सूचनाको शक्ति - The Power Of Information

        

‘दक्ष जनशक्ति अभावमा गुरुयोजना बनाउनै समस्या’


केन्द्रिकृत शासन प्रणालीले देश सधैं अविकसित भएको भन्दै संघीय शासन व्यवस्थामा जानुपर्ने माग गर्दै बिभिन्न राजनीतिक दलहरुले आन्दोलन गरिरहेको थियो । अन्ततः देश संघीय शासन व्यवस्थामा गयो । नेपालको संविधान कार्यान्वयनको भयो । गत असारमा स्थानीय तहको निर्वाचन पनि भयो । अब ती स्थानीय तहमा शासन कसरी चलिरहेको छ, के के छन् समस्या ? महालक्ष्मी नगरपालिकाको मेयर रामेश्वर श्रेष्ठसँग पत्रकार सञ्जय श्रेष्ठले गरेको कुराकानी :

महालक्ष्मी नगरपालिकामा समृद्धिका कस्ता गुरुयोजना छन् ?
– बिडम्बना नै भन्नुपर्छ, अहिलेसम्म हामीले गुरुयोजना बनाउन सकेका छैनौं । नगरपालिकाको विकासका लागि हामीले आवधिक योजना मात्र बनाएका छौं । त्यही आवधिक योजना अनुसार हामी विकासका काममा लागेका छौं ।

गुरुयोजना बनाउन नसक्नुको कारण के हो ?
– गुरुयोजना बनाउन नसक्नुको कारण छन् । पहिलो, आर्थिक अभाव हो । गुरुयोजना निर्माण गर्न आर्थिक लागत बढी लाग्छ । नगरपालिकासँग प्रयाप्तरुपमा आर्थिक छैन । दोस्रो, दक्ष जनशक्तिको अभाव हो । हामीसँग दक्ष जनशक्ति छैन । दक्ष जनशक्ति खरिद गर्नका लागि हामीसँग प्रयाप्त बजेट छैन । यसको लागि हामीले नेपाल सरकार र अन्य सरकारी तथा गैरसरकारी निकायसँग पनि सहयोगको लागि अपिल गरिरहेका छौं ।

नगरपालिका हरेक हिसावले अगाडी छ, तर गुरुयोजना बन्न सकेको छैन भने अरु पालिकाहरुको अवस्था कस्तो होला ?
– अरुको मलाई थाहा भएन, हाम्रो नगरपालिका एउटा वडाभन्दा बाहेक अरु सुगम छ । त्यो एउटा वडालाई पनि अब हामीले भ्यालीभित्रकै बनाउन खोजेका छौं, किन भने आजसम्म पनि त्यो वडालाई भ्याली बाहिरको रुपमा लिन्छ । हाम्रो नगरपालिकाको बजेट भनेको ३० करोडको हो । त्यो सबै रकम विकास निर्माणमा लगाउँदा पनि प्रयाप्तरुपमा पुगिराखेको छैन । २०६८ को जनगणनाको आधारमा हामीलाई राज्यले विकास बजेट दिन्छ, त्यसरी हेर्दा महालक्ष्मी नगरपालिकामा ५० प्रतिशत मात्र बजेट हुन्छ ।

यो नगरपालिकाभित्र रहेको उद्योग तथा कलकारखानालाई व्यवस्थित गरी करको दायरामा ल्याउन सम्भव छ कि छैन ?
– अहिले हाम्रो नगरपालिकाभित्र ठुला उद्योग तथा कलकारखाना छैनन् । केहि साना छन्, र बाँकी भनेको पसल र घरजग्गा कर नै हो । हामी आउनुभन्दा पहिले यहाँ कर नतिर्ने धेरै व्यवसायी थिए, तर हामी आएपछि त्यो संख्या घटेको छ । कर तिर्न आउनेको संख्या बढेको छ । अब हामीले निश्चित कानून बनाएर सबै व्यवसायी तथा उद्योगीहरुलाई करको दायरामा ल्याउने तयारी गरेका छौं । नयाँ व्यवसायी तथा उद्योगहरुको पनि सुरुवात गर्ने तयारी गर्दैछौं । साथै अब हामी कर प्रणालीलाई डिजिटल बनाउँदै छौं । त्यसमा हाम्रो वइवसाइट हुन्छ, सबै रेकर्ड त्यसैमा राख्ने हो । सबै व्यवसायीले आफ्नो रेकर्ड त्यहाँ पाउने छ । हामी करको दायरा बढाउँछौँ, कर बढाउदैनौं ।

तपाईको कार्यकालमा नगरबासीको आर्थिक अवस्था कस्तो हुन्छ ?
– मेरो कार्यकालमा महालक्ष्मी नगरपालिका र नगरवासीको आर्थिक अवस्था ठ्याकै यस्तै हुन्छ भन्न त म सक्दिन । किनभने हामीले अहिलेसम्म गुरुयोजना बनाउनसम्म सकेका छैनौं । गुरुयोजनाबिना यस्तो हुन्छ, भन्नु मुर्खपना हुन्छ । तर पनि के हो भने म नगरपालिका तथा नगरवासीको आर्थिक वृद्धिको लागि निरन्तर लाग्नेछु ।

नगरपालिकाका आर्थिक स्रोत के हुन्, तपाईको कार्यकालमा नयाँ स्रोत के के निर्माण हुन्छ ?
– नगरपालिकाको आर्थिक स्रोत भनेको घरभाडा कर, व्यवसायीक कर र सरकारले दिने सहयोग नै हो । योभन्दा पहिले त्यो पनि सरकारले लिने भन्ने थियो । तर अहिले यो स्थानीय तहले गर्ने भन्ने टुङ्गो लागिसकेको छ । अब नयाँ स्रोत भनेको पर्यटन, व्यवसायीहरुको वृद्धि गर्ने लक्ष्य, उद्योग तथा कलकारखानाको निर्माण गर्ने नै हो । हाम्रो नगरपालिकामा अरु भनेको खासै छैन । उपभोक्ता करहरु नै हो ।

नगरपालिकाका बासन्दिाले तपाईबाट के आशा गर्ने ?
– नगरपालिकाको टिम एकदमै चुस्त छ । हामीबीचको साझेदारी एकदमै राम्रो छ । त्यस भएको हुनाले पनि हाम्रो कार्यकालमा नगर र नगरवासीको विकासमा ठुलो सफलता हासिल गर्नेमा ढुक्क छु । अर्को कुरा हाम्रो नगरपालिका नयाँ छ । पूर्वाधारविहिन छ । हामीले पहिला नगरपालिकालाई पूर्वाधार सम्पन्न बनाउनु छ । खानेपानी, ढल, शिक्षा, स्वास्थ्य, सडक लगायतको कुरालाई व्यवस्थापन गर्नुपर्ने छ । शिक्षालाई प्रविधिमैत्री र व्यवहारिकतामा जोड दिन्छौं । नगरपालिकाभित्र काठमाडौं खानेपानीको शाखा जोड्दै छौं । विद्युतको व्यवस्थापन गर्दै जानेछौं । अहिले म यति भन्छु, मेरो कार्यकालमा नगरवासी जनताको सबै समस्यामा सहभागी हुने प्रयत्न गर्नेछु ।

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार १२:०२