सूचनाको शक्ति - The Power Of Information

        

हरिजन आत्महत्याबारे छानविन समितिले बुझायो प्रतिवेदन

रोल्पा कारागारका कैदी सुन्दर हरिजनको आत्महत्या र जेल स्थानान्तरण छानविन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ ।

रोल्पा कारागार कार्यालयमा ४ जेठमा नेपालगन्ज उपमहानगरपालिका २, घरबारी टोलका कैदी हरिजनले झुण्डिएर आत्महत्या गरेको घटना सम्बन्धमा मन्त्रालयका सहसचिव सूर्य सेढाई नेतृत्वको समितिले स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी तयार पारेको प्रतिवेदन गृहमन्त्री खाणलाई आफ्नो प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले प्रतिवेदनले दोषी औँल्याएकालाई कानुन अनुरूप कारबाही गरिने बताए । घटनाबारे छानबिन गर्न सहसचिव सेढाईको संयोजकत्वमा मन्त्रीस्तरीय निर्णयबाट १७ जेठमा पाँच सदस्यीय समिति गठन भएको थियो ।

समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भुपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य थिए ।

समितिले प्रतिवेदनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तत्कालीन अवस्थामा कारागार प्रशासनसँग सम्बद्ध कर्मचारीहरूले कारागार ऐन र नियमावली तथा आफ्नो पदीय जिम्मेवारी एवं दायित्व निर्वाहमा लापरबाही तथा त्रुटि गरेको र कर्तव्य पालनामा उदासीनता देखाएको उल्लेख गरेको छ ।

समितिले ८ मंसिर, ०७७ मा बाँके कारागारबाट रोल्पा कारागारमा कैदीहरू हरिजन र विजयविक्रम शाहको स्थानान्तरण गर्दा भएको त्रुटि तथा कैदीले आत्महत्या गरेको सम्बन्धमा अनुसन्धान गरेको जनाएको छ ।

समितिले अनुसन्धानका क्रममा नेपाल सरकारका सम्बद्ध पदाधिकारीहरूको स्वीकृति र सहयोगमा भारत सरकारसँग अनौपचारिक समन्वय गरी भारतको उत्तर प्रदेशको बाराबंकी जिल्लामा लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका विजयविक्रम शाहसँग पनि सोधपुछ गरेको जनाएको छ ।

शाह हरिजनसँगै बाँकेबाट रोल्पा कारागारमा स्थानान्तरण गरिएका थिए ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार १७:५७