२०५४ सालमा काठमाडौंको नगर प्रमुख केशव स्थापित हुँदा गोगंबुको १६१ रोपनी जनताको जग्गा नेपाल सरकारले नयाँ बसपार्क बनाउने भनेर अधिकरण गर्यो । जग्गा धनीलाई थोरै रकम दिएर सरकारले जग्गा आफ्नो नाममा ल्यायो । ती जग्गाधनी विस्थापित भइसकेका छन् । उनीहरु कहाँ कुन अवस्थामा छन् कसैलाई अत्तोपत्तो छैन् । देशैभरका गाडी छुट्ने बसपार्कको खाँचो ओल्याउँदै जापान सरकारले त्यत्तिकै नयाँ बसपार्कको निर्माण गरिदियो । त्यतिखेर स्थापित आफु नगर प्रमुख भएको फाइदा उठाउँदै ४५ वर्ष ल्होत्से सहकारीलाई उक्त बसपार्क सञ्चालन गर्न दिने भनेर सम्झौता गरे ।
यहाँ अर्बौं रुपैंयाको चलखेल भएको थियो । कानूनमा हरेक पाँच वर्ष नवीकरण गर्नुपर्छ । कि टेण्डर आह्वान गरेर अर्को व्यक्तिलाई सञ्चालन गर्न दिनुपर्छ । तर, स्थापितले एउटै व्यक्तिलाई यत्रो वर्ष भाडा वा लिजमा बसपार्क सञ्चालन गर्ने अनुमति दिएका हुन् । १६१ रोपनीमध्ये जम्मा ६५ रोपनी जग्गामा बसपार्क सञ्चालनमा छ । अन्य सबै जग्गामा भवन निर्माण गरेर भाडामा लगाइएको छ । त्यहाँभित्रको २५ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा नामसारी भइसकेको छ । महानगरपालिका र वडाले व्यक्तिको नाममा गएको जग्गा फिर्ता ल्याउन चासो देखाएको छैन । अर्कोतिर, यत्रो वर्षदेखि जग्गाको नापजाप गरिएको छैन ।
ल्होत्से सहकारीले पूरा बसपार्क र बाँकी जग्गा गरेर महानगरलाई वार्षिक ९० लाख रुपैंया भाडा तिर्छ । जग्गा सरकारको बसपार्क बनाइदिने जापान सरकार, ल्होत्सेको त एक सुको पनि लगानी छैन । बिना लगानी ल्होत्सेले करौंडौं आम्दानी गरिरहेको छ । वार्षिक ९० लाख भाडा तिर्ने ल्होत्सेको आम्दानी नै पाँच करोड छ । बसपार्कभित्र छिर्नेबित्तिकै एउटा गाडीबाट हजार रुपैंया असुल्छ । अनि लोकल गाडीको ३०० रुपैंया लिन्छ । एउटा गाडी पार्किङ गरेबापत दैनिक ६०० रुपैंया लिने गरेको छ । यात्रुले टिकट काटेको रकमबाट २० प्रतिशत कमिशन लिन्छ । दुई हजार रुपैंयाको टिकट काट्यो भने ४०० त ल्होत्सेले उठाउँछ । बसपार्कभित्र २० हजारदेखि तीन लाखसम्म मासिक भाडा सटरको निर्धारण गरेको छ, ल्होत्सेले ।
खाली सटर २५ लाखदेखि ६० लाखसम्म खरिदबिक्री गर्छ । त्यहाँ व्यापार गर्ने खोज्नेसँग तिन महिनाको भाडा पहिल्यै असुल्छ । सरकारको सम्पत्तिमा ल्होत्से सहकारीको मोजमस्ती । ल्होत्से सहकारी मालामाल, सरकार कंगाल । नगर प्रमुख हुँदाखेरि सरकारी जग्गा हिनामिना गर्ने, भ्रष्टाचार गर्ने लगायतका काम गरेको हुनाले हालै मात्र सम्पन्न स्थानीय चुनावमा जनताले उनलाई हराइदिए । स्थापितभन्दा अघिका मेयर पेल सिंह, नानीमाया दाहालले पनि थुप्रै सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिदिएका छन् । यता, सिर्जना सिंहलाई महानगरवासीले आफ्नो अभिभावक बनाउन चाहेनन् । बरु, स्वतन्त्रबा उठेका बालेन्द्र शाहलाई अत्याधिक मत दिएर जिताइदिए । बालेनप्रति जनताको धेरै अपेक्षा छ ।
