सूचनाको शक्ति - The Power Of Information

        

कोल्डस्टोरसँगै आधुनिक उपज केन्द्र निर्माणमा पहल गर्छु : कृषिमन्त्री पौडेल


बुटवल । प्रदेश नम्बर ५ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेशमा आधुनिक कोल्डस्टोर सहितको कृषि उपज केन्द्र निर्माणको लागि पहल गर्ने बताएकी छिन् । उनले एउटा प्रदेशमा एउटाभन्दा बढि यस्तो प्रकृतिको कोल्डस्टोर आवश्यक रहेको भन्दै यसमा स्थानीय सरकारसँगको समन्वयमा प्रदेश सरकारले पहल थालनी गर्ने बताएकी हुन् ।
लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायी संघ रुपन्देहीको एघारौ साधारण सभाको बुटवलमा उद्घाटन गर्दै मन्त्री पौडेलले व्यवसायीहरुको माग अनुसारको जग्गा स्थानीय तहसँग समन्वय गरेर कोल्डस्टोरसहितको थोक बजार केन्द्र स्थापना गरिने र त्यसमा थप बायोग्यास प्लान्टसमेत कोल्डस्टार निर्माणको लागि पहल थालनी गर्ने प्रतिवद्वता जनाएकी हुन् ।
कायक्रममा बोल्दै मन्त्री पौडेलले भनिन्, ‘स्थानीय तहसँग पहल गर्छौ, त्यसमा प्रदेश सरकारको सहयोग चाहिए वा संघीय सरकारको समेत सहयोग चाहिएमा पनि हामी पहल गर्नेछौ ।’ कार्यक्रममा नेपाल फलपुल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष खेम प्रसाद अधिकारीले बोल्दै छाटो समयमा नै विग्रिन खालको फलफुल तथा तरकारी राख्नको लागि कोल्ड स्टोर नहुँदा व्यवसायीहरुलाई लाखौ रुपैयाँ घाटा लागेको बताएका थिए ।
यसमा सरकारी निकायबाट नै छिटो भन्दा छिटो पहल गर्नको लागि आग्रह गरे । रुपन्देही क्षेत्र नम्बर २(ख)का प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले व्यवसायीहरुको माग अनुसार नै बुटवलमा व्यवस्थित, कोल्डस्टोर सहितको उपजकेन्द्र निर्माणको लागि पहल गरिने बताएका थिए । उनले यसको लागि जग्गा व्यवस्थापन गर्न आफुले पहलको थालनी गर्ने समेत व्यवसायीहरुलाई बताएका हुन् ।
यस्तै कार्यक्रममा बोल्दै लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघका अध्यक्ष केशव कुँवरले बुटवलमा सित भण्डार निर्माणको लागि आफुहरुको माग रहेको जानकारी दिदै पिपीपी मोडलमा निर्माण गर्नुपर्ने बताए । उनले केही समय पहिलादेखि नै पहल थालनी गर्दै आएको बुटवलको रङ्गशाला नजिकै रहेको २० विघा जग्गामा आधुनिक कृषि उपज केन्द्र निर्माण गर्नुपर्ने समेत माग गरे । स्थानीय तहसँग यस विषयमा पटक पटक कुरा भएपनि थप ठोस निर्णय नभएको भन्दै उनले यसको लागि पहल गरिदिन आग्रह समेत गरेका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार ०९:०९