सूचनाको शक्ति - The Power Of Information

        

६ अर्ब तलब, ९ अर्ब विद्यालय पुनर्निर्माणमा खर्च हुने

 तलब र विद्यालय पुनर्निर्माण परियोजना, कक्षा ६ सम्म दिवा खाजा र नयाँ प्राविधिक शिक्षालयलाई बजेट व्यवस्थापन गर्नुपर्ने भएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट बढेको छ ।

आगामी आवमा संघअन्तर्गत मन्त्रालयमा ७० अर्ब ५ करोड, प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहमा १२ अर्ब १० करोड रुपियाँ विनियोजन गरेको छ ।

चालु आबको तुलनामा करिब १० अर्ब रुपियाँ बढी देखिएको छ । प्रदेशतर्फ ५ अर्ब ३२ करोड र स्थानीय तहका लागि १ खर्ब २१ अर्ब १ करोड रुपियाँ विनियोजन गरेको छ ।

संघअन्तर्गत ३५ दशमलव ६७, प्रदेशमा २ दशमलव ७१ र स्थानीय तहमा ६१ दशमलव २ प्रतिशत बजेट वृद्धि गरिएको छ ।

मन्त्रालयका अनुसार कर्मचारीको तलबमा ६ अर्ब, भूकम्पबाट क्षतिग्रस्त विद्यालय पुनर्निर्माण गर्न करिब ९ अर्ब ४१ करोड, दिवा खाजा शीर्षकमा करिब १ अर्ब रुपियाँ बजेट व्यवस्थापन गर्नुपर्ने भएपछि बजेट बढेको देखिएको हो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले बजेटमा खासै परिवर्तन नभएको बताउनुभयो । दिवा खाजा, विद्यालय पुनर्निर्माणलगायतका केही महत्वपूर्ण काम गर्नुपर्ने भएकाले बजेट वृद्धि भएको उहाँको भनाइ थियो ।

आगामी आवमा विद्यालय पुनर्निर्माण शिक्षा मन्त्रालयअन्तर्गत हुनेछ । चालु आवमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत् भएको थियो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहीबार ०७:४०