सरकारी जग्गा फिर्ता ल्याउलान् र महानगरवासीको हितमा काम गर्लान् भन्ने आशा बोकेर उनीहरु बसेका छन् । ल्होत्सेले ठूलठूला राजनीतिक पार्टीलाई चन्दा दिएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसलाई ल्होत्से सहकारीले पोसेको छ । उता, यातायात व्यवसायी र मजदुर संगठनहरुले पनि यहाँबाट पैसा खाएका छन् । राजनीतिक पार्टीलाई चुनौती दिएर नगर प्रमुखले ल्होत्सेको सम्झौता तोड्न सक्लान् ? महानगर र ल्होत्सेको सम्झौता खारेज गरेर नयाँ टेण्डर आह्वान गर्ने हो भने मासिक तीन करोडसम्म भाडा तिर्ने आउँछन् । यसो हुँदा व्यक्तिको खल्तीमा एक सुको पनि जान पाउँदैन । राजनीतिक दल र विभिन्न व्यक्तिलाई पोस्ने काम बन्द हुन्छ । यो निर्णय गर्न सक्ने आँट नगरपिता बालेनसंग छ ? नयाँ बसपार्क त एउटा उदाहरण मात्र हो ।
हरेक वडामा गुठी र सरकारी जग्गा व्यक्तिको नाममा गएको छ । नवनिर्वाचित जनप्रतिनिधिहरुले व्यक्तिको नाममा गएको मठमन्दिर, गुठी र सरकारी जग्गा फिर्ता ल्याउन सक्छन् ? रिबन काट्नतिर होइन बरु आफ्नो वडा र नगरमा भएको सम्पत्ति खोजतलास गर्नतिर लागौं । हेर्दाहेर्दै मासिएको ढुंगेधारा, कुवा, पार्टीपौवा जनप्रतिनिधिहरुले फिर्ता ल्याउन सक्छन् । तालपोखरी पनि व्यक्तिको नाममा गएको छ भन्दा पनि अचम्म लाग्छ । पार्टीपौवा मासेर बस्ने घर ठड्याइएका छन् । हाम्रो पुर्खाहरुले साँचेको सम्पत्ति फिर्ता ल्याउने जिम्मा अबका जनप्रतिनिधिहरुको हो । कति जनताको हितमा काम गर्ने जनप्रतिनिधिहरु पनि आएका छन् । उता, जग्गा दलाली र ठेकेदार पेशाबाट आएकापनि जनप्रतिनिधि बनेका छन् ।
अब यिनीहरुले आफ्नो पृष्ठभुमि बिर्सिनुपर्छ । अझै पनि ठेक्कापट्टा र जग्गा दलाल गर्ने हो भने अस्तित्व नै मेटिन सक्छ भनेर विचार गरौं । यता, सञ्चारकर्मीहरु पनि पार्टीगत हिसाबमा चल्दा सरकारी सम्पत्ति दुरुपयोग भयो । सञ्चारकर्मीहरु अटल हुन नसक्दा जनप्रतिनिधिहरु मोटाए । नेपालका सबैजसो मिडिया हाउसले कुनै न कुनै राजनीतिक पार्टीप्रति आस्था राखेको छ । जसको कारण मुलुकमा विकृति मौलायो । नगरपिता बालेनले जनताको घरदैलोमा पुगेर म भ्रष्टाचार गर्दिन । तलबभत्ता, सेवासुविधा केही लिन्न । मेरो पुख्र्यौली सम्पत्ति नै टन्न छ । म जनता र राष्ट्रको हितमा काम गर्छु लगायतका बाचा गरेका थिए । अब ती बाचाहरु साबित गर्ने बेला भइसकेको छ । आफुले गरेका बालेनले बाचा पूरा गर्न सक्छन् कि सक्दैनन् ?
