सूचनाको शक्ति - The Power Of Information

        

रुस विरुद्ध युद्ध लडेको आरोपमा ३ जनालाई मृत्यु दण्डको फैसला

युक्रेनको पक्षबाट रुस विरुद्ध युद्ध लडेको आरोपमा पूर्वी युक्रेनको एउटा रुस समर्थित अदालतले दुई ब्रिटिश तथा एक मोरक्कन नागरिकलाई मृत्युदण्डको फैसला सुनाएको छ ।

स्वघोषित डोनेट्स्क गणराज्यको रुसपक्षधर विद्रोहीहरूको नेतृत्वमा रहेको अदातलले ब्रिटेनका दुई र मोरक्कोका एकजना नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको रुसी सरकारी समाचार संस्था आर.आइ.ए.एन.ले जनाएको छ ।

युक्रेनी फौजको पक्षबाट लडिरहेका बेला उनीहरू रुसी सेनाको कब्जामा परेका थिए । अन्तर्राष्ट्रिय मान्यता नपाएको उक्त स्वघोषित अदालतका अध्यक्षले उनीहरूले महिनादिनभित्र सजायका विषयमा पुनरावेदन गर्न सक्ने बताएका छन् ।

बेलायत सरकारले आफ्ना नागरिकहरूलाई दिइएको मृत्युदण्डप्रति गहिरो चासो व्यक्त गरेको जनाएको छ। बेलायत सरकारका प्रवक्ताले जेनेभा महासन्धि अन्तर्गत युद्धबन्दीहरूलाई युद्धमा सहभागी भएको कारण अभियोजन चलाउन नमिल्ने जनाएका छन् ।

ब्लायती विदेशमन्त्री लीज ट्रसले उक्त फैसलालाई कुनै वैधता नभएको बनावटी निर्णयको संज्ञा दिनुभएको छ।रुसले उक्त पृथकतावादी क्षेत्र र लुहान्स्क गणराज्यलाई फेब्रुअरीमा युक्रेनमा हमला सुरु गर्नुअघि नैं मान्यता दिएको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार ०८:००