भन्दा बढी सहकार्य भएका छन् । धेरै मुलुकहरु यस क्षेत्रका छैनन् ।’

पत्रकारहरुसँगको कुराकानीमा उपप्रमुख मिकलरले केहि सञ्चारमाध्यमहरुमा एसपीपीको बारेमा सार्वजनिक भएको प्रस्तावित दस्तावेज गलत भएको उनले दाबी गरे । एसपीसी कार्यक्रम सुरक्षा र सैन्य गठबन्धन नरहेको उल्लेख गर्दै उपप्रमुख मिकलरले यसले द्विपक्षीय फाइदाका कार्यक्रम गर्ने बताए ।

उनले स्वतन्त्र रुपमा रहेको एसपीपीले अमेरिकाको द्विपक्षीय सम्बन्ध, जनताबीचको सम्बन्ध, कूटनीतिक संलग्नता, सेनाबीचको सहकार्य, व्यापार र समान विचारलाई बलियो बनाउने बताए । एसपीपीअन्तर्गत प्राकृतिक प्रकोप, विपद्, भूकम्प, बाढी, आगलागी जस्ता समस्या पर्दा तुरुन्त उद्धार गर्नको लागि अमेरिकी नेशनल गार्डसँग गृहकार्य गर्ने रहेको उनले बताए ।

यसैबीच, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता कार्यान्वयन गर्ने काम केपी ओली नेतृत्वको सरकारले गरेको दावी गरेका छन् । बिहीबार रितवहादुर खड्का स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा भएकाले सवैले बुझ्न जरुरी भएको बताए ।

‘बरु यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने सहमति २०१९ मा केपी ओली नेतृत्वको सरकारले गरिसकेको तथ्य इतिहासमा छ । यो कुरा हामी सवैले बुझ्न जरुरी छ’, पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डको भनाइ छ । उनले गठबन्धन त्यस्तो कुरामा नजाने भन्दै अहिले फेरि कुनै न कुनै रुपले राष्ट्रवादको पाखण्डी प्रचार गर्ने कसरत भइरहेको बताए । उनले राष्ट्रवादको पाखण्डी प्रचार गर्नेहरुले सवैभन्दा वढि आत्मसमर्पण गर्ने गरेको इतिहास रहेको समेत बताए ।

‘हिजो आज एसपीपी सैन्य गठबन्धन भैसक्यो रे जसरी प्रचार भइरहेको छ, विल्कुल झुठो हो,’ प्रचण्डले भने, ‘म गठबन्धनको एउटा नेताको हैसियतले प्रधानमन्त्री र गठबन्धनमा भएका छलफलमा त्यस्ता कुनै सम्झौता भएको छैन, हुने छैन यो घोषणा गर्न चाहान्छु ।’ उनले प्रधानमन्त्रीजीले पनि त्यस्तो खालको सम्झौतामा जान्न भनेर ‘कमिटमेन्ट’ गरेकाले भ्रममा पर्न जरुरी नभएको बताए ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार १४:१५