हेर्ने बेला आएको छ । मठमन्दिरको छेउछाउँमा भएको जग्गा भाडामा लगाएर व्यक्तिहरुले कमाइरहेका छन् । व्यक्ति पैसा कमाउने तर राज्य हेरेको हेर्यै । राज्य हिजो पनि रित्तो थियो आज पनि रित्तै छ । तिर्खा लाग्यो भने पानी खाने ढुंगेधारा छैन्, काठमाडौंमा । पानी पिउनुपर्यो भने ३० रुपैंया तिर्नुपर्ने बाध्यता छ । पैसा नहुने प्यास मेट्न पानी पनि पाउँदैनन् । भएका ६३४ वटा ढुंगेधारा मासेर घर बनाइयो । उता, थकाइ लाग्यो भने एकछिन बस्छु भन्दा पनि पाइदैन् । पार्टीपौवा सबै मासिसकेका छन् । कहाँ गएर थकाइ मार्नु ? नगर प्रमुख बालेनबाट आशा धेरै छ, निराश पार्ने काम नहोस् । अन्य जिल्लाबाट काठमाडौंका जनता शिक्षित छन् । उनीहरु पैसावाल नै छन् । न बालेनले पैसाले भोट किनेका हुन् न काठमाडौंबासीले बिकेका हुन् ।
किनकि उनीहरु चेतनशील छन् । आफ्नो क्षेत्रको हित हेरेर र धेरै सोचविचार गरेर मात्र उनलाई भोट दिएको हो । मधेशी मूलको एउटा नागरिकलाई जनताले विश्वास गर्नु भनेको निकै ठूलो विषय हो । यसलाई नगर प्रमुख बालेनले ख्यालख्याल गर्नुहुन्न । काठमाडौंवासीको हित सोचेर अघि बढे भने अर्कोचोटि पनि जनताले उनलाई नै आफ्नो अभिभावक चुन्नेछन् । कर उठाउनेदेखि लिएर सरकारी सम्पत्ति संरक्षणमा उनी जुट्नुपर्छ । उनले कतिको काम गर्न सक्छन् भने पर्खाइमा सबै जना छन् । उनलाई काम गर्न पनि निकै नै चुनौती छ । तर, चुनौतीलाई पन्छाउदै उनी अघि बढ्नुपर्छ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीद्धारा उनको खुट्टा तान्ने काम सुरु भइसकेको बुझिएको छ ।
फोहोर मेरो पहलमा उठेको हो भन्दै उनी भाषण ठोक्दै हिँडेकी छिन् । मन्त्री भएको आठ महिनासम्म एउटा सिन्को नभाँच्ने । अनि पार्टीले मन्त्रीबाट फिर्ता बोलाइपछि नौटंकी देखाउने । आफ्नो कुर्सी कति प्यारो छ भनेर नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले प्रष्ट पारिसकेका छन् । टिकटक बनाउन व्यस्त मन्त्रीसँग अरु के अपेक्षा राख्ने ? नगर प्रमुख बालेनले शहरी विकासमन्त्री झाँक्रीको वाइयात कुरालाई साइडमा राख्दै काठमाडौंलाई व्यवस्थित र सुन्दर शहर बनाउनुपर्छ । यतिखेर वडाध्यक्षहरु नगरपिता बालेनसंग आगो भएका छन् । भन्छन्, हाम्रो वडामा आउनुअघि हामीलाई पहिल्यै जानकारी गराउनु । वडाध्यक्ष ठूलो कि मेयर ? वडाध्यक्षहरु आफुलाई मेयरभन्दा ठूलो ठान्छन् कि क्या हो ? उनलाई निर्देशन दिने अधिकार वडाध्यक्षलाई कसले दियो ?
मेयरलाई जहाँ जान पनि अधिकार छ । उनलाई जहाँ मनलाग्छ त्यही जान पाउँछन् । एउटा वडाको जनताले भोट दिएर उनी मेयर भएका हुन् र ? समग्र वडाको जनताले भोट दिएर उनी मेयर भएका हुन् नि । अझै दादागिरी देखाउछन्, वडाध्यक्षहरु । निवर्तमान मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा डंगोलको सिको नगरुन्, मेयर बालेनले । विद्यासुन्दर शाक्यले एउटा फोनसमेत जनताले तिरेको करबाट लिए । सहकारीको साधारणसभामा गएर फूलमाला लगाउने काम पनि उनीहरुले गरे । जसको परिणाम उनीहरुले भोग्नुपर्यो । मेयर बालेनबाट यस्तो काम नहोस् । मेयर बालेनले कस्तो काम गर्छन् भनेर सबैले हेरिरहेका छन् । सबैको चासोको विषय उनको काम गर्ने क्षमतातिर छ । हेरौं, उनले काठमाडौंको रुप फेर्न सक्छन् कि सक्दैनन् ।
अनुसा थापा ।